Ad Area

परियोजनाले समुदायमा खेलेको भूमिकाको उच्च मुल्यांकन


घोराही, १३ असार । बितेको पाँच वर्षमा नागरिक समाजः पारस्परिक जवाफदेहिता परियोजनाले समुदायमा खेलेको भूमिकालाई जनप्रतिनिधिहरुले उच्च मुल्यांकन गरेका छन् ।

ग्रामीण महिला उत्थान केन्द्रसँगको सहकार्यमा सन् २०१७ देखि सुशासन, शिक्षा, स्वास्थ्य, विपद, कृषि क्षेत्रमा काम गर्दै आएको परियोजना समापनका अवसरमा लक्षित क्षेत्रमा गरिएको कामले समाजमा ठूलो परिवर्तन आएको जनप्रतिनिधिहरुले बताउनुभएको हो । ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले प्रमुख आतिथ्यतामा सोमबार घोराहीमा भएको कार्यक्रममा परियोजनाले साझेदारी मञ्च, रेडियो श्रोता क्लब, स्थानीय सभा, हेड कोलिशन, च्याम्पियन गरि पाँच वटा विषयगत रुपमा काम गर्दै आएको हुँदा यसबाट धेरैले व्यक्तित्व विकासमात्रै नभई आर्थिक, सामाजिक जीवनमा उपलब्धी हासिल गर्न सफल भएको अनुभव सुनाउनुभयो ।

स्थानीय सरकारलाई पारदर्शी बनाउने, नागरिकको सेवा प्रवाह छिटोछरितो बनाउने, सुशासनका लागि जवाफदेही बनाउनेलगायतका काम गर्दै जिम्मेवार स्थानीय सरकार बनाउन भूमिका खेलेको बताउनुभयो । यस्तै, कृषि क्षेत्रमा लाग्न युवाहरुलाई प्रेरित गर्नुका साथै कृषि सम्बन्धी प्राविधिक ज्ञान र सहयोग दिने, व्यावसायिक रुपमा कृषि क्षेत्रमा लाग्न तथा वित्तीय साक्षरताका कुरा पनि परियोजनाले सिकाएको उनीहरुको भनाई छ । स्वास्थ्य क्षेत्रमा पनि विभिन्न स्वास्थ्य सचेतना प्रदान गर्नेदेखि कोरोना महामारीका बेलामा पालिकाहरुलाई कोरोना व्यवस्थापनका लागि सहयोग गर्ने काम गरेकाले जोखिम न्यूनीकरणमा टेवा पुगेको उनीहरुको धारणा थियो ।

यस्तै, विपदका क्षेत्रमा पनि परियोजनामार्फत समुदायमा सचेतना फैलाउने, जोखिमबाट बच्न अपनाउनु पर्ने विषयमा जानकारी प्रदान गर्ने काम गरेकाले यसले सिकाएको असल अभ्यासलाई अब स्थानीय सरकारले समुदाय स्तरमा निरन्तर लागु गर्न सुझाव समेत दिइएको छ । जिल्लाको घोराहीमा लागु गरिएको यो परियोजना सन् २०१७ मार्च देखि २०२२ जुनसम्म कार्यान्वयन गरिएको हो ।

घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेले परियोजनाले नागरिकलाई सकारात्मक विचार दिनुका साथै जिम्मेवार बनाउन सिकाएको बताउनुभयो । उहाँले खाना होईन थाल दिन्छौं, माछा होईन जाल दिन्छौं भने जस्तै उद्यमशील बन्न, जिम्मेवार बन्न र गतिशील बन्न सिकाएको बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ४ की रेडियो श्रोता समुह सहजकर्ता एवं वडा सदस्य रमला चौधरीले परियोजनामार्फत व्यक्तित्व विकास सम्बन्धी थुप्रै ज्ञान हासिल गरेको बताउनुभयो ।

वडा नम्बर २ का स्थानीय सभाका अध्यक्ष जयन्द्र चौधरीले स्थानीय सरकारले गर्न नसकेको थुप्रै काम ग्रामीण महिला उत्थान केन्द्रमार्फत संचालित परियोजनाले गरेको भन्दै यस प्रकारका परियोजना निरन्तर रुपमा संचालन हुनुपर्ने बताउनुभयो । लक्ष्मीपुर स्थानीय सभाका स्वास्थ्य संयोजक दिलबहादुर घर्तीले नागरिकमा सचेतना फैलाउने मात्रै नभई केही गर्नुपर्छ भन्ने भावनाको विकास गराउन परियोजनाले साथ दिएको बताउनुभयो ।

आम नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध बलियो बनाउने मात्रै नभई नागरिकलाई काम प्रति जागरुक बनाउने तथा स्थानीय सरकारलाई जवाफदेही बनाउने काम परियोजनाले गरेको नागरिक समुहका सदस्य एवं नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्तले बताउनुभयो । कुनै पनि परियोजना आवधिक हुने भएकाले त्यसको उद्देश्य अनुरुप गरिएको कामको लाभ उठाउँदै आगामी दिनमा पनि सिकेको असल अभ्यासलाई निरन्तरता दिँदै समृद्ध समाज निर्माणमा अघि बढ्नु पर्ने उहाँको धारणा थियो । उहाँले ग्रामीण महिला उत्थान केन्द्रलाई आगामी दिनमा फेरी पनि यस प्रकारका परियोजनामार्फत समाजमा जागरुकता ल्याउने काममा जुट्न अपिल पनि गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख चौधरीले परियोजनाले गरेको कामबाट धेरैले ज्ञान आर्जन गर्नुका साथै सिकेको सीपलाई व्यहारमा उतार्दै लगेको हुँदा पालिकाले पनि कृषिलगायतका क्षेत्रमा लागेकाहरुका लागि सहयोग गर्ने नीति बनाएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, सामाजिक रुपान्तरणका लागि महिला मञ्चकि सचिव सुशीला आचार्य, संस्थाकै पूर्व कर्मचारी रजनी श्रेष्ठ, कल्पना चौधरीलगायत बोल्नुभएको थियो ।

परियोजनाका संयोजक एचबी थापाले नागरिक समाजः पारस्परिक जवाफदेहीता परियोजनाले पाँच वर्षमा गरेका काम, उपलब्धी र सिकेका कुराहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण परियोजनाकी पैरवी अधिकृत शिवा चौधरीले गर्नुभएको थियो ।