Ad Area

आज बडादसैंको अन्तिम दिन,कोजाग्रत पूर्णिमा


घोराही २ कार्तिक । सनातन वैदिक हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैंको अन्तिम दिन पनि जारी छ।

आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ। कोजाग्रत पूर्णिमाका अवसरमा आजसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आज बेलुकी अखिल बलिपूर्ति नभएसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

कोजाग्रत पूर्णिमाका अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादसैँ समाप्त हुन्छ। बडादसैं मनाउन गएका मानिस काममा फर्किन थालेका छन् । टाढाटाढा आफन्त एवं मान्यजन हुने अहिले पनि नवदुर्गाको प्रसाद ग्रहणका लागि गइरहेको देख्न सकिन्छ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कार्तिक स्नान भने बुधबारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ। चान्द्रमास अनुसार कात्तिक महिनाभर तुलसीको विशेष पूजा आराधना गरी आकाशदीपदानसमेत गरिन्छ।

Blog Post Ad Blog Post Ad