Ad Area

वृहत यौनिकता शिक्षा मानव जीवन चिनाउने बलियो आधार


घोराही, १५ असार । नेपाल परिवार नियोजन संघकी केन्द्रिय उपाध्यक्ष निर्मला गौतमले वृहत यौनिकता शिक्षा मानव जीवनमा असल आचरण स्थापित गर्ने बलियो आधार रहेको बताउनु भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरको सहकार्यमा नेपाल परिवार नियोजन संघ दाङको आयोजनामा रुकुम–पूर्वका शिक्षकहरूका लागि संचालित पाँच दिने वृहत यौनिकता शिक्षा सम्बन्धी तालिमको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले व्यक्तिको पहिचानसँग जोडिएको विषय भएकाले मानव विकास सूचकांकमा सुधार ल्याउन यसको व्यापकता बारे सबै तहमा सचेतना फैलाउनु पर्ने बताउनुभयो ।

‘हामीले धेरै कुरामा विशेष ध्यान दिएर काम गर्छौँ तर यौन तथा प्रजनन् स्वास्थ्यलाई कम महत्व दिन्छौँ, अर्थात यसलाई सार्वजनिक महत्वमा राख्दैनौँ त्यसका कारण यसको आयामका बारेमा नबुझ्दा अनेकन समस्या निम्तने गर्दछ,’ उहाँले भन्नुभयो, ‘वृहत यौनिकता शिक्षाका बारेमा किशोरकिशोरीहरुलाई मात्रै होईन समाजका हरेक व्यक्तिलाई सचेत गराउन जरुरी छ ।’

नेपाल परिवार नियोजन दाङ शाखा सचिव माया पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गौतमले बालबालिकाहरुलाई यौनिकता शिक्षा प्रभावकारी रुपमा दिन पाठ्यक्रममा पनि धेरै कुरा समावेश भएपनि यसको सही शिक्षा दिने काममा शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने भन्दै आफुले आफुलाई चिन्ने व्यक्ति बनाउने अभियानमा शिक्षक नै बलियो आधार रहेको बताउनुभयो । उहाँले पाँच दिनसम्म सिकेको सीपलाई कार्यस्थलमा प्रभावकारी रुपमा लगाउन आग्रह गर्नुभयो । समाजमा अहिले पनि खुल्न नसक्ने यौन शिक्षाका बारेमा शिक्षकहरुले सचेत बनाउन सके धेरै खालका विकृति, विसंगति तथा अपराधका घटनामा कमी आउने मात्रै होईन, सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो ।

‘शिक्षक भनेको पथप्रदर्शक हो, शिक्षाको ज्योति फैलाउने आधार भएकाले तपाईँहरुले दिने शिक्षाबाट बालबालिकाहरुले ज्ञान आर्जन गर्ने हुँदा वृहत यौनिकता शिक्षाका बारेमा जानेको कुरालाई खुलेरै सिकाउने गर्नुहोला,’ उहाँले भन्नुभयो, दुर्गमका बालबालिकाहरु स्वस्थ होऊन, उनीहरुको भविष्य स्वस्थ बनोस् भन्ने हामी सबैको चाहना हो ।’

समाजले शिक्षकहरुलाई विश्वास गर्ने भएकाले वृहत यौनिक शिक्षाका बारेमा विद्यालयदेखि बालबालिकाहरुलाई दिने शिक्षा प्रभावकारी हुने भएकाले स्थानीय तहले पनि यो विषयलाई गम्भीर रुपमा लिुनपर्ने बताउनुभयो । सो अवसरमा प्रशिक्षार्थी शिक्षकहरुले तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गर्दै स्वस्थ समाज निर्माणका लागि अग्रसर हुने बताउनुभएको छ ।

प्रशिक्षार्थी शिक्षकहरुले पाँच दिने सिकाईले वृहत यौनिकता शिक्षाका बारेमा धेरै कुराको ज्ञानआर्जन गरेको बताउनुभयो । शनिवारदेखि शुरु भएको तालिम बुधबारसम्म चलेको थियो । जसमा रुकुम–पूर्वका विभिन्न १७ विद्यालयबाट २८ जना शिक्षक सहभागी रहेका थिए । तालिमको प्रशिक्षकमा डा. भगवान अर्याल, अनुप अधिकारी, बसन्त खनाल, नारायणी त्रिपाठी, रेणु यादव, खुमानन्द सुवेदी रहनुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले गर्नुभएको थियो ।

परिवार नियोजन संघले पछिल्लो समय दुर्गम क्षेत्रमा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै वृहत यौनिकता शिक्षाका बारेमा वृहत रूपमा सचेतना अभियान गर्दै आएको छ ।