Ad Area

दशैं मनाउँदा स्वास्थ्यप्रति सजग बनौँ, क्षणिक रमझमले जोखिम निम्तिन सक्छ


दशैँको आगमनसँगै अहिले गाउँघरमा, शहर बजारमा अनि गाडीमा निकै धेरै भीड देखिएको छ । सबैभन्दा पहिला तपाईँ हामी जहाँ जाँदै छौँ, त्यहाँ जाँदा सही तरिकाले मास्क लगाउनु पर्यो । र, पसलमा सामान किन्ने बेलामा धेरै मानिससँग भेटघाट हुनसक्ने हुनाले अनावश्यक मान्छेसँग कुराकानी गर्नु हुँदैन ।

र, आफूलाई के आवश्यक परेको हो सही तरिकाले मास्क लगाएर मागेर तुरुन्त घर फर्किनुपर्छ । त्यस्तो बेलामा मास्क तल सारेर बिल्कुलै कुरा गर्नु हुँदैन । र, घर आइसकेपछि साबुन पानीले राम्रोसँग हात धोएको खण्डमा पक्कै पनि कोरोना लाग्ने सम्भावना हुँदैन ।
हामी अहिले बसमा यात्रा गर्दा धेरै मान्छेहरु भीडभाड गरेर बसेको देखिन्छ । यसमा बसको चालक, सह–चालक अनि स्वयं यात्रुले पनि उत्तिकै ध्यान दिनुपर्छ । चालक भन्दा पनि सह–चालकले धेरै कोचाकोच गरेर यात्रु राख्नु भएन । पैसा गन्दा पनि थुक लगाएर गन्ने गर्नु भएन । र, पैसाको सबै कारोबार सकिएपछि राम्रोसँग हात धुनुपर्यो ।

अर्को कुरो यात्रुहरु बस कुर्दा पनि एकदम भीड हुनसक्छ त्यस्तो बेलामा ठाउँ राखेर सबैले पालोपालो नआत्तिकन गाडी चढ्नुपर्यो । भित्र गएपछि पनि मास्क खोल्नु भएन । सही तरिकाले मास्क लगाइ राख्नुपर्यो । चाडपर्वमा जाँदा आफूले चिनेका आफ्ना ठाउँका मान्छे भेट हुँदा पनि मास्क खोलेर कुरा गर्न थाल्यो भने एकअर्कामा सङ्क्रमण फैलन सक्छ त्यसो गर्नु भएन । र, घर पुगिसकेपछि साबुन पानीले हात धोएर आफूले लगाएको मास्कलाई एउटा निश्चित ठाउँमा सनाखत गर्न सकियो भने यात्रा अवधिभर जुन कोरोना सर्नसक्ने सम्भावना छ त्यसबाट हामी बच्न सक्छौँ ।

दशैँ भनेको आफ्ना परिवारका टाढिएका सदस्यहरु भेटघाट गर्ने अवसर पनि हो । दशैँलाई आफन्तहरुसँग भेट्ने, ज्येष्ठ नागरिकहरुसँग आशीर्वाद लिने र खानपानको चाडको रुपमा पनि हामी लिने गर्दछौँ । अर्को अर्थमा अहिले दशैँ भनेको धेरै मान्छे जमघट हुने समय हो । र, कोरोना पनि धेरै मान्छेको जमघट भयो त्यति नै सङ्क्रमण फैलने सम्भावना हुन्छ । विगतमा यस्तो उदाहरण देखिइ पनि सकेको छ ।

यदि तपाईँ आफ्नो गाउँठाउँ पुगेर दशैँ मनाउँदै हुनुहुन्छ भने सकभर एउटै कोठामा सबै जम्मा भएर ज्येष्ठ सदस्यबाट पालैपालो टीका लगाउने नगरि खुला ठाउँमा लगाउने गरेमा कोरोना सङ्क्रमणको सम्भावना कम हुन्छ । टीका लगाउँदा सकभर छततिर, बगैँचातिर, बार्दलीतिर गएर लगाउनु पर्छ । सकेसम्म अलि खुल्ला ठाउँमा लगाउने व्यवस्था गर्न सकेमा कोही सङ्क्रमितले खोक्दा पनि हावामा भएको कोरोना सबैमा सङ्क्रमण हुँदैन । सकिन्छ भने कोठाभित्र टीका नलगाएको राम्रो ।

गाउँ गएपछि पक्कै पनि आफन्तसँग भेटघाट, जमघाट गर्न मन लाग्छ । त्यसमा पनि म चाहिँ के भन्छु भने टीका लगाउने बाहेक अरु कारण लिएर जमघट नगरौँ । आफन्तहरु काका, काकी, भतिजा, भतिजी भन्दै जाँदा हामीलाई त्यसबेला कोरोना छ जस्तो लाग्दैन । तर, घरमा एउटै परिवारमा बस्दा पूरै परिवार सङ्क्रमित भएको धेरै घटना छन् ।

Blog Post Ad

मैले यो टाढाको कुरा गरेको होइन, केही दिन अगाडि मात्र एउटा घरको ज्येष्ठ नागरिकको कोरोनाका कारण मृत्यु भयो । उहाँहरुको छोरा, बुहारी, सासु, ससुरा सबै सँगै बसिरहेकोमा कोरोना होला भनेर शङ्का गर्ने कुरा भएन । तर, कोरोना त्यसरी फैलिएर मृत्यु भएको पनि देख्न सकिन्छ । यो सबैमा हुनै पर्छ भन्न खोजेको त होइन । तर, मैले त्यो खालको जोखिम पनि हुनसक्छ भनेर उदाहरण दिएर भन्नुपर्ने हुनाले तपाईँ हामी गाउँ पुगेर घुम्नेफिर्ने, सबैसँग भेटघाट गर्ने, विना मास्क गफ गर्ने, बोल्ने नगर्नुस भन्न चाहन्छु ।

अर्को कुरा चाहिँ काठमाण्डौमा धेरैले भ्याक्सिन लगाइसकेको हुनसक्छ । तर, गाउँमा सबैले भ्याक्सिन नलगाएको पनि हुनसक्छ । ती ठाउँमा पहिले कोरोना नफैलिएको रहेछ धेरै मानिस सङ्क्रमित हुन बाँकी रहेछ भने सङ्क्रमित हुन बाँकी रहेकाहरु नै आजभोलि सङ्क्रमित हुने गरेको देखिएको छ ।

आजभोलि तथ्याङ्कमा तपाईँ हामीले यति सङ्क्रमित भए, उति सङ्क्रमित भए भन्ने सुनेका छौँ। त्यसमा अधिकांश सबै जना पहिलो पटक सङ्क्रमित भएका छन् । र, ती मध्येमा पनि जसले खोप लगाएको छैन उहाँहरुलाई थप जोखिम हुनसक्छ ।

खोप लगाएका मान्छेले पनि मलाई केही हुँदैन भनेर आफ्नो स्वार्थका लागि मात्र नगरौँ, सङ्क्रमण भ्याक्सिन लगाएकालाई पनि हुन्छ । मास्क सही तरिकाले लगाउँ, बोल्दा बोल्दै मास्क झार्ने नगरौँ, त्यो असावधानी धेरैले गर्ने गरेको देखेका छौँ। केही काम गरिसकेपछि साबुन पानीले हात धुने गर्न सक्यौँ भने कोरोना मात्र होइन अहिले विभिन्न झाडापखालाबाट लाग्ने सम्भावनाबाट पनि बच्न सक्छौँ । दशैंको शुभकामना ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीमा आधारित)

Blog Post Ad Blog Post Ad