Ad Area

वर्षाका कारण जनजीवन प्रभावित, धान बालीमा क्षति गरेपछि किसान चिन्तित


घोराही, १ कार्तिक । आईतबारदेखि परेको लगातारको वर्षाका कारण दाङसहित देशभरको जनजीवन प्रभावित बनेको छ ।

अविरल वर्षाका कारण किसानले भित्र्याउने तयारी गरेका धान भिजेर क्षति भएको छ भने नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । पाकेको धान काटेर घरमा भित्र्याउने बेलामा आएको बेमौसमको वर्षाले बालीमा क्षति गरेपछि किसानलाई चिन्तित बनाएको छ ।

मानो छरेर मुरी भित्र्याउने बेलामा वर्षाले धानबाली भिजाई दिएर क्षति गरेपछि किसानलाई यति बेला निकै दुखी बनाएको हो । वर्षभरी खाने अन्न अकस्मातको वर्षाले अपत्यारिलो ढंगले क्षति गरेपनि खेतमा काटेर थुपारिएका धानलाई स्याहार्दै किसानहरु केही भएपनि जोगाउन सकिन्छ की भन्ने आशामा लागिरहेका छन् । वर्षाका कारण खेत डुबानमा परेपछि काटेर सुकाउन राखिएको धान बालीलाई अग्लो स्थानमा अधिकांश स्थानका धान थुपार्ने काममा जुटेका छन् ।

लगातारको वर्षाका कारण जिल्लाको सेवार खोला, पत्रे खोला, सिस्ने खोला, देउखुरीको विभिन्न सोता र नदीको सतह पनि बढेको स्थानीयले जनाएका छन् । वर्षाका कारण लमही–तुलसीपुर सडक खण्डको आवागमनमा समेत समस्या भएको यातायात व्यवसायीले जनाएका छन । जिल्लाको सेवारखोला, सिस्नेखोला, मज्गैँ खोला, कालाखोलालगायतका स्थानमा पानीको बहाव बढेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad

उता, जल तथा मौसम विज्ञान विभागले भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको जनाएको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दाङ उपत्यकासहित देशभर बदली भएर वर्षा भईरहेको छ । महाशाखाका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता, जिल्ला आपतकालीन कार्य संचालन केन्द्र दाङले लगातारको वर्षाका कारण हुन सक्ने मानवीय तथा भौतिक क्षति तर्फ सचेत बन्न सबैलाई अपिल गरेको छ ।

Blog Post Ad Blog Post Ad