परिवारजन र आफन्तसँग दाङमा घुम्नुहोस् यी आकर्षक १३ स्थलहरु
लगातारको वर्षापछि यो मौसम आफैमा बढो आनन्दको छ, जताजतै हरियाली छ, मनमोहक वातावरण छ । आखिर शरद ऋतुको यो समय न चिसो न गर्मी हुने समय हो । प्राकृतिक छटाले जवानी भरेको यो बेला घुमफिर गन्तव्यको योजना बनाएर मुड फ्रेस गर्ने समय पनि हो । दशैं तिहार जस्ता ठूला चाड पर्वको आगमनले यो बेलामा सबैको ‘फेस्टिब मुड’ छ ।
यही मुडलाई घुमफिरका रुपमा बिताउने योजना धेरै हुन्छ । चाडपर्वका कारण कार्यालय, संघसंस्थाहरु पनि विदा गरिएको छ । विद्यालय, क्याम्पस पनि विदा भएका छन् । अधिकांश मानिस अहिले विदामा छन् । यही विदाको अधिकतम उपयोग गर्दै परिवारजन, आफन्तसँगको भेटलाई अझ यादगार बनाउन सँगसँगै घुुमफिर गरेर बितायो भने यो जीवन्त रहन्छ । यो बेलाको मौसम आफैमा घुमफिरका लागि उपयुक्त मौसम हो ।
खुलेको आकाश, सुन्दर प्राकृतिक दृश्य, परिवारजनको साथले घुमफिर गर्ने ठाउँको उत्कृष्ट गन्तब्यले सबैको मन पुलकित भईदिन्छ । उसो त, साथीभाई आफन्त भेट भयो भने घुमफिर गर्ने र भेटघाटलाई अविष्मरणीय बनाउने अभ्यास पछिल्लो समयमा बढेको छ । अझ भनौँ, अहिले नेपालीहरूमा घुमघामको संस्कृति विकास भइरहेको छ । आफ्नो व्यस्त दैनिकीबाट समय निकालेर भएपनि ‘मुड फ्रेस गर्न’ घुम्ने प्रचलन बढेको छ ।
घुम्दा तनाव कम हुने, त्यस ठाउँको परम्परा–संस्कृतिका बारेमा जानकारी हुने र पुनः काममा फर्कँदा ताजापनको महसुसले स्फूर्ति बढ्ने हुने हुँदा पनि यस तर्फ नेपाली समाज आकर्षित हुँदै गएको छ । अझ पोहोरको लकडाउनले घरमै थुनिनु परेको अवस्था सम्झँदा पनि यो पटक विदामा घुमघामका लागि अर्को विकल्प र बहाना हो ।
दशैँमा टीका लगाइसकेपछि परिवार र साथीभाइ मिलेर घुम्न जाने प्रचलन छ । परिवारजन, आफन्त, मन मिल्ने साथीहरुसँगको यहाँको घुमफिर उपलब्धीमुलक बनाउन समानान्तर डटकमले यहाँहरुका लागि दाङका विभिन्न स्थानमध्ये विभिन्न धार्मिक तथा पर्यटकीय केन्द्रको पहिचान गरी उत्कृष्ट १३ स्थानलाई छनौट गी घुमफिरको गन्तव्यका रुपमा छनौट गरेको छ । दाङमा घुमफिर गर्ने ठाउँहरु प्रसस्तै छन् । तर, ती स्थानहरुमध्ये उत्कृष्ट स्थान पहिचान गरी यहाँको घुमफिर भरपूर आनन्दमय बनाउनुहोस् ।
१. चेपे तालमा डुङ्गामा जलविहार गर्दै सेल्फी
घोराही उपमहानगरपालिका–१ र २, सुर्केडाँगीमा निर्माण गरेको साढे सात विघा क्षेत्रफलमा फैलिएको चेपे तालमा डुङ्गा सयरको उत्कष्ट गन्तव्य हो । आन्तरिक पर्यटकको पहिलो रोजाइ समेत बन्दै गएको यस तालमा सिँचाइ, माछापालन र डुङ्गा सञ्चालन हुने गरेको छ । जिल्लाका ग्रामीण पर्यटकीय स्थलमा पर्यटकहरु पुग्न थालेका छन्।
घोराही उपमहानगरपालिकाले निर्माण गरेका कृत्रिम तालतलैयाहरु पारिवारिक घुमफिरको स्थलका रुपमा यसलाई लिन सकिन्छ । शहर बजारका मानिसहरु अहिले ग्रामीण क्षेत्रमा घुमफिर गर्न चाहन्छन्। घोराही उपमहानगरपालिका वडा नं.१ को भूगोल प्राकृतिक सम्पदामा रमाउने पर्यटकहरुका लागि पुग्नैपर्ने स्थान मानिन्छ । अहिले तालको बीच भागमा निर्मित झोलुंगे पुलले यस तालको आकर्षण अझ बढाएको छ ।
घोराही बजारबाट पूर्वतर्फ करीव ८ किलोमिटरको दुरीमा अवस्थित चेपे ताल जानका लागि कालो पत्रे सडक छ ।
चेपे ताल केही वर्ष अगाडि चिरामा बग्ने पानी, असजिलो बाटो थियो तर अहिले भने मनै लोभ्याउने निलो पानीको ताल बनेको छ । केही वर्ष अगाडिसम्म यो स्थल देखेका मानिस अहिले अचम्म पर्छन् । उत्तरतिर देखिने रुपाकोट, वस्तीकोट र करमकोट गाउँ, यिनै गाउँको वरपर महाभारत श्रृंखलामा लुङकुस र घलङवास गाउँ तिनै गाउँको फेदीमा रहेको चरिंगे दह र भोटे दह । यी दुबै दहले बनेको चेपे सोता अहिले मनै लोभ्याउने चेपे ताल बनेको हो ।
२. कहिल्यै आँखा नअघाउने दृश्य बंगलाचुली लेक
दाङको बंगलाचुली गाउँपालिका पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको छ । बंगलाचुली पार्कसंगै सडक सुविधा हुँदा बंगलाचुली गाउँपालिकामा चहलपहल बढ्न थालेको हो । कुनै समय सुक्खा र उजाड पहाडका रूपमा रहेको बंगलाचुली पहाड पछिल्लो समय पार्कको रूपमा विकास हुँदै गएको हो ।
बंगलाचुली गाउँपालिका वडा नं. ५ को मुर्कुटी बजारदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले केही वर्षअघि सुक्खा डाँडाको रूपमा रहेको उक्त पहाड अहिले बंगलाचुली पार्कका रुपमा विकास गरिएको छ ।
करिब दुई सय ५० रोपनी क्षेत्र रहेको उक्त ठाउँमा अहिलेसम्म विभिन्न भौतिक संरचनाहरु निर्माणका लागि करिब एक करोड रुपैयाँ खर्च भएको छ । समुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाउँलाई गाउँपालिकाकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि अहिलेसम्म भ्यू–टावर, प्रतीक्षालय, नाँचघर, पार्कको विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यू–टावरको संरक्षणका लागि पर्खाल, गेट र उक्त क्षेत्रमा हिडडुल गर्नका लागि पक्की बाटो लगायतका विभिन्न संरचनाहरु निर्माण गरिएको छ ।
बंगलाचुली पार्कलाई थप आकर्षक बनाउनका लागि पिकनीक स्थल, खेल मैदान, मन्दिर, विवाह मण्डपलगायतका अन्य थुप्रै संरचनाहरु निर्माण गर्ने क्रम जारी छ । घोराही बजारदेखि करीव ३२ किलो मिटरको दुरीमा रहेको यो ठाउँ पुग्न कालो पत्रे सडक छ । पूर्व उत्तरमा अवस्थित यो ठाउँ जाँदा पहाडी बाटो तय गर्नु पर्ने हुँदा बाटोमो सुन्दरता, प्राकृतिक छटाले सबैको मन लोभ्याउँछ । चिसो हावापानी भएको यो ठाउँमा जाँदा सकेसम्म बाक्लो कपडा लगाएर जानुपर्ने हुन्छ । बंगलाचुली लेकबाट उत्तर तर्फ सेता दन्त फिँजाई लहरै उभिएका हिमाल पनि देख्न सकिन्छ ।
३. गणेशपुर पार्क अर्थात् शान्ति उद्यान
दाङको पर्यटकीय क्षेत्र राप्ती शान्ति उद्यानमा बनस्पति उद्यान निर्माण गरिएसँगै घुमफिरका लागि अहिले धेरै मानिस पुग्ने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा रहेको गणेशपुर पार्क भनेर चिनिने उक्त ठाउँमा उद्यान निर्माणभएपनि थप आकर्षक बनेको छ ।
लोपोन्मुख तथा बहुमुल्य जडिबुटि संरक्षण गर्नुका साथै वनस्पति अध्ययन केन्द्रका रुपमा विकास गर्ने योजना अनुसार बनस्पति उद्यान निर्माण गरिएको यो ठाउँ घुमफिर गर्न, परिवारजनसँगको बसाई यादगार बनाउन, तथा त्यहाँको बारेमा जानकारी लिन निकै उपयोगी मानिन्छ ।
गणेशपुर पार्कलाई पर्यटकीयसंगै पिक्निक स्थलका रुपमा चिनिने भन्दै यसको विकासका लागि उपमहानगरपालिकाले पनि चासो दिएको छ।
शान्ति उद्यानमा अहिले चिडिया खाना, स्वीमिङ् पुल, चिल्डे«ेन पार्क निर्माण गरिएको हुँदा बालबालिका तथा सबैका लागि मनोरञ्जन स्थल बनेको छ ।
४. जलविहार र घुमफिरको गन्तव्य जखेरा ताल
दाङ जिल्लाको लमही नगरपालिका–३ मा रहेको जखेरा ताल चुरे पहाडको फेदमा अवस्थित छ । पूर्व र पश्चिममा वन जङ्गल, दक्षिणतर्फ सुन्दर मुसुण्डी गाउँ तथा उत्तरतर्फको चुरे पहाडको फेदमा यो ताल रहेको छ। मनमोहक दृश्यले भरिएको यो ताल अहिले पर्यटकलाई लोभ्याउन पर्खिएर बसेको जस्तो लाग्दछ । निकै आकर्षक यस तालमा पुग्दा लाग्छ आफ्नो सुन्दरता देखाउन पर्यटक पर्खिएर बसेको छ । आफ्नो मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई तालले लोभ्याउने गरेको छ । मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यस तालको प्रमुख आकर्षण हो ।
दाङको लमही बजारबाट ६ किलोमिटर पूर्व उत्तरमा रहेको यो ताल पुग्न श्रीगाउँ हुँदै उत्तरतर्फ करीब दुई किलोमिटरको यात्रा तय गर्नुपर्छ । पूर्व–पश्चिम राजमार्गबाट नजिकै रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट पनि सो तालको अवलोकनमा पर्यटक आउने गरेका स्थानीय बताउँछन् ।
झण्डै सात फिट गहिराइ र साढे सात बिघा क्षेत्रफलमा फैलिएको तालको वरपर वनजङ्गल रहेको छ । तालको उत्तरतर्फ रहेका गणेश र पूर्वमा सिद्धेश्वर महादेवको मन्दिरले पनि थप आकर्षण दिएको छ । यहाँ आउने पर्यटक डुङ्गा चढेर मन्दिर दर्शन गर्न जाने गर्दछन् । ताल अवलोकन गर्ने र घुमघाम गरी त्यस क्षेत्रमा बनभोज खानेको ठूलो भीडा लाग्ने गर्दछ । वनभोज स्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन गर्न पर्यटक यहाँ आउने गर्दछन् ।
५. हिमाल र तराईको दुरी नाप्न सकिने ठाउँ छिल्लीकोट
छिल्लीकोट अहिले दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका वार्ड नं. १९ सुमुन्द्र सतह देखि १४१० मी. उचाईमा रोल्पा जिल्लाका रुटीगढी गाँउपालिकाको वारढार्नी गोदे रिचे, विश्राम थलीगाँउसँग जोडिएको एक पर्यटकीय पहाडी भू–भाग हो । जसमा, कालिका, मालिका, गणेश थान, भैरवथान, शिवजी थान, हवन कुण्ड, रक्तकुण्ड, वुद्धढुङ्गा, गुप्तेश्वरी गुफा, छिल्लीकोट राजगडी, राजमाको टोप , राजाका शिलाढुङ्गा चौकी इन्द्र चोक, टुडीखेल आदि छन् । यो स्थान तुल्सीपुर देखि पुर्व उत्तरतर्फ २१ कि.मी. को दुरीमा पर्दछ ।
१५औं, १६औ शताब्दीमा कर्णाली प्रदेश जुम्लाबाट आएका चल्ल वंशीय राजा मेघनाथ शाहले राज्य सञ्चालनका लागि रोजे र राज्य सञ्चालन गरे यो भन्दा पहिले यस ठाँउको नाम धार्मिक शास्त्रअनुसार (मल्ला गिरी) पर्वत (पहाड) हो । अर्थात् छिल्लीकोटको प्राचीन नाम मल्ला गिरी हो । जस्तैः– पुर्णागिरी भारतमा पर्दछ, भने चन्द्रागिरी काठमाँडौको उत्तरी भू–भागमा पर्दछ । त्यस्तै मल्लागिरी दाङ्गको छिल्लीकोटमा रहेको छ । यो तिनवटै देव भूमि हुन् । नेपाल एकीकरण गर्ने शिल शिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वी नारायण शाहका भाई बहादुर शाह नायक बनि नेपाल एकीकरण गर्ने क्रममा छिल्लीराज्य गाभिएको हो ।
नेपाल सरकारले क्षेत्रलाई अधिकार दिने काममा बटौली खसेउली वर्तमान वुटवल साशन गर्नका लागि गोश्वारा स्थापना भई नेपालगञ्जमा गोश्वारा स्थापना भई शासन प्रशासन जमिन्दार, पटवारी मुखिया तालुकदार मतवा स्थापना भई शासन प्रशासन सञ्चालनमा आएपछि गएर माल कार्यालय माल अड्डाले हेर्ने भयो त्यो माल कार्यालय माल अड्डा अर्थात दाङ्गको सदरमुकाम छिल्ली अर्थात (छिल्लीकोट)मा रहेको इतिहास २००६, सालसम्म छिल्लीकोटमा रहेको कुरा पुराना लालमोहरले अधिकारिक रुपमा जग–जाहेर गर्दछ । यो ठाउँ पुग्न बिजौरीदेखि उत्तर तर्फ लाग्नुपर्छ । यहाँबाट उत्तरमा सेता हिमाल देख्न सकिन्छ भने दक्षिणमा भारतका विभिन्न क्षेत्र पनि सहजै अवलोकन गर्न सकिन्छ ।
६. मगर संस्कृति बुझ्न र प्राकृतिक सुन्दरतामा हराउन सवारीकोट
हर्नोक काउलेदेखि सुपाखोलासम्म महाभारत पर्वतमा ठाँटीकोट, करमकोट, वस्तीकोट, गाडाकोट, रुपाचौर, मान्द्रे, भुल्के, धनचौरलगायत मगरजातिको बाहुल्यता रहेका रमणीय गाउँहरुको अवलोकन गर्ने हो भने सवारीकोट जानै पर्छ । घोराही ४ मा पर्ने यो ठाउँको आफ्नै विशेषता छ । पदयात्रामा रमाउन खोज्ने ग्रामीण पर्यटकहरुले मगर संस्कृति र गाउँको परिवेशसमेत अध्ययन गर्न सवारीकोट उत्ककृष्ट गन्तव्य हो ।
अर्कोतर्पm पैदल यात्रामा महाभारत श्रृंखलाबाट दाङ उपत्यका हेर्दा र फोटो लिदाको आनन्द लिन पनि सवारीकोट सबैको उत्तम विकल्प हो । घोराही बजारदेखि उत्तरपूर्वमा रहेको यो ठाउँ करीव ५ किलोमिटरको पैदल वा सवारीको यात्रा पछि पुग्न सकिन्छ । हिडेर जाने हो भने करीव ४५ मिनेटमा यो ठाउँ पुग्न सकिन्छ ।
यहाँ रात बिताउनको लागि होमस्टे समेतको व्यवस्था छ । यहाँ चिसो मौसम, बिहानको समयमा सुर्योेय र हिमाल तथा दाङ उपत्यकाको धेरै भुगागको अवलोकन गरि मज्जा लिन सकिन्छ । घुमफिरमा जाने ग्रामीण पर्यटकहरुले आफ्नो यात्राको गन्तव्य पहिला नै बनाएर यात्रामा निस्कदा राम्रो हुन्छ । चिसो हावापानी, प्राकृतिक सुन्दरताको अवलोकन तथा स्थानीय जनजीवनलाई नजिकबाट नियाल्न जाने हो भने सवारीकोट एक पटक अवश्य जाऔं ।
७. प्राकृतिक दह बाह्रकुनेको आफ्नै विशेषता
दाङको बाह्रकुने दहमा पनि आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढिरहेको छ । दाङको घोराही उपमहानगरपालिका–१३ सेवारगाउँमा प्रत्येक वर्ष माघे संक्रान्तिको दिनमा तीर्थाटन र मेला लाग्ने गर्छ । बाह्रकुने दह प्राकृतिक दहका रुपमा लिईन्छ । बाह्रकुने दहको क्षेत्रफल ७ विगाह ७ कठ्ठामा फैलिएको छ ।
यो दहमा कुनै कालखण्डमा दह वरपर गाईवस्तु चराउने घना जंगल रहेको थियो । सल्यान र रोल्पाबाट किसानहरु हिउँदको समयमा आफ्ना गाईवस्तुहरु लिएर बाह्रकुने वरपरको जंगलमा गोठ राख्ने गरेको वुढापाकाहरु बताउँछन् । सोहीक्रममा बाह्रकुने दह वरपर गोठ ल्याउने ती गोठालाहरु १२ भाई रहेछन् । बुढापाकाका अनुसार एकदिन राति जेठो गोठालाले सपना देखेछन्, त्यो सपनामा सेतै फुलेका वृद्व आफ्नो अगाडि उभिएर गोठालालाई भनेछन् ‘यो स्थान देवताको वासस्थान हो, यहाँ गोठ नराख, यो ठाउँ जलाशय बन्दैछ ।’ जेठो गोठालाले बिहान सपनाको कुरा सबै भाइहरुलाई सुनाएछन् सपनाको कुराले ११ जनाले गोठ सारेछन् ।
तर सपना देख्नेले सपनालाई विश्वास नगरी गोठलाई सार्ने काम गरेनछन् । पुस मसान्तको दिन विनासकारी असिना र पानी आएछ । विनासकारी पानीले गोठ वरपर जलमग्न भएकै कारण बाह्रकुने विशाल दहको रुप भएछ । बाह्रकुने दह वरपर क्षेत्रमा सुरुदेखि नै मगर जातिको बसोबास स्थल रहेको थियो । मगर जातिहरुले बराह देवतालाई कुल देवता मान्ने हुँदा बाह्रकुने दहमा बराह छन्, भन्ने मान्यताले मगर जाति नै पुजारी भएर पूजा चलाउँदै आएको पाइन्छ ।
८. विश्वकै अग्लो त्रिशुलसँगै दाङ उपत्यका हेर्ने ठाउँ पाण्डवेश्वर धाम
पर्यटकीय एवं धार्मिक क्षेत्र पाण्डवेश्वर महादेव धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य हो । दाङको घोराही ५ धारपानीमा रहेको धाममा विश्वकै अग्लो त्रिशूल राखेसँगै विभिन्न पूर्वाधार तयार पारिएका छन् केही निर्माणको चरणमा छन् । पाण्डवेश्वरी महादेव मन्दिर धारापानीमा राखिएको ठूलो त्रिशूल हेर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
त्रिशूल सात हजार ७१८ किलोग्राम फलाम, २२६।३६० किलोग्राम तामा, १० किलोग्राम काँस र २०४ किलोग्राम पित्तलले बनाइएको छ । उचाइ ५५.५ फिट र ४४ इन्च गोलाई रहेको त्रिशूलले त्यहाँको थप पर्यटकको आकर्षण बढेको स्थानीय बताउँछन् ।
ऐतिहासिक तथा धार्मिक महत्वले निकै महत्व मानिने धारापानीमा देशका विभिन्न जिल्ला र भारतबाट पनि पर्यटक आउने गरेको पाण्डवेश्वर महादेव धाम सञ्चालक समितिले जनाएको छ । यहाँ पाण्डवको इतिहाससँग जोडिएका धेरै प्रमाणहरुसमेत रहेको स्थानीयले बताउने गरेका छन् । घोराही बजारदेखि करीव ९ किलोमिटरको दुरीमा दक्षिण तर्फ रहेको यो क्षेत्र बबई नदी किनारमा रहेको छ । यहाँबाट उत्तर तर्फका पहाडी तथा हिमाली दृश्य अवलोकन गर्न सकिन्छ भने त्यहाँ बनेका क्रृत्रित ताल, मठमन्दिरको अवलोकन गर्न सकिन्छ । शिव महिमाले परिचित यो ठाउँ धार्मिक आस्थाको धरोहर पनि हो ।
९. वन र झरनाको अवलोकन गर्ने ठाउँ पुरन्धारा झरना
दाङको बबई गाउँपालिका–५ मा पर्ने झरना यतिखेर पर्यटकको मुख्य आकर्षण केन्द्र बन्न पुगेको छ । तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको करीब १० मिटर टाढा पूर्वतर्फ रहेको प्राकृतिक पुरन्धरा झरना छ । पैँतालीस उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई नै लोभ्याउने गरेको छ ।
झरनाबाट खसेको पानी पोखरीजस्तै आकारमा जम्मा हुन्छ । त्यहीँबाट विस्तारै बबई नदीमा गई मिसिने गर्दछ । झरनाको अवलोकन गर्न आउने त्यहीँ पानी खस्ने ठाउँमा पौडी खेल्ने पनि गरेका छन् । अहिले यो झरनाको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक सयोँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय बताउँछन् ।
छेवैँमा रहेको बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चरा तथा जीवजन्तुको अवलोकन गर्न सकिने यो ठाउँ पुग्न हापुरे बजारहुँदै करीव १० किलो मिटरको यात्रा तय गर्नुपर्ने हुन्छ ।
१०. दाङकै ठूलो ताल ज्यामिरे दहको शान्तपन
बाह्रकुने दहको पश्चिमतिर ज्यामिरे दह रहेको छ । दुर्लभ चराहरुको बासस्थान समेत भएको ज्यामीरे दह पनि आजभोलि बाह्रकुने दहमा पुग्ने पर्यटकहरु घुमफिरको लागि ज्यामिरे दह पनि पुग्ने गर्दछन् । करिव आधा घण्टाको दूरीमा रहेको ज्यामीरे दह जैवीक विविधता भएको सीमसार क्षेत्र हो । ज्यामीरे दह पर्यटकको लागि वातावरणको दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल मानिन्छ ।
एक किलोमिटर भन्दा बढी लम्वाइ भएको दाङको ज्यामिरे दह शान्त एकान्त ठाउँमा छ । घोराही १३ को ४ हेक्टरबढि क्षेत्रफलमा रहेको ज्यामिरे सामुदायिक वन भित्र रहेको ज्यामिरे दहको लम्बाइ एक हजार १५ मिटर, चौडाई ४० मिटर र गहिराई ३० मिटर रहेको छ ।
ज्यामिरे दह दाङकै ठूलो ताल हो । दहलाई पर्यटकीय गन्तव्य बनाउनका लागि राज्यले अहिले बिस्तारै लगानी बढाउँदै लगेको छ । तालको अवलोकन गर्ने तथा फेवातालको प्यास मेटाउन जानेहरुले डुंगा सयर पनि गर्न सक्ने व्यवस्था मिलाइएको छ । अहिले निरन्तर दैनिक रुपमा डुङ्गा सञ्चालन भएको हुँदा सयौँको संख्यामा आन्तरिक पर्यटकहरु अवलोकनसँगै डुंगा सयरका लागि पुग्ने गरेका छन् ।
११. सेल्फी केन्द्र बनेको कर्जाही ताल
घोराही १७ मा रहेको कर्जाही ताल अहिले आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र हो । यो क्रृत्रित जलाशय घोराही बजारबाट ४ किलोमिटर दक्षिणमा अवस्थित छ । २०७६ फागुनमा निर्माण कार्य थालिएकोमा २०७७ असारमा सकिएको कृत्रिम जलाशय अवलोकन गर्न जाने र रमाईलो गर्नेहरुको भीड बढ्दै गएको छ । जलाशय निर्माणले सो क्षेत्रको पर्यटन विकासमा टेवा पुगेको स्थानीयले बताउने गरेका छन् ।
अहिले आन्तरिक तान्नका लागि त्यहाँ डुंगा चलाउने, वनभोजको स्थल बनाउने, सुरक्षाको प्रवन्ध मिलाउने लगायत काम हुन थालेको वडा अध्यक्ष खुशीराम चौधरी बताउँछन् । लुम्बिनी प्रदेश सरकार, घोराही उपमहानगर र स्थानीय जनश्रमदान गरी १ करोडको लागतमा निर्मित जलाशय घुम्न जाने होईन त ?
१२. चरिंगा अर्थात हिले माछाको गढ चरिंगे दह
चरिंगे दह यो आफैमा विशेष दह हो । चेपे तालभन्दा ३ किलोमिटर पूर्व उत्तरमा अवस्थित यो ताल सिमसार क्षेत्रमा पर्छ । यहाँ प्रसस्त मात्रामा चरिंगा अर्थात हिले माछा पाईने हुँदा यो दहलाई चरिंगे दह भनिएको हो । केही वर्ष अघिसम्म त्यहाँ पुग्न बाटोको सुविधा थिएन तर अहिले बाटो बनेपछि सवारी साधन लिएर पनि चरिंगे दहसम्म सहजै पुग्न सकिन्छ ।
हरियो वनजंगल, शान्त एकान्त वातावरण, तालको चारैतिरबाट अवलोकन गर्न बनाइएको पक्की बाटोले ताल हेर्न जाने र भरपूर आनन्द लिनेहरुको संख्या बढ्दै गएको छ । आन्तरिक पर्यटकका लागि यो स्थान रोजाईमा पर्ने गरेको स्थानीयहरु बताउँछन् । त्यहाँ वनभोज खान, घुमफिर गर्न तथा वनवातावरणको आनन्द लिन जानेहरु बढी हुने गर्छन् । घोराही बजारदेखि पूर्व उत्तरमा रहेको चरिंगे दह करीव ११ किलोमिटरमा अवस्थित छ ।
१३. अम्बिकेश्वरी माताको दर्शन
जिल्लाकै प्रसिद्ध धार्मिकस्थल अम्बिकेश्वरी घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा रहेको छ। करीब सय वर्ष पुरानो मन्दिरको पुरातत्व विभागले दुई वर्षको अवधिमा नयाँ स्वरुपमा अहिले यो मन्दिर तयार गरेको छ । नेपालको पुरानो शैली र प्रविधिको प्रयोग गरेर ढुङ्गा, चुना, सुर्की र काठबाट मन्दिर निर्माण गरिएको छ । नयाँ निर्माण गरिएको मन्दिरमा पहिले जस्तो सिमेन्ट, गिट्टी, इँटा र छडको प्रयोग गरिएको छैन ।
विसं २०३० मा मन्दिर निर्माणसँगै तत्कालीन वडा महारानी रत्नराज्य लक्ष्मी शाहले मन्दिरको उद्घाटन गरेसँगै मन्दिर चर्चामा आएको बताइन्छ । मन्दिर भित्री भाग साँघुरो, छाना चुहिने र पछिल्लो समय मन्दिर जीर्ण बन्दै गएपछि दुई वर्षपहिले २०७४ साल माघ २९ गतेदेखि २०७६ माघ मसान्तभित्र मन्दिरको पुनः निर्माणको काम सक्ने सम्झौताअनुसार भत्काइएको थियो ।
माता अम्बिकेश्वरी देवीको आस्था बोकेको यो मन्दिर घोराही बजारदेखि उत्तर पूर्वमा करीव ३ किलोमिटरको दुरीमा अवस्थित छ । यहाँ पूजा अर्चना गर्न जाने, मनको आनन्द लिन जानेहरुको बाक्लो भीड लाग्छ ।