Ad Area

बंगलाचुली गाउँपालिकाले भन्यो- ‘सहमति कार्यान्वयन नगरी टिपर चल्न दिन्नौँ’


घोराही, १५ असार । विभिन्न सिमेन्ट उद्योगको लागि आवश्यक चुनढुङ्गा उत्खनन् तथा ढुवानीका विषयमा भएको पछिल्लो घटनाक्रमहरु बंगलाचुली गाउँपालिकाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सिमेन्ट उद्योगहरुले बंगलाचुली गाउँपालिकामा विभिन्न मितिमा गरेका निर्णय तथा जिल्ला प्रशासन कार्यालय घोराही दाङमा गत चैत्र १ गते सिमेन्ट उद्योगका प्रतिनिधिहरुसहित बसेको बैठकमा भएका निर्णय कार्यान्वयन नगरी फेरी पुरानै अवस्थाबाट चुनढुंगा बोक्ने टिपर चलाउन थालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

गाउँपालिका अध्यक्ष तुलसीराम पुन र उपाध्यक्ष भक्तबहादुर जिसीले आज एक विज्ञप्ति जारी गर्दै मदन भण्डारी मार्गको तापा चोकदेखि खानी सम्म जोड्ने ४ कि.मि. पहुँच मार्ग सिमेन्ट उद्योगले फुटपाथ सहित कालोपत्रे गर्ने कार्य छिटोभन्दा छिटो सम्पन्न गर्ने, बंगलाचुली गाउँपालिकाले सिफारिस गरेका आधारमा घोराही बंगलाचुली सडकका अत्यावश्यक स्थान मध्ये बढिमा ६ सय मिटर सडक कालोपत्रे गर्ने, सिमेन्ट उद्योगले धुलो नियन्त्रका लागि अन्य आवश्यक उपायहरु अबलम्बन गर्ने, यस अघि भएका सम्झौताहरुको तत्काल कार्यान्वयन गर्ने साथै घोराही मुर्कुटी सडक खण्ड मर्मत गर्ने विषयमा पटक पटक भएको सहमती कार्यान्वयन गर्ने निर्णय बमोजिम कतिपय कामहरु भईरहेको तर धेरै विषयहरु अझै पुरा नभएकोले खानी संचालन नहुनुमा पालिका भन्दा उद्योगहरु स्वयम् जिम्मेवार रहेको स्मरण गराउँदै सहमति कार्यान्वयनमा प्राथमिकता दिन सचेत गराउनुभएको छ ।

गाउँपालिकाले उद्योगको लागि बैकल्पिक मार्गको विषयमा गम्भिरता पूर्वक कामहरु अगाडी बढाईरहेको जानकारी गराउँदै यही जेठ २५ गते उद्योगका प्रतिनिधिहरुसहित बसेको सर्वदलिय, सर्वपक्षिय भेलाले उद्योगले गरेका प्रतिवद्धताहरु तत्काल पुरा गर्नुपर्ने निर्णय भएको स्मरण गराउँदै बंगलाचुली गाउँपालिकासंग सम्पर्क र समन्वय नै नगरी बलजफ्तीरुपमा खानी संचालन गर्नु उचित नहुने भन्दै टिपर संचालनमा रोक लगाएको छ ।

मंगलबार मात्रै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले बुधबारबाट खानी क्षेत्रमा टिर चलाउन दिने सहमति गरेको थियो । बंगलाचुली–१ मा नयाँ खानीमा जबर्जस्ती टिपर चलाउन खोजेको भन्दै स्थानीयबासीले टिपर चलाउन रोक लगाउँदै सकडमै उत्रिएपछि जिल्ला प्रशासनमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सहमति गर्दै चुनढुंगा बोक्ने टिपर बुधबारबाट चलाउन दिने निर्णय गरेको थियो ।

Blog Post Ad

प्रमुख जिल्ला अधिकारी रेग्मीको अध्यक्षतामा बसेको बैठकले जुम्लेपानीसम्मको सडकलाई घोराही सिमेन्ट उद्योग प्रा.लि, सोनापुर सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने टिपर चलाउन दिने लिखित निर्णय भएको थियो । उक्त कार्यका लागि अनुगमन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको थियो । जसको सदस्यमा वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुदन शर्मा, रामलौटन चौधरी, भिमबहादुर कंवर योगी, रविलाल घर्ती, डोमाकान्त शर्मा, सिमेन्ट उद्योगका प्रतिनिधि हरि पाठक, घोराही–बंगलाचुली सडक तथा सिमेन्ट उद्योग प्रभावित सरोकार समितिका तर्फबाट नारदमणी पोख्रेल, टिपर समितिका तर्फबाट भरतनाथ योगी बनाएको छ ।

सर्वदलीय बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी, नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, घोराही नगर अध्यक्ष भुवन चौधरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाल, सिमेन्ट उद्योगका प्रतिनिधि, स्थानीय वडाबासीलगायतले हस्ताक्षर गर्नुभएको छ । तर, उक्त सहमति बंगलाचुली गाउँपालिकाले नमान्ने पनि स्पष्ट पारेको छ ।

Blog Post Ad Blog Post Ad