Ad Area

घोराहीसहित दाङका ९ पालिकामा पूर्ण खोप सुनिश्चितता, बबई पर्सी हुने


घोराही, २४ असार । घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएसँगै दाङमा ९ वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा शुक्रबार एक कार्यक्रम गरी घोराही उपमहानगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । सो अवसरमा प्रमुख अतिथि शर्माले सरकारको राष्ट्रिय नीति अनुसार गर्भदेखि जन्मेपछि पनि हरेक शिशुलाई पूर्ण खोप सुनिश्चित गर्दै स्वस्थ नागरिक बनाउने अभियानलाई सफल बनाउनु भनेको देशलाई नै स्वस्थ बनाउनु रहेको बताउनुभयो ।

नागरिक स्वस्थ भएमात्रै मुलुकमा सबै खालको विकास सम्भव भएको हुँदा अबका दिनमा कोही पनि खोप पाउनबाट वन्चित हुने अवस्था नहोस् भन्ने तर्फ सबै चनाखो हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले वडा–वडाका स्वास्थ्य संस्थामार्फत प्रदान गरेको स्वास्थ्य सचेतनाका कारण जिल्लालाई नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सक्ने गरी अभियान अघि बढेको हुँदा यो समग्र जिल्लाबासीको गौरवको विषय भएको बताउनुभयो ।

सो अवसरमा, नगरप्रमुख चौधरीले पालिकाका १९ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित गरिएको प्रमाण पत्र प्रदान गर्नुभयो भने जिल्ला समन्वय समिति प्रमुख शर्माले नगरप्रमुख चौधरीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको प्रमाण पत्र प्रदान गर्नुभयो ।कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले नागरिकमा स्वास्थ्य सचेतना बढ्दै गएकाले स्वास्थ्यका सूचकमा सुधार हुँदै गएको बताउनुभयो ।

खासगरी कोरोना महामारीपछि आम नागरिकमा स्वास्थ्यप्रति चासो बढेको पाइएकाले यस प्रकारका अभियान सफल बनाउन सहज भएको बताउनुभयो । कार्यक्रममा उपप्रमुख हुमा डिसी, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीलगायतले बोल्नुभएको थियो ।

जिल्लाका बबई गाउँपालिका बाहेक अरु पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भईसकेका छन् । राप्ती गाउँपालिकाबाट थालनी गरिएको यो अभियान अब पर्सी आईतबार बबई गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेसँगै दाङ जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad