Ad Area

घुमफिरका लागि आकर्षणको केन्द्र बन्दै कुलपानी (फोटो फिचर)


दाङ, ४ असार । कुनै बेला सानो पोखरी र एउटा कुटट्ी रहेको देउखुरीको कुलपानी अहिले धार्मिक तथा पर्यटकिय रुपमा विकास भएको छ । सिमसार क्षेत्रलाई संरक्षणसँगै पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्य अनुसार कुलपानीमा मन्दिरसँगै हरित पार्क निर्माण गरेर विभिन्न वन्यजन्तुका मुक्तिहरु निर्माण गरेपछि कुलपानी पछिल्लो समय चर्चामा रहेको छ ।

पार्कमा बनेका घोडामा चढ्ने, गैडा, र बाघ, जरायो, मयुरसँगै फोटो खिच्ने काठको भ्युटावरमा चढेर वरिपरिको वातावरण नियाल्ने र डुङ्गामा चढेर पोखरी घुम्ने पर्यटकको भीढभाड हुने गरेको छ । जंगल क्षेत्रमा पर्ने धार्मिक एवं सिमसार क्षेत्र भएकाले घुमफिरसँगै मनोरंजनका लागि पर्यटकीय क्षेत्रमा रमाउनका लागि दिनहुँ सयौंको संख्यामा आन्तरिक पर्यटकका रुपमा मानिसहरु कुलपानी पुग्ने गरेका छन् ।

कुलपानीमा पर्यटकलाई तान्नका लागि काठको भ्युटार, देउखुरी क्षेत्रमा पहिले प्रयोग गरिने काठको लडिया, राप्ती नदीमा पुल नहुदा चलाएको डुङ्गा, काठको कोल, ढिकीलगायतका परम्परागत रुपमा मानिसले प्रयोग गरेका तर अहिले लोप हुने अवस्थामा रहेका सामग्रीलाई समेत हेर्नका लागि राखिएको छ । तर आर्थिक अभावका कारण व्यवस्थित गर्न नसकेको व्यवस्थापन समितिले जनाएको छ ।

देउखुरीको गढवा गाउँपालिका–१ बडहरामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र कुलपानीको वृहत विकासका लागि गुरुयोजना समेत निर्माण भैहेको छ । अहिले १२ हेक्टर क्षेत्रमा फैलिएको धार्मिक एवं सिमसार क्षेत्रको बिकासका लागि प्रदेश पूर्वाधार प्राधिकरण कार्यालयले डिपिआर निर्माणको काम गरिरहेको छ । बाल उद्यान, पिक्निक स्पट, पोखरी व्यवस्थितसँगै तारबार गर्ने गरी डिपिआर निर्माणको काम भइरहेको छ ।