Ad Area

के फुर्तिराम यादव गुल्जारका पनाति होईनन् र ?


दाङ, ३१ असोज ।
नामले फुर्तिराम, उनमा भएको फुर्ति जति न्यायका लागि अड्डा अदालत, प्रशासन धाउनमा लगाउनु परेको छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ३ भैँसहवाका फुर्तिराम यादव आफु जिजु बाजेको पनाती भएको प्रमाणित गर्नलाई भौतारिनुपरेको हो ।

स्थानीय सरकारले एकापरिवारको सदस्य नरहेको नाता प्रमाणित सिफारिस गरिदिएपछि वडा कार्यालयले २०७७ पुस १७ गते दिएको सिफारिसमा फुर्तिरामका बुवा भगवति अहिरलाई जिजु बाजे गुल्जार अहिरको नाति नभएको गलत सिफारिस गरिदिएपछि नाता प्रमाणित गराउन दिनरात सम्बन्धित कार्यालय धाउनु परेको छ ।

फुर्तिरामले नाता प्रमाणितका लागि पहल गरिदिन प्रशासन कार्यालयदेखि राजनीतिक दलका प्रनिनिधि सबैलाई भेट गरि सकेका छन् । सबैले हुन्छ काम बन्छ भन्छन् तर कागजमा हुन सकेको छैन, खाली उधारो आश्वासन दिने काम भएको छ, फुर्तिरामले भने, ‘जिजु बाजेको पनाति हुँ भन्ने कुरा सबैलाई थाहा छ तर कागजमा अन्याय गर्दा म आफ्नो परिवारबाट अलग हुन पुगेको छु, न्यायको लागि पहल गरिदिन म सबैमा याचना गर्दछु ।’उनले भने ।

नाता प्रमाणितका लागि प्रशासन, अड्डा अदालत धाउन लागेको करिव डेढ वर्षभन्दा धेरै भईसक्यो । न्याय पाउने आशामा दौडधुप गर्दागर्दै उनको चप्पल खिईसके तर न्याय पाउने कहिले हो अत्तोपत्तो छैन । आफ्नै भाइ गोत्यारहरुको बीचमा चलेको पैतृक जग्गा अंशमा आफु वडा कार्यालयले गलत सिफारिस गर्दा अन्यायमा परेको भन्दै फूर्तिरामले प्रमुख जिल्ला अधिकारी, जिल्लाका न्यायाधीश, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवि, पत्रकार सबैलाई भेटिसकेका छन् । ती सबै भेट उधारो भएका छन् ।

‘भोको पेट, खाली खुट्टा न्यायका लागि राप्ती पारीबाट अड्डा धाउन थालेको धेरै भयो, न्याय पाउने आशाखा दौड्दा दौड्दै आफुसँग भएको १ लाखभन्दा धेरै खर्च भईसक्यो काम हुन सकेको छैन, म अन्यायमा परेको सबैले भन्नुहुन्छ तर, खै कहिले पाउँछु न्याय ? फुर्तिरामले भने,’ सिडिओ सापले पनि मेरो कुरा गम्भीर रुपमा लिएको छु भन्नुहुन्छ, वडामा जाऊ मैले सिफारिस दिन भनेको छु भन्नुहुन्छ जाँदा वडाध्यक्ष रामछोरे यादवले आलटाल गरेर त्यसै फर्काउनुहुन्छ,’ फुर्तिरामले भने । उनका भाइ गोत्यारले जिजु बाजेको नाममा रहेको जग्गा जालसाजी गरेर मिलेमतोमा नाति पुस्ताले आफ्नो नाममा गराए । तर, फूर्तिरामका बुवाको नाममा जग्गाको अंश आएन । जसले गर्दा फुर्तिरामका ४ भाइ पैतृक सम्पत्ति पाउनबाट वञ्चित भएका छन् । अंशको विषयले यो समस्या भएको बुझिएको छ ।

२०५६ सालमा बाजेको सम्पत्ति फूर्तिरामका बुवा भगवती अहिर बाहेकका नातिले जालसाजी गरि ४० हजार रुपैयाँको थैली बनाएर खरीद गरेको देखाएर सम्पत्ति हड्पेको भगवतीका छोराहरुको दुखेसो छ ।
गुल्जारका ३ भाइ छोरा मध्ये गंगाराम माइला छोरा हुन् । उनका छोरा भगवति हुनु भने उनका ४ भाइ छोरा मध्ये फुर्तिराम कान्छो भाइ हुन् । जेठो बहादुर अहिर, माईला मिन्तिराम अहिर, साईलो बाबुराम अहिर हुन् । गुल्जारका ३ छोराहरुमध्ये बक्सी अहिरले जालसाजी गरी दुई भाई रामप्रसाद र गंगारामलाई जग्गा नदिएर एक्लै राखेको जग्गाको लालपूर्जा र अन्य प्रमाणले देखाएको छ । ‘त्यो समयमा सगोलमा बस्दा अंशको खासै महत्व भएन, ललाईफकाई बक्सीले आफ्नो नाममा सबै जग्गा बनाएका रहेछन्, बुवाहरुलाई थाहा भएन अहिले हामी सडकमा आउनु परेको छ,’ फुर्तिरामले भने ।

Blog Post Ad

थातथलो रहेको राजपुर गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयले नियमपूर्वक पाउनुपर्ने नाता प्रमाणित सिफारिस पनि गलत गरिदिएपछि थप समस्या भएको छ भने राजपुर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रामछोरे यादवले सोही वडा निवासी फुर्तिराम यादवलाई नाता प्रमाणित गरिदिएका छैनन् । वडा कार्यालयले गत वर्षको पुस १५ गते दिएको सिफारिसमा फुर्तिरामका बुवा भगवती अहिरलाई गंगारामको छोरा नभएको उल्लेख गरि सम्पत्तिको अंशियार पनि नभएको उल्लेख गरिएको छ ।

तर, अघिल्लो वर्ष २०७६ माघ १७ गते फुर्तिरामका बुवा भगवति अहिरको मृत्यु दर्ता प्रमाण पत्र जारी गर्दा सोही वडा कार्यालयले गुल्जार अहिरका छोरा भगवति अहिर रहेको प्रष्ट प्रमाण दिएको छ । एउटै वडा कार्यालयले एकै परिावारको सदस्यलाई पहिले बाबु छोरा हुन् भनेको त्यसको एक वर्षपछि दिएको नाता प्रमाणित सिफारिसमा भगवति अहिर गुल्जारको कुनै हकवाला नभएको सिफारिस गरेको छ ।

यसअघि, फुर्तिरामका बुवा भगवती अहिरले १० जना छोराहरुका विरुद्ध २०७६ सालमा १४ विगाहा जग्गामा अंश मुद्दा दर्ता गरेका थिए। तर, तारेख बोक्दा बोक्दै उनको गत पुस २४ गते निधन भयो । बुवाको निधनपश्चात फुर्तिराम आफै तारेख बोक्दै अड्डा धाएका छन् । खासमा गुल्जार अहिरका तीन छोराहरुमा जेठो प्रसाद अहिर, माइलो गंगाराम अहिर र कान्छो बक्सी अहिर हुन् ।

यीमध्ये गंगाराम अहिर र बक्सी अहिर सगोलमा बसेका तथा जग्गा नापी हुँदा बक्सी अहिरको नाममा मात्रै जग्गा नापी भएपछि आफूहरुले जग्गाको अधिकार नपाएको भन्दै छोरा भगवती अहिरले अदालतमा मुद्दा दर्ता गरेका थिए । बुवाले दर्ता गरेको अंश मुद्दा फुर्तीरामले अघि बढाएका छन् । नापी नहुँदैको अवस्थामा जिजु बाजे गुल्जार अहिरको नाममा करिब १४ विगाह जग्गा थियो। जिजु बाजेको मृत्युपछि जेठा बाजे प्रसाद अहिर छुट्टीएर अलग बसे । माईला बाजे गंगाराम अहिर र कान्छा बाजे बक्सी अहिर सगोलमा रहेको फुर्तीराम यादवको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता निवेदनमा पनि पहिलो पटकको नापीपछि जग्गाको नापी गर्दा जेठा बाजप्रसाद अहिरको नाममा दुई विगाहा, माईला गंगाराम अहिर र कान्छा बक्सी अहिरको हकमा जग्गा बक्सी अहिरको नाममा दर्ता गरिएको उल्लेख छ । गंगा अहिर जग्गा दर्ताको समयमा घरमा नभएको बेला सहमतिमा बक्सी अहिरको नाममा दर्ता गरिएको दाबी फुर्तीरामको छ । पछि, बक्सि अहिरका छोराहरुले तिम्रो बुवा भगवतीको नाममा जग्गा नापी भएको छैन भनेर सगोलको जग्गाको अधिकार दिन आनकानी गरेपछि अंश मुद्दा दर्ता गर्नु परेको फुर्तिरामको भनाई छ ।

जग्गा अंश मुद्दाको विपक्षी बनाईएकाहरुले फुर्तीरामसँग कुनै नाता सम्बन्ध नरहेको बताएपछि अदालतले नाताप्रमाण मागेपछि समस्या भएको छ । नाता प्रमाणित गर्ने अधिकार स्थानीय सरकारलाई छ । स्थानीय सरकार सञ्चालन ऐन २०७२ मा सिफारिस तथा प्रमाणितको अधिकारमा नाता प्रमाणित गर्ने कार्यलाई पहिलो नम्बरमा समेत राखिएको छ । तर, नाता प्रमाण जुटाउन वडा कार्यालय पुगेका फुर्तीरामलाई वडाध्यक्ष रामछोरे यादवले जीजुबुवादेखि नाता खुलाएर प्रमाण दिन नसक्ने भनेर फर्काएको बताए ।

फुर्तिरामले दर्ता गरेको निवेदनका आधारमा नियमअनुसार सिफारिस दिन जिल्ला प्रशासन कार्यालय दाङले साउन ७ गते वडा कार्यालयको नाममा पत्र पनि काटेको थियो । नाता प्रमाणित गर्न के कति कारणले समस्या परेको हो? नाता प्रमाणित गर्न परेका कठिनाई सहजीकरण गर्न वडा अध्यक्ष यादवलाई प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले आग्रह गर्दै आएका छन् । नाता प्रमाणित गर्न कुनै समस्या भए गाउँ टोलका स्थानीयहरुबाट सर्जमिन उठाउन प्रमुख जिल्ला अधिकारीको सुझाव छ । सर्जिमिनको आधारमा नाता प्रमाणित गर्न सकिने प्रजिअ कुरुम्बाङले बताएपनि वडा कार्यालयले कानमा तेल हालेर बसिदिँदा न्याय नपाएरै मरिने होकी भन्ने चिन्ताले सताउन थालेको फुर्तिरामको भनाई छ ।

उसो त प्रमुख जिल्ला अधिकारीले आफुले जानेसम्म लागेसम्म गरेका हुन् । तर, स्थानीय सरकारका जनप्रनिधिलाई कानूनी कारवाही गर्ने अख्तियारी प्रशासनमा नभएकाले आफुलाई एक्सन लिन समस्या भएको प्रमुख जिल्ला अधिकारीले बताए ।

वडाअध्यक्षको भूमिका राम्रो नभएको गुनासो गरेका फुर्तिरामले वडाअध्यक्षसहित धेरै मान्छेको मिलेमतो रहेको दाबी गर्दै आएका छन् । ‘१४ बिघा जमिन छ, हामीलाई कत्ति पनि मिलेको छैन, हामी दाजुभाइ सित ७ बिघाको अधिकार हो । यसमा धेरै मान्छेको मिलेमतो हुन सक्छ, त्यही भएर पनि मलाई सोझो देखेर जेरी घुमाए जस्तै घुमाई राख्नुभएको छ,’ फुर्तिरामले भने ।

‘दर्जनौं पटक यसैको लागि वडा कार्यालय पुगेँ । त्यति टाढाको दुर्गम ठाउँ बाट भाडा खर्च गरेर सिडिओ साबलाई पनि धेरै पटक भेटिसकेँ । हुन्न कसैले भन्दैन । तर काम हुँदैन । यही चक्कर गोल गोल बनाएर मलाई भुमाई रहनु भएको छ, घुमिरहेको छु, ।

Blog Post Ad Blog Post Ad