Ad Area

वैदिक गुरुकुलका विद्यार्थीलाई दाङ महिला जेसीजको सहयोग


घोराही, ७ असार । दाङ महिला जेसीजले ‘जेसीज सप्ताह–२०२२’ को चौथो दिन बालबालिकाहरुलाई विभिन्न सहयोग सामग्री उपलब्ध गराएको छ । जेसीजले घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित श्री गोरक्ष रत्ननाथ मन्दिर चौघेरामा रहेको वैदिक गुरुकुलमा बस्दै आएका बालबालिकाहरुका लागि शैक्षिक सामग्रीसहित खाद्यान्न सामग्री सहयोग गरेको हो ।

जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा वैदिक गुरुकुलका अध्यक्ष पूर्व मठाधीश जोगी देवनाथको प्रमुख आतिथ्य एवं गुरुकुलका व्यवस्थापक प्रकाश भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी आवासीय रुपमा बस्दै आएका बालबालिकाहरुलाई मसलन्दसहित आलु, भेली, नुन, तेल, चिनी, मसला सहयोग गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि देवनाथले जेसीजले मानवताको धर्मलाई आत्मसात गर्दै सामाजिक कार्यमा जुटेको भन्दै आगामी दिनका कार्यक्रम पनि मानव धर्म केन्द्रित बनाउन आग्रह गर्नुभयो ।

गुरुकुलका व्यवस्थापक भट्टराईले वैदिक गुरुकुल स्थापना गर्दा निकै चुनौति खेप्नु परेको स्मरण गर्दै आवासीय रुपमा बस्दै आएका छात्रछात्राको बसाईसँगै अध्ययनका लागि सबै निकायको पहल हुनुपर्ने बताउनुभयो । नेपाल महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष कल्पना न्यौपानेले संस्कारसहितको शिक्षा अहिलेको आवश्यकता भएको बताउँदै वैदिक गुरुकुलले थालेको महान् अभियानलाई सबैले साथ दिनुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले शैक्षिक जागरणसँगै मानवीय चेतना र जागरणका लागि वैदिक गुरुकुलमा बसेर बालबालिकाहरुले लिँदै आएका असल शिक्षालाई समाजसँग जोड्न आग्रह गर्नुभयो । कार्यक्रममा महिला जेसीजकी पूर्व अध्यक्ष विन्दु गिरी, रिइन्स्टलिङ होप कार्यक्रम संयोजक लक्ष्मण बिष्टलगायतले बोल्नुभएको थियो ।

४० जना बढी सहभागी कार्यक्रममा सप्ताह व्यापी कार्यक्रमका बारेमा मूल संयोजक बसन्ती सुवेदीले प्रकाश पार्नुभएको थियो । कार्यक्रम संयोजक जेसीजकी सहसचिव संगीता रोकायको स्वागत मन्तव्यबाट शुृरुभएको कार्यक्रममा आस्थापाठ एनजीओ आईएनजीओ संयोजक निमा सुनारले गराउनुभएको थियो । सहभागीहरुलाई वैदिक गुरुकुलमा रहेका विद्यार्थीहरुले स्वस्ति वाचन गर्दै स्वागत गरेका थिए ।

महासचिव नारायणी भण्डारीले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन उपाध्यक्ष लक्ष्मी घमालले दिनुभएको थियो । शनिबारबाट शुरु भएको जेसीज सप्ताहको पाँचौँ दिन भोलि बुधबार बिहान घोराही चोकमा ट्राफिक सचेतना कार्यक्रम हुने भएको छ ।।