गढवा बन्यो पूर्ण खोप सुनिश्चित पालिका


देउखुरी, ७ असार । गढवा गाउँपालिकालाई सोमवार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । निल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिकाको रुपमा घोषणा गरेका हुन् ।

उनले बालबालिकाको मौलिक अधिकार भएकाले सबै पालिकालाई खोपको पहुँचमा ल्याउनुपर्ने धारणा राखे । ‘खोप सुरक्षित जीवनको आधार हो । बाल मृत्युदर घटाउन यसको महत्व ज्यादा छ’, उनले भने– ‘खोप लगाएको, नलगाएको बारेमा सबैले ख्याल गरौं र नलगाएको भेटिए लगाउन प्रेरित गरौं ।’

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पालिका अध्यक्ष पोख्रेलले खोपको दायरा भन्दा बाहिर रहेका बालबालिकाको खोजी गर्न आग्रह गरे ।

‘हामीले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्दै गर्दा कति खोप नै नलगाएको बालबालिका भेटिए भने राम्रो सन्देश जाँदैन । कोही पनि खोप लगाउनबाट छुट्नु भएन । यसमा सबैले ध्यान दियौं’, उनले भने–‘खोपले रोग लाग्नुभन्दा लाग्नै नदिन काम गर्ने भएकाले खोप अभियानलाई अझ व्यापक बनाउन जरुरी छ ।’

गढवा गाउँपालिकाभित्र चालु आर्थिक बर्षमा जन्मेदेखि १५ महिनाका ८ सय ९६ र जन्मेको १६ महिनादेखि २३ महिनासम्मका ७५० जना बालबालिकाले नियमित खोप लगाएका छन् । बार्षिक लक्ष्यअनुसार ८० प्रतिशत बालबालिकाले खोप लगाएको गढवा स्वास्थ्य चौकीका प्रमुख रुपनारायण चौधरीले जानकारी दिए ।

एउटा शिशुले जन्मेदेखि १५ महिनासम्म बिसीजी, डिपीटी, पोलियो, पिसिभी, एफआईपीभी, दादुरा, रोटा र टाइफाइडविरुद्धको खोप लगाउने गरेका छन् । ग्रामीण भेगमा अझै पनि बालबालिका नियमित खोपको पहुँचमा आउन नसकेको अवस्था छ ।

पूर्ण खोप सुनिश्चितता कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरी, वडा अध्यक्ष, स्वास्थ्य चौकीका प्रमुखहरुको सहभागिता थियो । गढवाका ८ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

गढवा स्वास्थ्य चौकीका प्रमुख रुपनारायण चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले गरेका थिए ।