Ad Area

प्रतिष्ठानको पोषण पुनर्स्थापना गृहबाट ४२ जनाको उपचार, क्षमता बढाउने तयारी


घोराही, १५, असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले पोषण पुनर्स्थापना गृहबाट ४२ जना कुपोषित विरामीलाई उपचार सेवा दिएको छ । २०७५ असार मसान्तमा नेपाल युथ फाउन्डेसनले हस्तान्तरण गरेपश्चात संचालनमा ल्याउने प्रयास गरिएपनि गत वर्षको पुस १ गतेबाट विधिवत रुपमा संचालनमा ल्याईएको पोषण पुनर्स्थापना गृहबाट साविक राप्तीका दाङ, सल्यान, प्यूठान, रोल्पा र रुकुमका कुपोषित बिरामीको उपचार गरिएको आज आयोजित समिक्षा गोष्ठीमा जानकारी गराइएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको अध्यक्षतामा भएको समीक्षा गोष्ठीमा पोषण अधिकृत सर्जु बरालले हाल ६ बेडबाट सेवा प्रदान गर्दैको जानकारी गराउँदै हालसम्म ४२ जना भर्ना भएकोमा ३६ डिस्चार्ज भएको र ६ जना उपचाररत रहँदा १ जनालाई भने रिफर गरिएको बताउनुभयो । उहाँका अनुसार, २०७८ को पुसमा १, माघमा १, फागुनमा ७, चैतमा ८, बैशाखमा १०, जेठमा ८ असारको १४ गतेसम्म ७ जना गरि ४२ जना भर्ना भएकोमा उपचारपछि ३६ जना डिस्चार्ज भएका छन् ।

उपचारका लागि आउने बिरामीहरुलाई पोषण सुरक्षासहित आहार, औषधी, उपचार निशुल्क, जाँच परिक्षण, चिकित्सकको निर्देशन अनुसार औषधी पनि हुने गरेको बताइएको छ । उपचारका लागि सबैभन्दा सल्यानबाट कुपोषित बिरामी आउने गरेको जानकारी समेत गराइएको छ ।
सो अवसरमा उपकुलपति डा. लामिछानेले केन्द्रको मात्रै बजेटले उपचार सेवा सम्भव नहुने भन्दै सकेसम्म कुपोषण हुनै नदिने गरी समुदाय स्तरमा सचेतना बढाउने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले समुदायमा रहने नागरिकको स्वास्थ्यका लागि वडा स्तरबाटै पहल हुनुपर्ने भएपनि अहिले पनि स्थानीय सरकार पूर्वाधार निर्माणमात्रै केन्द्रित हुँदा मानवीय विकास पछि पर्दै गएको बताउनुभयो । ‘अहिले पनि हार्डवयर क्रियाकलापमा ध्यान स्थानीय सरकारको ध्यान छ,’ उहाँले भन्नुभयो, ‘मानव विकास सुचकांक सुधार गर्न उनीहरुको आधारभूत तहको सेवा र सुविधामा ध्यान दिनुपर्छ, जसका लागि समुदाय स्तरमा सचेतना पुर्याउनुपर्छ ।’

उहाँले अहिलेको भौतिक विकासले मानिसलाई धेरै कुरामा प्रभाव पार्दै लगेको हुँदा सचेत नागरिक, सेवा प्रवाहमा खटिने निकायले सही सूचना र सन्देश दिँदै मानवीय जोखिमबाट बचाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी अण्डा बेचेर चाउचाउ खान्छौ, दूध बेचेर रक्सि खान्छौँ अनि कसरी मानिस स्वस्थ हुन्छ । समुदाय स्तरमा सुआहारा जस्ता कार्यक्रम प्रभावकारी बनाउनुपर्छ । राम्रो काउन्सिलिङ हुनुपर्छ ।’

Blog Post Ad

अस्पतालकी निर्देशक डा. प्रज्ञा बस्नेतले हालको सेवा सुविधा बढाउन पूर्वाधार विकासमा ध्यान दिने बताउनुभयो । सेवाको पहुँचसँगै आम नागरिकमा पोषण सुरक्षाका बारेमा सही जानकारी दिने गरी प्रतिष्ठानले निरन्तर कार्यक्रम गर्दै जाने उहाँको भनाई थियो । कार्यक्रममा सुआहाराका रोशन पौडेलले दाङमा १२ सय बढी कुपोषित बिरामी रहेको जानकारी गराउँदै समुदाय स्तरमा पुगेर उनीहरुको उपचार गर्न चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो । उहाँले जानेका व्यक्तिले लापरवाही गर्ने तथा दूरदराजका नागरिकहरुले नजानेरै कुपोषणको सिकार हुने क्रम रहेको बताउनुभयो ।

‘कतिपय अत्यन्तै विपन्न भएकै कारण बालबालिका कुपोषणको सिकार भएका छने् भने कतिपय पोषण स्वास्थ्यका बारेमा जानकारी नपाएर प्रभावित भएका छन् यसमा सबै पक्षको सहयोग चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘वडाले यस्ता कुरामा पहल गर्नु जरुरी छ, त्यसका लागि लक्षित बिरामीको उपचारमा वडाले पहुँच बढाउनु पर्छ ।’ जिल्लामा अहिले कडा खालको कुपोषित बिरामी करीव ४ सय बढी रहेको पनि जानकारी गराउनुभयो । कुपोषण दर घटाउन र स्वस्थ नागरिक बनाउन समुदाय स्तरबाटै स्वास्थ्य सचेतना बढाउनुपर्ने हुँदा स्थानीय सरकारसँगको सहकार्यमा अब वृहत रुपमा कार्यक्रम गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङकी जनस्वास्थ्य निरिक्षक सीता कवँर, वरिष्ठ कन्सल्टेन्ट डा. जनार्दन पन्थी, मेडिकल निर्देशक डा. रमेश कँडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad