Ad Area

घोराहीमा झण्डै ६ हजारका आँखामा समस्या


घोराही,७ असार । घोराहीमा करिब ६ हजार मानिसमा आँखासम्बन्धी समस्या देखिएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पताले सोमवार घोराहीमा आयोजना गरेको ‘आँखा स्वास्थ्य शिक्षा, उज्यालो अभियानमा जनप्रतिनिधिको भूमिका’ विषयक छलफल कार्यक्रममा घोराहीमा ५ हजार ८ सय ५ जनामा आँखासम्बन्धी समस्या भएको जानकारी दिइएको हो ।

मोतियाविन्दु, अन्धोपनलगायतका विभिन्न कारणले आँखासम्बन्धी विरामीहरु बढ्दै गएको राप्ती आँखा अस्पतालले जानकारी दिएको हो । आँखासम्बन्धी समस्या भएका ५८ सयमध्ये ३ हजार ३ सय ६१ जना मोतियाबिन्दु सम्बन्धी समस्याका बिरामी रहेको राप्ती आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिएका हुन् ।

उनका अनुसार बाँकी बिरामीहरु अन्य विभिन्न समस्याका रहेका छन् । उनका अनुसार घोराही १ मा १०२, वडा नं. २ मा १७८ जना, वडा नं. ३ मा १८१ जना, वडा नं. ४ मा १४५ जना, वडा नं. ५ १४७ जना, वडा नं. ६ १२१ जना, वडा नं. ७ मा १६४ जना, वडा नं. ८ मा १६५ जना, वडा नं. ९ १७७ र वडा नं. १० मा १६१ जना रहेका छन् ।

त्यसैगरी वडा नं. ११ मा १७९ जना, वडा नं. १२ मा २२० जना, वडा नं. १३ मा १६५ जना, वडा नं. १४ १६५, वडा नं. १५ मा ३२३ जना, वडा नं.१६ मा १६४ जना, वडा नं. १७ मा २४९ जना, वडा नं. १८ मा २०८ जना र वडा नं. १९ मा १४५ जना आँखा सम्वन्धी समस्याका विरामीहरु रहेका छन् ।

उनका अनुसार घोराहीमा आँखा सम्बन्धी समस्याका बिरामी सबैभन्दा धेरै वडा नंं. १५ मा ३२३ जना र कम वडा नं. १ मा १०२ जना रहेका छन् ।

नेपाल नेत्रज्योति संघका सहसचिव चिरञ्जीवी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले उपचार प्रभावकारी बनाउन उपमहानगरपालिका सहकार्य गर्न तयार रहेको बताएका थिए । वडा वडामा रहेका स्वास्थ्य इकाईमार्फत नगरबासीको स्वास्थ्य स्तरीय बनाउन भूमिका सहयोग गर्ने बताए ।

विगतबाट मोतियाविन्दु रोगको निःशुल्क उपचार शुरु भइसकेको जानकारी गराउँदै नगर प्रमुख चौधरीले सबै नागरिकको उपचार हुनुपर्छ भन्ने मान्यतामा घोराही प्रतिबद्ध रहेको बताए । उनले स्वास्थ्य सेवा पैसाको आधारमा नभई आवश्यकताको आधारमा हुनुपर्ने बताए । समृद्ध घोराही बनाउन नागरिकको स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए ।

साथै उनले उज्यालो घोराहीका लागि प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले आँखा स्वास्थ्यप्रति सचेत बन्नुपर्ने बताएका हुन् । साथै उनीहरुले मोतियाविन्दुलाई न्यूनीकरणसँगै जिल्लामा आँखा स्वास्थ्यको पठन–पाठनको लागि व्यवस्था गर्न स्थानीय सरकारको सहयोग आवश्यक रहेकाले गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष राममणि पाण्डे, वडा नं. १० का वडा अध्यक्ष दीपक पाण्डेले मन्तव्य व्यक्त गरेका थिए । अन्धोपन भएर जीवन जिउने अवस्था नहोस् भन्नेमा वडा अध्यक्ष र जनप्रतिनिधि सजग बन्नुपर्छ ।

आँखा स्वास्थ्य अत्यन्तै गम्भीर विषय भएकोले नियमित हेरचाह र सचेतना बढाउनुपर्छ । आर्थिक विपन्न भएकै कारण उपचार नपाएर कोही बञ्चित हुनुपर्ने छैन । हिजोका दिनमा गरिएको अभ्यासका कारण सेवा प्रवाहलाई निरन्तरता दिइने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा आँखा स्वास्थ्यका बारेमा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतम र दाङमा आँखाको समस्याको अवस्था र तथ्याङ्क बारेमा प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी गराएका थिए । स्वागत प्रशासक किरण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी गराएका थिए ।