Ad Area

सहमति कार्यान्वयन नगरी टिपर चलाएको भन्दै स्थानीयको अवरोध


घोराही, १३ असार । सोनापुर सिमेन्ट उद्योग र स्वर्गद्वारी टिपर समितिले चुनढुंगा ढुवानी गर्न जबरजस्ती टिपर चलाउन खोजेको भन्दै प्रभावित क्षेत्रका नागरिकले अवरोध गरेका छन् ।
पटक–पटकको आन्दोलनपछि टिपर सञ्चालन बन्द भएपनि सोनापुर सिमेन्टले बंगलाचुली–१ मा नयाँ खानीमा जबर्जस्ती टिपर चलाउन खोजेको भन्दै स्थानीयबासीले आज सोमबार बिहानैदेखि टिपर चलाउन रोक लगाउँदै सकडमै उत्रिएका छन् ।

स्थानीयबासीसँग कुनै सल्लाह नगरी जबर्जस्ती टिप्पर चलाउन थालिएपछि स्वस्फूर्तरुपमा आफुहरु आन्दोलित बन्नु परेको स्थानीयबासीको भनाई छ । घोराही १८ सिस्ने खोला पुलमा अहिले स्थानीयबासी, टिपर चालक र प्रहरीको बाक्लो उपस्थिती छ । प्रहरीले बाटो खुलाउन प्रयास गरेको छ भने स्थानीयले विगतका सहमति कार्यान्वयन नहुँदासम्म टिपर चलाउन नदिने अडान राखेका छन् ।

मदन भण्डारी मार्ग अन्तर्गत घोराही–बंगलाचुली सडक खण्डमा चल्ने टिपरले सडक जीर्ण बनाउनुका साथै वातावरण नै प्रभावित पार्ने गरी असहज अवस्था बनाएपछि यसअघि पटक–पटक गरिएको आन्दोलनको जगमा भएको सहमति कार्यान्वन नगर्दै फेरी टिपर चलाउन थालिएको भन्दै आफुहरु आन्दोलनमा उत्रिनु परेको घोराही मुर्कुटी सडक तथा सिमेन्ट उद्योग प्रभावित सरोकार समिति संयोजक नारदमणि पोख्रेलले जानकारी दिनुभयो । सो क्षेत्रमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिती रहेको छ ।

बंगलाचुली गाउँपालिका वडा नम्बर १ ले एकलौटी निर्णय गर्दै बोझपोखराको राताडाँडाबाट चुनढुंगा निकासीका लागि हिजो आईतबार निर्णय गरेपछि प्रहरीको स्कर्टिङमा ३ दर्जनबढी टिपर खानी क्षेत्र जाँदै थिए । स्थानीयले विगतको सहमति र सम्झौता अनुसार काम गर्न र सोनापुर सिमेन्टले सो बाटो प्रयोग गर्न पाएको अनुमति पनि देखाउन माग गरेका छन् ।

बंगलाचुली गाउँपालिकाको बोझपोखरा खानी सञ्चालनमा ल्याउन लनगिएको भन्दै बोझपोखरा, पुरुङ, हर्नकलगायतका बासिन्दा आक्रोशित भएका छन् । कालीमाटीदेखि ट्याङखोलासम्मको सडक साँघुरो रहेको, सडकभन्दा तल र माथिका घरहरु असुरक्षित रहेको र धुलो धुवाँको खतरा रहेकाले उचित व्यवस्थापन नगरी टिपर सञ्चालन गर्न नहुने स्थानीयले अडान राखेका छन् ।

लामो समयदेखि घोराही सिमेन्ट उद्योगले तापा खानीबाट ढुंगा ल्याउँदा सडक तहसनहस हुनुका साथै स्थानीयबासीको जनजीवन प्रभावित भएको छ । फेरी अर्को खानी चलाउन लागिएको भन्दै स्थानीय थप सशंकित भएका छन् । घोराही–बंगलाचुली सडक तथा सिमेन्ट उद्योग प्रभावित सरोकार समितिले विगतका सहमति कार्यान्वयन नहुँदासम्म टिप्पर सञ्चालन गर्न नदिने समितिका अध्यक्ष पोख्रेलले बताउनुभयो ।

Blog Post Ad

यसअघि असार ७ गते सोनापुर सिमेन्टका केही टिपर जबर्जस्ती चलाउन खोजेकाले उक्त कार्यको विरोध गर्दै सरोकार समितिसँग जिल्ला प्रशासन, बंगलाचुली गाउँपालिका र घोराहीका वडाहरुबीच विगतमा सहमति कार्यान्वयन नगर्दै कुनै पनि हालतमा टिप्पर सञ्चालन गर्न नदिने अडानमा आफुहरु रहेको उहाँको भनाई छ ।

नेपालको संविधानले नागरिकको मौलिक हकमा ग्यारेन्टी गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित नहुँदै टिपर सञ्चालनमा जबर्जस्ती नगर्न पनि स्थानीयले आग्रह गरेका छन् । सडक प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिसहित झण्डै एक सयौँ स्थानीयबासीको अहिले सो क्षेत्रमा उपस्थिती रहेको छ ।

Blog Post Ad Blog Post Ad