Ad Area

घोराही खानेपानी निर्वाचन : बिरासत जोगाउने र हत्याउने आ–आफ्नै दाउँ


दाङ, २४ असार । जिल्लाको पुरानो तथा धेरै उपभोक्ता भएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन आउन अब १ दिन बाँकी छ ।

असार २५ गते शनिबार संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन तय भएको छ । नेतृत्वको लागि दुई वटा प्यानल चुनावी प्रतिष्पर्धामा छन् । एउटा समूहको नेतृत्व वर्तमान अध्यक्ष देबीबहादुर डिसी र अर्को प्यानलको नेतृत्व नारायणप्रसाद भुसालले गरेका छन् । खानेपानीमा झण्डै ७ हजार उपभोक्ता छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा समन्वय समितिको गठबन्धन प्यानलबाट संस्थाका वर्तमान अध्यक्ष देवीबहादुर डिसी (देवी वकिल) र नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानलबाट नारायणप्रसाद भुसाल अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । निर्वाचनको दिन नजिकिँदै गर्दा घरदैलो तथा मतदाता भेटघाटलाई दुवै समूहले तीव्र पारेका छन् । दुवैले आफ्नो जित सुनिश्चित भएको दावीसमेत गरेका छन् ।

संस्थाको स्थापना कालदेखि आवद्ध भएर खानेपानीको व्यवस्थापनमा जीवन बिताएका डिसीले संस्थाको तीन कार्यकाल नेतृत्व सम्हालिसकेका छन् । आफ्नो कार्यकालमा घोराहीलाई पानीको काकाकुल बन्नबाट बचाउनदेखि जनतालाई घर–घरमै स्वच्छ खानेपानी पु¥याएकै कारण उम्मेदवार डिसी उपभोक्ताका माझमा ‘पानी बा’ का रुपमा परिचितसमेत छन् ।

घोराहीलाई खानेपानीको समस्या हुन नदिनबाट जोगाउनका लागि केन्द्रसम्म धाएर बजेट बिनियोजनदेखि जनताको घर–घरमा पानी पुगेको छैन भनेर डिसी अहिले पनि उपभोक्ताको घरदैलोमा पुग्ने गरेका छन् । डिसी करिब दुई दशकदेखि संस्थाको नेतृत्वमा छन् ।

‘कुनै पनि संस्थाको नेतृत्व लिने मात्रै होइन, काम गरेर देखाउने हो । त्यो मैले पूरा गर्दै आएको छु’, अध्यक्षका उम्मेदवार डिसीले भने– ‘अब घोराहीलाई दीर्घकालीनरुपमा पुग्ने खानेपानीको व्यवस्था बबई लिप्टिङ आयोजना अघि बढाएका छौँ । त्यसलाई पूरा गर्न मैले उम्मेदवारी दिएको छु ।’ संस्थाको नेतृत्व सम्हाल्न चुनावी रेसमा रहेका डिसी निर्वाचन जित्नेमा विश्वस्त छन् । जसको एउटै कारण हो, करिब दुई दशकदेखि डिसी घोराहीमा खानेपानीका खट्दै आएका छन् । आम उपभोक्तामा परिचित छन् ।

Blog Post Ad

खानेपानीको संस्थामा नेतृत्व परिवर्तनसँगै सर्वसुलभरुपमा उपभोक्ताको घर–घरमा पानी पु¥याउने चुनावी एजेण्डा लिएर नेतृत्व आफ्नो पोल्टामा ल्याउने दाउमा भुसाल छन् । भुसालले दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष भएर काम गरिसकेका छन् । सामाजिक क्षेत्रमा पनि उनको योगदान उल्लेखीय नै छ ।

‘एउटै व्यक्ति लामो समयसम्म एउटै पदमा बस्दा खानेपानी व्यवस्थापन राम्रो हुनको साटो खानेपानीको व्यवस्थापन कमजोर छ’, अध्यक्ष पदका उम्मेदवार भुसालले भने– ‘त्यसमा सुधार गर्नको लागि हाम्रो टिम सफल हुन्छ । मतदाताले त्यो सन्देश दिनेमा विश्वस्त छु ।’ विशेष गरेर संयुक्त प्यानलको नेतृत्व गरेको भुसाल समूहले उपभोक्ताले तिर्ने पानीको न्यूनतम शुल्क घटाउनेदेखि धारा जडान लाग्ने शुल्क कम गर्ने प्रतिबद्धता पत्र लिएर उपभोक्ताका घरदैलोमा पुगेका छन् ।

प्यानलले गरिब, दलित सावर्जनिक स्थान र सुकुम्बासी टोलमा जोडिएका सामुदायिक धाराको शुल्क मिनाहा गर्ने, उपभोक्ताले तिर्ने पानीको न्यूनतम शुल्क घटाउनेदेखि विशेष ठाउँ र बस्तीमा जडान गरिएको धाराको शुल्क मिनाहा गर्ने प्रतिबद्धता उपभोक्ताबीच गरेका छन् । ‘घोराहीको खानेपानी संस्थामा धेरै समस्या छन् । ती पक्षलाई सुधार गरेर उपभोक्तालाई स्वच्छ, सुलभरुपमा खानेपानी पुराउने नै मुख्य योजना हो’, उनले भने ।

उनका अनुसार धारा जडानमा लाग्ने शुल्क घटाउने, सावर्जनिक धाराको विस्तार गर्ने, ठाउँ–ठाउँमा बास सुविधासहितको सावर्जनिक शौचालयको व्यवस्था गर्ने योजना छ । यो समूहले सार्वजनिक गरेको प्रतिवद्धतामा नियमितरुपमा धारा चेक गर्ने तथा मिटर रिडिङ गरी अभिलेख राख्ने, खानेपानीको बढ्दो मागलाई पूरा गर्न बबई लिफ्टिङ कार्यक्रमलाई समयमा पूरा गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने उल्लेख छ ।

स्थानीय सरकारसँगको समन्वयमा वैज्ञानिक ढल निकास, नगरभित्रको सरसफाई हेर्नका लागि उपमहानगरपालिकासँग समन्वय गरी अलग्गै युनिट बनाउने, सामग्री खरिदलाई पारदर्शी बनाउने, स्वच्छ खानेपानी तथा सरसफाईसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गर्ने, टोलहरुमा पुगेर नियमितरुपमा खानेपानीको परीक्षण, उपभोक्ताको घरसम्म ट्याङ्करबाट दिइँदै आएको सेवालाई कम शुल्कमा थप सुविधा दिने, खानेपानीलाई वैज्ञानिक तरिकाले विस्तार गर्ने र मुहान संरक्षण गर्न दीर्घकालीन योजना बनाउनेसमेत उनले बताए ।

७ हजार १ सय २३ मतदाता रहेको घोराही खानेपानीले ७ हजार ६ सय ९ धाराहरुमार्फत पानी उपभोक्ताहरुलाई पु¥याउँदै आएको छ । घोराही उपमहानगरपालिकाको वडा नं. १४, १५, १८, १६ र १७ नम्वरमा समेत कार्यक्षेत्र रहेको घोराही खानेपानीले दैनिक ४० लाख लिटर पानी वितरण गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad