Ad Area

बंगलाचुली पूर्ण खोप सुनिश्चित पालिका


दाङ, ६ असार । बंगलाचुली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपालिकाले पालिकाका ८ वटै वडामा सर्वे गरी सबै बालबालिकाले नेपाल सरकारले उपलव्ध गराउँदै आएका सबै खोपहरु लगाएको तथ्यांक प्राप्त गरेपछि पालिकालाई आइतवार पूर्ण खोप सुनिश्चित तथा दिगोपन पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनमगरको अध्यक्षतामा भएको घोषणा सभामा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले नेपालको संघात्मक संविधानले नै हरेक नागरिकको आधारभूत स्वास्थ्यको अधिकार सुनिश्चित गरेको भन्दै पूर्ण खोप सुनिश्चित पालिका घोषित भएकोमा बधाई दिएका छन् । मुलुकको संविधानप्रदत्त स्वास्थ्य सेवा आफ्ना नागरिकलाई पु¥याउन सक्नु गौरवको विषय भएको भन्दै पुर्ण खोप सुनश्चित पालिका एक पटक घोषणा भएर मात्र ढुक्क हुन नसकिने भन्दै अभियानलाइ हरेक बर्ष निरन्तरता दिनुपर्ने बताए ।

जनताको मौलिक हकको उपयोग गर्न पाउने अधिकारलाई सबैले गम्भीरतापूर्वक लिन आग्रह गर्दै उनले बंगलाचुली जस्तो पालिकाले आफ्ना नागरिकको घर–घरमा सर्वेक्षण गरेर सबैलाई खोप लगाइसकेको अवस्थामा ल्याउनु उत्साहकै विषय भएको बताए ।

रोग लागेपछि अस्पतालमा लगेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिन घर–आँगनमै उपलव्ध हुने निःशुल्क खोप पाउनु एउटा अवसर भएको भन्दै हरेक अभिभावकले यो अवसरलाई खेलवाड गर्र्न नहुने पनि बताए । साथै जिल्लाकै पहाडी भूभागमा रहेको यो पालिकालाई जिल्लाकै नमुना पालिका बनाउन आफूले प्रदेश तथा संघीय सरकारसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्ने पनि उनको अभिव्यक्ति थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत किशोरकुमार आचार्यले नेपाल सरकारले हरेक बर्ष सबै पालिका तथा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने नीति ल्याएको बताए । यसका लागि पलिकाका सबै तह र तप्काको सहकार्य आवश्यक भएको पनि उनको भनाइ थियो । सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराएका सबै खोपहरु लगाउन नसक्दा लुम्बिनी प्रदेशका ९ वटा जिल्ला मात्रै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको बताउँदै यो बर्ष भने सबै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने प्रदेश सरकारको तयारी रहेको बताए । स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य सचिव समेत यही जिल्लाकै व्यक्ति रहेको स्मरण गर्दै उनले आधारभूत स्वास्थ्यको अधिकार सबै तहसम्म पुग्नुपर्ने बताए ।

गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सम्पूर्ण कार्यपालिका सदस्यका तर्फबाट गणेश विश्वकर्मा, आमा समूहका तर्फबाट कुमारी पुन मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका बनाउन अहम् भूमिका निर्वाह गर्ने सबै वडाका स्वास्थ्यकर्मीहरु, आमा समूह तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो । साथै पालिकाका स्वास्थ्य संस्थामा लामो समयसम्म काम गरेर अन्यत्र सरुवा भएर जान लागेका डा. सञ्जय पौडेल र सागर पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका कर्मचारी इन्द्रा घर्तीमगरले गरेकी थिइन् ।

Blog Post Ad

Blog Post Ad Blog Post Ad