Ad Area

फोहर किन्न २० हजार खर्च


दाङ, २४ असार । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहर खरिद गरेको छ । उपमहानगरपालिकाले २०७७÷०७८ बाट फोहर खरिद सुरु गरेको हो । फोहर खरिद गर्ने कार्यक्रमअन्र्तगत चालु आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहर खरिद गरिएको घोराही उपमहानगरपालिका सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारीले बताए ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ४ लाख बजेट विनियोजन गरेको थियो । बजेट भए पनि सबै रकमको फोहर खरिद गर्न नसकिएको उनले बताए । नगरपालिकाले मात्र नभई अन्य कवार्ड व्यवसायीहरुले पनि खरिद गर्ने भएकाले थोरैको मात्र खरिद भएको उनले बताए । उपमहानगरपालिकाले फोहर किन्ने भने पनि नगरका सबै स्थानसम्म फोहर किन्नका लागि नगरपालिका पुग्न सकेको छैन् ।

फोहर खरिदका लागि गाउँ–गाउँसम्म पुग्नका लागि आवश्यक पर्ने कर्मचारी, सवारी साधन तथा फोहर राख्ने ठाउँको समस्या रहेको अधिकारी बताउँछन् । ‘नगरलाई सफा राख्न तथा ल्याण्डफिल साइडमा फोहर कम गराउन यस प्रकारको कार्यक्रम अघि बढाएको हो’, अधिकारीले भने– ‘अहिले नागरिकहरुले फोहरबाट मोहर बनाउन थालेका छन् ।’

फोहरलाई मोहर बनाउने अभियानअन्र्तगत फोहर वस्तु खरिद गर्न सुरु गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले प्लाष्टिकको बोत्तलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रतिकेजी ५ रुपैयाँ, सुर्तीजन्य प्लाष्टिकको फोहर प्रतिकेजी २ रुपैयाँ, गत्ता, कापीसहित बर्गीकरण अनुसारका फोहरलाई १० देखि २० रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरिएको छ ।

खरिद गरिएको गल्ने फोहरलाई ल्याण्डफिल साइटमा रहेको बायोग्यासमा प्रयोग गरिने र नगल्ने फोहरलाई उद्योगहरुसँग समन्वय गरेर बिक्री गर्ने गरेको छ । नगल्ने फोहरहरु विशेष गरी प्लाष्टिक र सिसाका वस्तुहरु उद्योगमा पठाइने छ । तर नागरिकबाट खरिद गरिएको फोहर बिक्री गर्न सकिएको छैन । बिक्री नभएपछि अहिले ल्याण्डफिल साइडमा नै फोहर राखिएको छ । ‘आफूले गरेको फोहर आफै व्यवस्थापनका लागि यस अभियानले सहयोग पु¥याउने उनको विश्वास छ ।

फोहर नगरपालिकाले खरिद गरिदिने भए पनि नगरवासीहरुले जताततै फोहर नफाल्ने नगपालिकाको अपेक्षा छ । ‘फोहर पनि बिक्री गरेर पैसा आउने भएपछि जताततै फोहर हुने छैन’, शाखा प्रमुख अधिकारीले भने । सवारीका साधनले गाडीबाट फोहर फाल्न नदिएर निश्चित स्थानमा फोहर जम्मा गरेर नगरपालिकालाई बिक्री गर्न सक्नेछन् ।

Blog Post Ad

जताततै फोहर नभएपछि वातावरण समेत सुन्दर तथा सफा हुने उपमहानगरपालिकाको अपेक्षा छ । सफा शहर निर्माण भएमा पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुनेछ । नाला तथा सडकमा फालेको फोहर खेत बारीसम्म पुग्ने छैन । जसले गर्दा उत्पादनमा समेत बृद्धि हुने उनले बताए । फोहर जलाएर हुने बायु प्रदूषण समेत कम हुनेछ । उपमहानगरले फोहर खरिद गरिदिएपछि फोहर व्यवस्थापमा समेत सहयोग मिल्ने अपेक्षा लिएको छ ।

नगरवासीले आफैले फोहर व्यवस्थापन गरेमा सरसफाईको लागि तिर्दै आएको शुल्क पनि घट्ने उपमहानगरपालिकाले बताएको छ । दैनिक फोहर उठाउन गाडी पठाइदिनुस् भनेर खबर गर्नुभन्दा फोहर छुट्टाएर फोहर खरिद गर्न आउनु भन्न सकेमा यसले नागरिक र नगरपालिका दुबैलाई फाइदा पुग्ने शाखा प्रमुख अधिकारीले बताए । नगरपालिकाले थालेको यस प्रकारको योजना सफल बनाउन नगरवासीको सहयोग आवश्यक पर्ने उपमहानगरपालिकाले जनाएको छ ।

फोहर खरिद गर्न निजी क्षेत्रलाई दिने तयारी

घोराही उपमहानगरपालिकाले आफैले खरिद गर्दै आएको फोहर निजी क्षेत्रलाई दिने तयारी गरेको छ । आउँदो आर्थिक वर्षबाट निजी क्षेत्रलाई दिने तयारी गरिएको घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखा प्रमुख अधिकारीले बताए । नगरपालिकाको मातहतमा राखेर फोहर खरिद गर्नका लागि निजी क्षेत्रलाई दिनका लागि ठेक्का आह्वान गरिने उनले बताए ।

निजी क्षेत्रलाई जिम्मा दिएपछि फोहर खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ । ‘व्यापार व्यवसाय गर्ने निकाय नभएकाले केही समस्या छ’, उनले भने– ‘फोहर खरिदका लागि आवश्यक मात्रामा कर्मचारी, आवश्यक मात्रामा सवारी साधन नहुनु तथा बिक्री गर्न समेत समस्या छ ।’

Blog Post Ad Blog Post Ad