कृषि कर्ममा रमाउँदै पूर्व सेना ‘डिल्लीराज थापा’
रन्जिता अधिकारी
घोराही, ५ असार । घोराही उपमहानगरपालिका वडा नम्बर १७ डबरीका डिल्लीराज थापा भारतीय सेनाबाट अवकाश प्राप्त व्यक्ति हुन् । १७ वर्ष भारतीय सेनामा कार्यरत रही सन् २०१५ मा अवकाश लिएपछि थापालाई घरमा यत्तिकै बस्न मन लागेन ।
सेनामा रहँदा व्यस्त भएका उनलाई घरमा आएपछि निवृत्त जीवन यत्तिकै बिताउन गाह्रो भयो । उनले त्यसपछि अटो रिक्सा किनेर चलाउन थाले । ३ वर्ष अटो रिक्सा चलाएपछि उनलाई त्यो पेशाले सन्तोष दिएन । अटो रिक्सा चलाउँदा शुरु–शुरुमा राम्रै कमाई थियो ।
पछि, बजारमा अस्वाभाविक रुपमा अटो रिक्सा थपिएपछि कमाई हुन छाड्यो ।
दिनभर यात्रु खोज्दै भौतारियो, तेलको मुल्य पाउन पनि कठिन हुन थालेपछि उनले अटो रिक्सा बेचे । त्यसपछि के गर्ने भन्ने निधो थिएन । घरमा बसिरहेका बेला अचानक एक दिन नयाँ विचार मनमा खेल्यो । उनले घर नजिकै बाँझो रहेको जमीन भाडामा लिने अनि कृषि कर्म गर्ने सोँच बनाए । गत वर्षबाट उनले घर नजिकै बाँझो रहेको १ बिगाहाभन्दा बढी खेत पाँच वर्षका लागि भाडामा लिएर कृषि कर्ममा हेलिए ।
घरमा खान पुग्ने भएपनि उनी काम गर्नुपर्छ भन्ने मान्यताका साथ यो पेशामा लागेका हुन् । ‘घर बसेर यत्तिकै बरालिने हुन्छ, अनावश्यक खर्च मात्रै हुन्छ, समय बिताउन पनि गाह्रो हुन्छ,’ उनले भने, ‘हातमा जाँगर छ, केही गर्न सक्ने मनमा ईच्छा छ भने घरमा बिना काम बस्नु हुन्दैन, केही गर्नुपर्छ, काम गर्दा समय बिताउन पनि सजिलो, आम्दान पनि हुने ।’
पहिलो वर्ष उनले बाँझो रहेको जमीन उर्वर बनाउन धेरै मेहनत गर्नुपर्यो । लामो समय बाँझो बारीमा कृषि उब्जनी भने जस्तो हुदैन । तर, उनको कडा मेहनतले हार खाएन । पहिलो वर्ष टमाटर खेती गरेका थापाले ३ लाख आम्दानी गरे । एकै सिजनमा राम्रो आम्दानी भएपछि उनलाई थप हौसला मिल्यो । टमाटर खेतीका लागि बाँझो बारी खनखोरस गर्दा, बाँस किन्दा, सामान खरीदमा अलि बढी लगानी लाग्यो । तर, त्यो सबै खर्च कटाएर पनि उनले एकै सिजनमा राम्रै वचत गर्न सफल भए ।
‘शुरुका वर्ष भएकाले पनि टमाटर खेती गर्दा कसरी गर्ने भन्ने सबै कुराको ज्ञान भएन,’ उनले भने, ‘टमाटर खेतीका लागि मल, औषधी सबै मिलाउनु पर्ने रहेछ, अहिले थाहा पाईयो, अब त्यति समस्या नहोला ।’ अब व्यावसायिक खेतीका लागि प्राविधिक ज्ञान पनि उनी सिक्दै जानकार हुँदै गएका छन् । अहिले उनको खेतबारीमा मकै फलि सकेको छ । जान्यो भने एकै सिजनमा पनि प्रसस्त आम्दानी गर्न सकिने उनले अनुभव लिईसकेका छन् ।
बारीमा मकै फलिसकेकाले अबको केही दिनमा मकै भाँचेर उनले फेरी टमाटर रोप्ने तयारी गरेका छन् । टमाटरका बेर्ना तयार हुँदै गएकाले अहिले उनी टमाटरका लागि बाँसको टेकासोदेखि आवश्यक सामग्री जुटाउन व्यस्त भएका छन् । ‘कामले काम सिकाउँदो रहेछ, हिजो शुन्यबाट शुरु गरेको कामले धेरै कुरा सिकाउँदै लगेको छ,’ उनले भने, ‘मकै ठेगान लगाई सकेपछि साउनको पहिलो साता टमाटर रोप्ने तयारी गरेको छु ।’
घरमा तरकारी फलाउन थालेपछि उनलाई तरकारी किन्नु परेको छैन । घरको करेसाबारीमा बाह्रै मास तरकारी फल्छ ।‘ ताजा तरकारी खान पाइएको छ, घरको शोभा पनि भएको छ,’ उनले भने ‘काम गर्न जान्यो भने फाईदै फाईदा पो हुने रहेछ ।’
उनले तरकारी खेती गर्दा रासायनिक मलको सट्टा प्रांगारिक मललाई प्राथमिकता दिएका छन् । पाँच जनाको थापा परिवार यसरी विकल्पको खोजी गर्दै कृषि कर्ममा लागेपछि उनको कामको छिमेकीले पनि सिको गर्न थालेका छन् । घरमै बसेर यत्तिकै बरालिनेहरु पनि बाँझो पाखो बारीमा श्रम पोखेर कृषि उत्पादन गर्नुपर्छ भन्ने मान्यतामा लागेका छन् । जसले गर्दा बाँझो बारी हराभरा हुँदै गएको छ भने आम्दानीको श्रोत पनि बढ्दै गएको छ ।