दाङ महिला जेसीजको ‘स्लो स्कुटी रेस’मा अर्चना शर्मा प्रथम

घोराही, ९ असार । दाङ महिला जेसीजको जेसीज सप्ताह–२०२२ को अवसरमा आयोजित छैठौँ दिन आज बिहीबार स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न भएको छ ।
दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारको प्रमुख आतिथ्यतामा सो घोराही १५ भरतपुर खेल मैदानमा प्रतियोगिता गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी निरिक्षक परियारले सडक अनुशासन र सवारी साधन संचालन गर्दा अपनाउनु पर्ने धैर्यता जस्ता आधारभूत ज्ञान सिकाउन यस प्रकारका कार्यक्रमले भूमिका खेल्ने बताउनुभयो ।
सामाजिक उत्तरदायित्व सहितको कार्यक्रम गर्दै आएको जेसीजले जेसीज सप्ताहमा पनि सचेतनामूलक कार्यक्रमको भन्दै सराहना गर्नुभयो । प्रतियोगिता जीत हारका लागि मात्रै नभई खेल अनुशासन र व्यक्तिको चरित्र निर्माणमा भूमिका खेल्ने हुँदा आगामी दिनमा यस प्रकारका कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच, स्लो स्कुटी रेस प्रतियोगितामा अर्चना शर्मा प्रथम हुनुभएको छ । कुल १५ जनाले सहभागीता जनाएको प्रतियोगितामा दाङ महिला जेसीजकी शाखा सम्पादक शर्मा सबैभन्दा ढिलो दुरी पार गर्दै प्रथम हुनुभयो । यस्तै, जेसीजकी कानूनी सल्लाहकार अनिता ढकाल द्वितीय हुुँदा नारायणपुर उद्योग वाणिज्य संघकी कोषाध्यक्ष रेखा केसी तृतीय हुनुभएको कार्यक्रम संयोजक मेनका भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, प्रथम हुने शर्माले ३१ दशमलव १९ सेकेण्ड, दोश्रो हुनेले ३० सेकेन्ड र तेश्रो हुनेले २९ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभएको थियो । कार्यक्रम संयोजक मेनका भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आस्थापाठ उपाध्यक्ष लक्ष्मी घमालले गराउनुुभएको थियो ।
सो अवसरमा दाङ महिला जेसीजकी निवर्तमान अध्यक्ष ममता बिष्ट, पूर्व अध्यक्ष रेखा शर्मा, त्रिभुवननगर जेसीजका अध्यक्ष विबेक आचार्य, निवर्तमान अध्यक्ष मुकेश्वर शर्मा, लेखक संघ दाङकी कोषाध्यक्ष सन्ध्या रेग्मीलगायतको उपस्थिती रहेको थियो । जेसीज सप्ताहकी मुल संयोजक बसन्ती सुवेदीले सप्ताह व्यापी कार्यक्रमका बारेमा जानकारी गराउँदै दाङ महिला जेसीजको काम र भूमिका बारेमा पनि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष मिना भण्डारी वलीले कार्यक्रम सफल बनाउन भूमिका खेलेको भन्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो । सप्ताह व्यापी कार्यक्रमको अन्तिम कार्यक्रम अब पर्सी शनिबार बिहान ११ बजे घोराही १८ स्थित अम्बिकेश्वरी मन्दिर परिसरमा गर्ने कार्यक्रम तय भएको महासचिव भण्डारीले बताउनुभयो ।