Ad Area

हाम्रो पहुँच डेरी उद्योगमा दुध बिक्रि गर्ने किसानलाई चार लाख बढी अनुदान


दाङ, १९ असार । हाम्रो पहुँच डेरी उद्योगमा दुध बिक्रि गर्ने कृषकलाई अनुदान बाफतको रकम वितरण गरिएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित डेरी उद्योगमा दुध बिक्रि गर्ने ३६ जना कृषकहरुलाई प्रति लिटर २ रुपैयाका दरले ४ लाख बढिको अनुदान वाफतको रकम बितरण गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको उत्पादन योगदानमा आधारित कृषक सहयोग कार्यक्रम अन्तर्गत हाम्रो पहुँच डेरी उद्योगमा दुध बिक्रि गर्ने किसानलाई ४ लाख ३६ हजार ४ सय ९१ रुपैया हस्तान्तरण गरिएको हो । ३६ जना कृषकले उत्पादन गरेको २ लाख १८ हजार २ सय ४५ लिटर बराबर दुधको अनुदान रकम वितरण गरिएको छ । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदामा भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने कृषकले सरकारले उपलब्ध गराउने राहत तथा अनुदान बास्तविक किसानसम्म पुग्न नसकिरहेको अवस्थामा हाम्रो पहुँच मार्फत सञ्चालन भएको डेरीमा दुध बिक्री गर्ने किसानले थोरै भएपनि राहत पाएको बताएका छन् । राज्यद्वारा प्रदान हुने अन्य धेरै अनुदान वास्तविक कृषकको पहुँचमा नभएको कार्यक्रममा सहभागी किसानले बताएका छन ।

उत्पादन योगदानमा आधारित अनुदान वास्तविक कृषकसम्म पुगेले अन्य अनुदानका कार्यक्रम खारेज गरि यस प्रकारको अनुदान वृद्धि गर्न कृषकले जोड दिएका छन् । कार्यक्रममा केन्द्रका प्रमुख भट्टले किसानले पाउनुपर्ने राहत तथा अनुदानमा संस्थाले राम्रो पहल गरेको भन्दै संस्थाको प्रसंसा गरे । उनले बढ्दो महङ्गीको मारमा परेका कृषकलाई यो अनुदानको कार्यक्रमले थोरै भएपनि राहत भएको बताए ।

कृषकले गरेकोे गुनासोको जवाफमा सरकारले नीति कानुन निर्माण गरेपनि कार्यान्वयन पक्ष फितलो हुदाँ अझैपनि बास्तविक किसानले अनुदान पाउन केहि असहजता भने भएको बताए । कार्यक्रममा लेखा सुपरिवेक्षण समितीका संयोजक सुर्यप्रसाद शर्माले दुधको शुद्धता गोठदेखि ओठसम्म हुनुपर्ने बताउनुभयो । त्यस्तै संस्थाका सल्लाहकार भरत भण्डारीले सरकारले बास्तबिक किसानलाई अनुदान दिन सहकारी संस्थामार्फत जानुपर्ने बताए ।

कार्यक्रममा दुध विक्रेता किसान डिल्ली वली, देविराम भण्डारी, मुक्तबहादुर डिसी, दाङ जिल्ला दुग्ध उत्पादक कृषक संघका अध्यक्ष शसिराम बुढाथोकी लगाएतकाले सहकारी संस्थामार्फत दुधको बजारीकरणमात्र नभई अनुदान पनि पाएकोमा खुशी व्यक्ति गरेका थिए । डेरी संचालन उपसमिती संयोजक दुर्गाप्रसाद जैसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण हाम्रो पहुँचका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad