Ad Area

विश्व सिकलसेल दिवस : रोग न्यूनीकरणमा ध्यान दिन आग्रह


दाङ, ५ असार । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले सिकलसेल एनिमिया रोग न्यूनीकरणका लागि सबै सचेत बन्नुपर्ने बताएका छन् । विश्व सिकलसेल एनिमिया दिवसका अवसरमा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजना गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले रोग लुकाउँदा एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने खतरा रहने भएकाले रोगलाई सर्न नदिन र बिरामीको उपचारका लागि सबै गम्भीर बन्नुपर्ने बताएका हुन् ।

नगर प्रमुख चौधरीले अहिलेसम्मको तथ्याङ्कअनुसार सिकलसेल एनियमिया सबैभन्दा बढी थारु समुदायका मानिसहरुमा देखिएकाले त्यसप्रति थारु समुदाय सचेत बन्नुपर्ने बताए । ‘सिकलसेल एनिमिया सबै समुदायका मानिसलाई लाग्न सक्छ । तर अहिलेसम्म सबैभन्दा धेरै चौधरी समुदायका मानिसहरुलाई देखिएको छ’, नगर प्रमुख चौधरीले भने– ‘त्यस हिसावले रोगबाट बच्नका लागि चौधरी समुदाय बढी सचेत हुनुपर्छ ।’ उनले रोगबाट बच्नका लागि घोराही उपमहानगरपालिकाले सचेतनासँगै बिरामीहरुलाई निःशुल्क व्लडको व्यवस्था समेत गरिरहेको बताएका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका डम्वर कुँवरले सिकलसेल एनिमिया रोगबाट बच्नका लागि सचेतना आवश्यक रहेको बताए । उनले रोगबाट बच्न र चेक गराउन लाज मान्ने प्रवृत्तिका कारण ठूलो समस्या निम्तन सक्ने खतरा रहेकाले रोगबारे सचेत बन्नुपर्ने बताए । उनले जिल्लाका सात स्थानीय तहहरुमा असार ६ गते सोमवारदेखि रोग पहिचानका लागि स्क्रीन कार्यक्रम सुरु गर्न थालिएको बताए ।

स्क्रीन कार्यक्रम घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर र दंगीशरण गाउँपालिकामा रोग पहिचानका लागि शिविर सञ्चालन हुने बताएका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले न्यून आर्थिक अवस्था भएका घरपरिवारमा रोग देखिए उपचार गर्न समस्या हुने गरेको भन्दै अन्य रोगजस्तै सिकलसेल एनिमियाका बिरामीहरुलाई पनि आर्थिक सहयोग पुग्ने कार्यक्रम ल्याउन आग्रह गरेका थिए । साथै उनीहरुले सिकलसेल एनिमिया रोगलाई चौधरी समुदायमा मानिसहरुलाई मात्र लाग्छ भनेर समुदायमा भ्रम सिर्जना नगर्न आग्रह गरेका थिए ।

राप्ती स्वास्थ्य प्रतिष्ठानमा रहेको सामाजिक सेवा इकाईकी शोभा पोख्रेलका अनुसार प्रतिष्ठानबाट अहिले १३८ जना बिरामीहरुले उपचार लिइरहेका छन् । प्रतिष्ठानमा चेकजाँचसँगै निःशुल्करुपमा ब्लडको व्यवस्था गर्ने गरेको उनले बताइन् । सिकलसेल एनिमिया रोगका बारेमा डा. निशा आचार्यले जानकारी गराएकी थिइन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, ग्रामीम महिला केन्द्रकी अध्यक्ष आशमानी चौधरी, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, सचिव प्रकाश चौधरी, थारु पत्रकार संघका निवर्तमान केन्द्रीय अध्यक्ष सन्तोष दहित, थारु पत्रकार संघ दाङका अध्यक्ष नविन चौधरी, सहभागी कृष्ण चौधरी, पुनाराम चौधरी, छेटु चौधरीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका ठाकुर खनालले गरेका थिए ।

Blog Post Ad

Blog Post Ad Blog Post Ad