Ad Area

प्रतिष्ठानमा विस्तारित विशेषज्ञ स्वास्थ्य सेवा


दाङ, २१ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिस्तारित सेवा (इएचएस) सुरु हुने भएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन साउन १ गतेदेखि नै यो सेवा सुरु गरिएको बताए । बिस्तारित सेवा दिउँसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने व्यवस्था मिलाइएको र १ बजेपछि विरामीले सेवा पाउने उनले जानकारी दिए ।

अस्पतालमा आउने बिरामीहरुले जनरलबाहेकको समयमा आफूले इच्छाएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उद्देश्यले इएचएस सेवा सुरु हुन लागेको उपकुलपति लामिछानेले बताए । बिरामीहरुले प्रतिष्ठानमा बिस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसुति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक–कान–घाँटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने सूचना अधिकारी निशानदाजु भट्टराईले बताए ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेले बिस्तारित सेवा प्रभावकारी हुने र चिकित्सकबाट विशेषज्ञ सेवा बिरामीहरुले द्रुत गतिमा पाउने बताए । उनले विस्तारित सेवा प्राप्त गर्ने बिरामीहरुलाई लाइनमा लाग्नु नपर्ने र आफूले रोजेको चिकित्सकबाट उपचार सेवा प्राप्त गरेमा बिरामीहरु थप लाभान्वित हुने बताए । उनले अब प्रतिष्ठानमा जनरल सेवापछि पनि चिकित्सकले इएचएसमा सेवा दिने बताए । इएचएस सेवामा नाम दर्ताको लागि ५ सय रुपैयाँ लाग्नेछ ।

Blog Post Ad Blog Post Ad