Ad Area

‘साना किसानको जीवनस्तर उकास्न परियोजनाको महत्वपूर्ण भूमिका’


दाङ, १२ असार । ग्रामीण क्षेत्रका साना किसानहरुको आर्थिक जीवनस्तरमाथि उकास्न परियोजनाले महत्वपूर्ण भूमिका खेलेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भएको ‘पशुबस्तुको मूल्यश्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना’ले पेशालाई व्यावसायिक बनाउँदै आर्थिकरुपमा सक्षम बनाउन किसानहरुलाई ठूलो सहयोग खेलेको बताएका हुन् ।

परियोजना अनुगमन तथा समन्वय समितिको शनिवार घोराहीमा बसेको बैठकमा बोल्ने बक्ताहरुले परियोजनाले चार बर्षको अवधिमा ग्रामीण क्षेत्रका किसानहरुको सोचमा परिवर्तन गर्नेदेखि कृषि व्यवसायलाई व्यावसायिक बनाउन तालिम, प्राविधिक सहयोगदेखि उत्पादन भएका पशुजन्य बस्तुको बजारीकरणसम्म सहयोग गर्दै आएको बताएका थिए । त्यसका लागि परियोजनाले किसानलाई संगठित गरेर तालिम दिने, प्राविधिक ज्ञान, उपकरणसँगै उत्पादन भएको बस्तुको बिक्रीलगायतका सहयोगका कामहरु चार बर्षको अवधिमा गरेको बैठकमा कार्यक्रम संयोजक भीमकान्त चौधरीले जानकारी गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले परियोजनाले जनतालाई समूहमा जम्मा गर्नेदेखि संगठित भएर कृषि व्यवसायमा लाग्न समेत सहयोग गरेको बताएका थिए । जनताका लागि सरकारले गर्ने काम संस्थाले गरेर महत्वपूर्ण काम गरेको भन्दै आगामी दिनहरुमा समेत सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

त्यसैगरी उपप्रमुख हुमा डिसीले आर्थिक समृद्धिका लागि कृषि पेशालाई व्यावसायिक बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि संस्थाले सहयोग गरेको बताएकी थिइन् । साथै उनले यस्ता कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत सञ्चालन गर्न आवश्यक रहेको बताएकी थिइन् ।

परियोजना सन् २०१८ अप्रिल १६ गतेदेखि २०२३ जुन ३० सम्म दाङ, सल्यान र प्युठानका पाँच वटा स्थानीय तहमा काम गरेको थियो । जसअन्तर्गत दाङका घोराही उपमहानगरपालिका र लमही नगरपालिका, प्युठानको सरुमारानी गाउँपालिका र स्वर्गद्वारी नगरपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा परियोजना लागू भएको थियो ।

घोराही उपमहानगरपालिका नगर प्रमुख समेत रहेका परियोजना अनुगमन तथा समन्वय समितिका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका–१३ का वडा अध्यक्ष डल्लुराम पोख्रेल, वडा सदस्य रामकली घर्ती, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, नागरिक समाजका निवर्तमान संयोजक चन्द्रराज पन्तलगायतले मन्तव्य व्यक्त गरेका थिए । बैठकमा परियोजनाले गरेका कार्यको बारेमा ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक अध्यक्ष आशामानी चौधरीले जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण परियोजनाकी पार्वती बस्नेतले गरेकी थिइन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad