Ad Area

किसानलाई कतै रोपाइँ, कतै धानबाली स्याहार्न चटारो


घोराही, २२ असार । धेरै ठाउँमा अहिले धान रोपाइँको चटारो छ । किसान यतिबेला घरमा भन्दा खेतमा बढी समय बिताई रहेका छन् । मानो छरेर मुरी फलाउने अभिलाषाका साथ खेतमा धान रोपाइँमा किसान व्यस्त भईरहेका बेला दाङकै बंगलाचुलीका किसानलाई भने पाकेको धानबाली स्याहार्न भ्याई नभ्याई छ ।

अधिकांश ठाउँहरुमा धान रोपाइँको चटारो चलिरहेका बेलामा बंगलाचुली गाउँपालिका वडा नंं. ३ र ४ का किसानहरु भने चैते धानबाली घरमा भित्र्याउन व्यस्त भएका हुन् । सुकाखोला आसपासका स्थानीयहरु चैते धानबाली स्याहार्न पाउँदा दंग छन् । विगत वर्षभन्दा यो पाली धानबाली राम्रै भएको छ । धान रोप्दै खेतमा नयाँ वर्ष मनाएका उनीहरु असारको तेश्रो सातामा धान पाकेपछि स्याहार्न व्यस्त भएका हुन् । खोला छेउँका डाबरहरुमा चैते धान रोप्दै आएका कृषकहरुले पहिलेदेखि नै यही परम्परागत खेतीलाई निरन्तरता दिँदै आएका छन् ।

धानबाली स्याहार्न बालबालिकादेखि बयस्क सबै खेतमै भेटिने गरेका छन् । उनीहरुको बिहान र दिउँसोको खाना, खाजा खेतमै पाक्ने गरेको छ । कोही धान काटिरहेका हुन्छन् । बलियाहरु धानको भारी बोक्दै थुपार्ने काममा व्यस्त हुन्छन् भने केही धान झाँट्ने काममा व्यस्त हुन्छन् । धानको मुठा पारेर झाँटेको धानका गेडा सबै सग्ला आउने हुँदा बालीको सह लाग्ने गरेको स्थानीय कृषक रत्नबहादुर थापाले बताउनुभयो । यो पटक गहुँ र धान बाली राम्रो फलेको छ । यो ठाउँका कृषकले वर्षमा तीन बाली भित्र्याउने गरेका छन् ।

अहिले रोपेको चैते धान असारको तेश्रो साता काटेपछि बर्र्खेे धान रोप्ने गरेका छन् । साउनको पहिलो साता रोपेको धान कार्तिक मंसीरमा काटेलगत्तै फेरी गहुँ छर्ने गरेको स्थानीय थापाले बताउनुभयो । चैतको दोश्रो साता गहुँबाली काटेपछि चैते धान रोपिएको थियो । त्यही बाली उनीहरु भित्र्याईरहेका छन् । ‘विगत वर्षभन्दा यो पाली बाली निकै सप्रिएको छ, मेहनत अनुसार फलेको छ, खुशी छौँ,’ कृषक थापाले भन्नुभयो, ‘खेतबारीमा मेहनत गर्ने हो भने वर्षमा ३ बाली राम्ररी भित्र्याउन सकिन्छ ।’ अरुतिर भर्खर धान रोपाइँ चलिरहेका बेला आफुहरु धान काटेर फेरी धान रोप्ने अवस्थामा रहेको उहाँको भनाई छ ।

Blog Post Ad

खेतको छेवैँमा ब्याड तयार हुन लागिसकेको छ । केही दिनमै ब्याड रोप्ने हुनेछ । हावापानी र सिँचाई पुगेको यो ठाउँमा अन्नबाली जस्तै तरकारी खेती पनि राम्रो हुने गरेको छ । बाह्रै मास पानी उपलब्ध हुने भएकाले पनि यो ठाउँ कृषिका लागि उत्तम छ । बंगलाचुली वडा नम्बर ३ र ४ का किसान अधिकांश समय खेतमै व्यस्त हुने गर्छन् । चैते धानसँगै रोपेका मकै पनि फकिसकेको छ । केही दिनमै मकै भाँचेर धान रोप्ने उनीहरुको तयारी छ ।

‘चैत्र बैशाखमा अलि उचो ठाउँमा पानी चार सम्भव नभएपछि मकै छर्छौँ, धान र मकै सँगसँगै खेती गर्ने हुँदा दुवै बाली भित्र्याउन चटारो पर्छ, स्थानीय सीता थापाले भन्नुभयो, ‘हामी त धेरै समय खेतबारीमा बिताउँछौँ, कामले फुर्सद निकाल्नै धौ हुन्छ ।’ सो ठाउँका केही स्थानमा अहिले धान रोपाइँ शुरु भईसकेको छ । चैते धानबाली स्याहारि सकेका केही कृषक फेरी धान रोप्न खेतमा व्यस्त छन् । माटोको उर्वराशक्ति राम्रो भएकाले सबै खाले बाली राम्रो हुने गरेको उनीहरुको अनुभव छ ।

जंगलको छवैमा रहेका फाँट प्राकृतिक रुपमा पनि मलिलो भएकाले रासायनिक मलको खासै आवश्यकता नपर्ने गरेको थापाले बताउनुभयो । सयौँ बिगाहा जमीन रहेको सो क्षेत्रमा अहिले मकै बाली पनि उत्तिकै सप्रिएको छ । धेरैको बारीमा मकै फलिसकेको छ । बंगलाचुली ४ की रेश्मा गिरीले सुका खोलाको आडमै रहेको खेतमा पाकी सकेको धान बाली स्याहार्न व्यस्त हुनुहुन्छ । उहाँसँगै अरु ४ जना पनि धानबाली स्याहार्न व्यस्त छन् । खेतमा पाकेको धानबाली काट्दै धान स्याहार्नु अहिलेको दैनिकी बनेको उहाँले बताउनुभयो ।

‘अस्ति भर्खर धान रोपेको जस्तो लागेको थियो, पाकेर काट्ने पनि भई हाल्यो,’ उहाँले भन्नुभयो, ‘अब धानबाली भित्र्याउने अनि फेरी यही खेतमा धान रोप्ने हो । काम त कति हो कति ।’ अधिकांश स्थानीयले विन्देश्वरी जातको धान रोप्ने गरेका छन् । यो धान खानका लागि पनि निकै राम्रो हुने गरेको उनीहरु बताउँछन् । ‘बजारमा पाईने मसिनो चामल जस्तो त हुँदैन तर, मिठो अनि अडिलो हुने हुँदा गाउँघरमा हामीले रुचाउने गरेका छौँ,’ उहाँले भन्नुभयो ‘किसानहरुका लागि यो धानको भात निकै राम्रो हुने रहेछ, त्यही भएर पहिलेदेखि नै यही धान रोप्दै आएका छौँ ।’

घोराही बजारदेखि करीव १५ किलोमिटरको दुरीमा रहेको यो ठाउँ वातावरणीय दृष्टिकोणले पनि निकै मनमोहक रहेको छ । बाटोको सहज पहुँच भएको यो ठाउँका स्थानीयलाई उत्पादित बस्तुको बजार पाउन पनि खासै समस्या नरहेको उनीहरु बताउँछन् । ‘बाटोघाटो पुगेको छ, बस जीप चल्छन्, हामीलाई उत्पादित बस्तु भाउ बिक्रि गर्न पनि समस्या छैन,’ रत्नबहादुरले भन्नुभयो, ‘काम गर्न सक्ने हो भने परिवार आफन्तसँगै घरमै बसेर यहीँ कमाउन सकिन्छ ।’

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करीव दुई हजार पाँच सय बढी हेक्टरमा चैते धान खेती हुने गरेको छ । यसका लागि स्थानीय सरकारले कृषकलाई चैते धान उत्पादनका लागि प्रोत्साहन नगरे पनि स्थानीय कृषक परम्परागत रुपमा यसलाई निरन्तरता दिँदै आएका छन् । जसका कारण धेरै ठाउँमा खेत बाँझै रहेको सुन्ने गरिएपनि यहाँका किसानले खेत बाँझो राख्नु हुन्न भन्ने मान्यता स्थापित गरेका छन् ।

Blog Post Ad Blog Post Ad