Ad Area

धान र मसुरो बालीमा १२ करोडको क्षति भएको प्रारम्भिक अनुमान


आईतबार अपरान्हदेखि परेको लगातारको वर्षाका कारण दाङमा धानबाली र भर्खरै लगाइएको मसुरो बालीमा क्षति पुगेको छ । जिल्लाका अधिकांश स्थानमा काटेको धानबालीमा वर्षाका कारण ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्रमणि पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार प्रारम्भिक रुपमा गरिएको अध्ययनले करीव १२ करोडको क्षति पुगेको अनुमान गरिएको छ । देउखुरी क्षेत्रमा अहिले ७५ प्रतिशत धान काटिएको हुँदा त्यहाँ क्षति भएको छ भने पश्चिम दाङका धेरै जसो स्थानमा पनि धेरै क्षति गरेको छ ।

यस्तै, घोराही आसपासका क्षेत्रमा पनि वर्षाले धानबालीमा क्षति गरेको छ । जिल्लामा यस वर्ष ३९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । कृषि ज्ञान केन्द्रले यो वर्ष जिल्लामा मनसुन सक्रिय भएको र बेलैमा धान रोपिएकाले धान उत्पादन बढ्ने प्रक्षेपण गरेको थियो ।

दशैंको मुडमा रहेका कृषकहरु अपत्यारिलो रुपमा आएको वर्षाले गरेको क्षतिले विक्षिप्त बनेका छन् । कतिपय ठाउँमा काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ भने धान नकाटेको ठाउँमा पनि हावासहितको वर्षाले धानको बोट ढालेको छ । काटेको धान पानी पानीले भिज्दा वर्षभरी खानसमेत समस्या हुने उनीहरूको चिन्ता थपिएको छ ।

किसानले काटेर घरमा भित्राउने तयारी अवस्थाको धान अविरल वर्षाका कारण खेतमै डुबानमा परेपछि अहिले कृषकहरु धान खेतमा केही भएपनि धान जोगाउन सकिन्छ की भनेर जुटेका छन् । खेतमा पानी जमेपछि काटेको धान काम नलाग्ने गरि बिग्रिएको र त्यसले जिल्लामा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार केही स्थानमा काटेको धानबाली बाढीले बगाएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्र पौडेलले पनि काटेको धानबालीमा लगातारको वर्षाले क्षति पुगेको सबै ठाउँबाट जानकारी आएको भएपनि कति क्षति भएको छ भन्ने बारे अझै यकिन हुन नसकेको बताए ।

Blog Post Ad

लगातारको वर्षाले धान बाली र भर्खरै रोपिएको मसुरोमा क्षति गरेको भन्ने जानकारी पाउनासाथ जिल्लाका केही स्थानमा स्थलगत सोमबार दिनभर जसो अनुगमन गरिएको बताउँदै सूचना अधिकारी पौडेलले स्थानीय तहसँगको समन्वयमा क्षतिको विवरण संकलनको काम अघि बढेको जानकारी दिएका छन् ।

सूचना अधिकारी पौडेलले जिल्लाका दश वटै पालिकाका कृषि इकाइहरुमा धानबाली र मसुरोमा पनि पुगेको क्षतिको विवरण संकलन गर्न आग्रह गरिएको जानकारी गराए ।

‘अहिले हामीले प्रारम्भिक अनुमान गरेका छौं, भोलिसम्ममा जिल्लाका सबै पालिकामा धान बालीमा भएको क्षतिको यकिन विवरण आउने छ, तर १२ करोड बढीको क्षति भयो की भन्ने हाम्रो अनुमान हो,’ उनले भने, ‘अहिले नै यति नै क्षति भयो भन्न सक्ने अवस्था त छैन, सबै पालिकाहरुबाट यकिन विवरण संकलन भएपछि क्षतिको आधिकारिक अवस्था बारे सार्वजनिक गर्नेछौं ।’

राप्ती गाउँपालिका वडा नम्बर ६ का पुरन चौधरीले वर्षाका कारण खेतमा रहेको धान उठाउन नपाई खेतमै उम्रिने अवस्था भएको बताए । दाउने तयारी गरिएको बेलामा स्याहार्न नपाई भिजेर सबै काम नलाग्ने बनेको उनको दुखेसो छ । उनि जस्तै सो क्षेत्रमा हजारौँ बिगाहामा वर्षाले क्षति गरेको छ ।

यद्यपि, सोमबारसम्मको जिल्लाभरको अवस्था हेर्ने हो भने विकासे धानमा सबै भन्दा धेरै क्षति पुगेको छ । अहिले बास्मति र तिलकी लगायतका धान पछि लगाइएका कारण धान बाली नकाटिएकाले त्यहाँ उल्लेख्य क्षति भएको छैन । केही स्थानमा मकै भाँचेर मसुरो छरेकोमा सबै नोक्सान भएको अनुमान गरिएको छ । जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा उच्च वर्षा भएको जल तथा मौसम फिल्ड कार्यालय घोराहीले जानकारी दिएको छ । सोमबार बेलुकी ८ बजेसम्मको तथ्यांक अनुसार जिल्लामा १ सय ३३ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । यो तथ्यांक वर्षको सबैभन्दा उच्च वर्षा रहेको कार्यालयले जनाएको छ ।

 

Blog Post Ad Blog Post Ad