पेट्रोलियम पदार्थको मुल्य वृद्धि तत्काल फिर्ता लिन नागरिक समाजको माग
घोराही, ७ असार । नागरिक समाज दाङले पेट्रोलिय पदार्थमा भईरहेको अस्वाभाविक मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।
समाजका संयोजक केबी मसालको अध्यक्षतामा आज मंगलबार घोराहीमा बसेको बैठकले दक्षिण एशियामै बितेको २ महिनाको अन्तरालमै नेपालमा ७ पटक उच्च मुल्य वृद्धि गरी उपभोक्ताको ढाड सेक्ने काम भएकाले असहज अवस्थालाई सहज बनाउन पेट्रोलियम पदार्थमा लगाइँदै आएको सबै प्रकारका कर हटाई खुद खरीद मुल्यमै उपलब्ध गराउन नेपाल सरकारसँग अनुरोध गरेको छ ।
यस्तै, खेतीपातीको सिजन शुरु भई सक्दा पनि कृषकले मल, बीउ लगायत कृषि सम्बन्धी अत्यावश्यक सामग्री नपाई रहेको हुँदा कृषि सम्बन्धी सबै प्रकारका सामग्री तत्काल सहज रुपमा पाउने व्यवस्था मिलाउन सरकारसँग माग गर्दै आवश्यक पहलका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण गराउने भएको छ ।
नेपाल संस्कृत विश्व विद्यालय बेलझुण्डीमा लामो समयदेखि तालाबन्दीका कारण पठनपाठनलगायत शैक्षिक कार्यक्रम संचालनमा कठिनाई उत्पन्न भएकाले सम्वद्ध पक्षसँग अबिलम्ब छलफल गरी शैक्षिक गतिविधि सुचारु गर्न ध्यानाकर्षण गराएको छ । मनसुनजन्य विपदका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारी र सचेतनाका लागि सम्वद्ध सबै पक्ष र निकायलाई चनाखो भई काममा जुट्न समाजले अपिल पनि गरेको छ । यस्तै, समाजलाई पारदर्शी र विश्वसनीय बनाउन संस्थागत रुपमा गर्ने कामको जिम्मेवारी पनि बाँडफाँड पनि बैठकले गरेको छ ।
सदस्यता नवीकरण गर्न ६ सय रुपैयाँ वार्षिक शुल्क निर्धारण गर्ने निर्णय पनि बैठकले गरेको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बैठकले संयोजक केबी मसाल र कोषाध्यक्ष हरिलाल विश्वकर्माको संयुक्त हस्ताक्षरबाट बैंक खाता संचालन गर्ने गरी सम्बन्धित बैंकलाई जानकारी गराउने निर्णय पनि गरेको छ । बैठकमा पूर्व संयोजकद्वय चन्द्रराज पन्त, टीकाराम रेग्मी, उपसंयोजक नीमबहादुर थापा, सदस्य सुशील गौतम, शरद गौतम, रामदयाल गुप्ता, हरिप्रसाद पाण्डेय, माधव शर्मालगायत उपस्थित हुनुभएको थियो ।।