Ad Area

घोराहीमा सडक कालोपत्रेको काम : ठेकेदारको चरम लापरवाही, असारमसान्तमा सक्नुपर्ने काम अलपत्र


घोराही, २५ असार । घोराही उपमहानगरपालिकाले ठेक्का लगाएको विभिन्न ९ वटा सडक तथा भवन निर्माण आयोजनाको काम अहिले अलपत्र अवस्थामा पुगेको छ ।

शहरी विकास तथा पूर्वाधार निर्माण शीर्षकमा पालिकाले छुट्याएको बजेटबाट बजार क्षेत्रमा नाला, सडक कालोपत्रेदेखि ग्रामीण क्षेत्रका सडकको काम सम्पन्न गर्न साढे २१ करोडको ठेक्का दिएको ७ वटा निर्माण कम्पनीले सम्झौता अनुसार समयमा काम नगर्दा विकास आयोजनाको काम अहिले अलपत्र अवस्थामा पुगेको छ ।

पालिकाका अनुसार ९ वटा आयोजना सम्पन्न गर्न २१ करोड ५३ लाख ६८ हजार ८ सय ६९ रुपैयाँमा ७ वटा निर्माण कम्पनीसँग सम्झौता भएको छ । ठेक्काको जिम्मेवारी पाएका निर्माण कम्पनीले लामो समयसम्म काम नगर्दा पटक–पटक ताकेता गरेको भएपनि हालसम्म केही स्थानमा सामान्य काम गरेजस्तो गरेपनि अधिकांश स्थानमा काम नै नगरी ठेकेदार सम्पर्क बिहीन रहेको घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर युवराज पौडेलले बताउनुभयो ।

‘काम गर्ने गरी सम्झौता भएको हो तर, बारम्बार ताकेता गरेपनि नटेर्ने परिपाटीले समस्या भएको,’ प्रमुख इन्जिनियर पौडेलले भन्नुभयो, ‘काम गर्छु भन्दै ठेक्का लिनेले जिम्मेवारी पूरा नगर्दा समस्या भएको छ ।’ उहाँका अनुसार ठेक्का लगाईएका ९ ठाउँको काम यही असार मसान्तसम्म सम्पन्न गरिसक्ने गरी सम्झौता भएको छ । तर, कामको गति हेर्दा कुनै पनि हालतमा अबको केही दिनमा काम सकिने अवस्था छैन ।

‘दिनरात काम गरेपनि कुनै पनि ठाउँमा काम सकिँदैन,’ उहाँले भन्नुभयो, ‘ठेकेदारले काममा बेइमानी गर्ने र आयोजना अलपत्र पार्दा नागरिकलाई सास्ती भएको छ भने पालिकालाई पनि अप्ठ्यारो भएको छ ।’

समयमा काम सम्पन्न बारम्बार ताकेता गरेपनि कानमा तेल हालेर बसेका ठेकेदारका कारण नगर क्षेत्रमा नाला र सडकको अवस्था अत्यन्तै जीर्ण बनेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताउनुभयो ।

Blog Post Ad

‘यति समयमा यति लागतमा काम सम्पन गरिसक्छु भनेर सम्झौता गर्ने अनि अशिले आएर यो वा त्यो बहाना देखाएर काममा ढिलाई गरिनु हुँदैन,’ प्रमुख प्रशासकीय अधिकृत केसीले भन्नुभयो, ‘राज्यको नीतिकै कारण निर्माण व्यवसायीले गलत अभ्यास गर्न उद्यत हुन्छन् र नागरिकले सास्ती खेप्नु पर्ने अवस्था छ ।’

उहाँका अनुसार ठेक्का आह्वान भएपछि यतिमा काम गर्न सक्छु भनेर सकारेरै कामको जिम्मा लिएका निर्माण कम्पनीले सरासर काम गरेको भए निर्धारित मितिभन्दा अगावै काम सम्पन्न भईसक्ने अवस्था हो । तर, शुरुवाती चरणमा लापरवाही गर्ने अनि अन्तिम समयमा आएर काम गरे जस्तो गर्दै अनेकन बहानाबाजी गर्दा झन समस्या थपिने गरेको छ । अहिले बढ्दो महंगीका कारण निर्माण सामग्रीको लागत बढेको कारण देखाउँदै काममा आलटाल गर्ने गरेको बताइएको छ । यद्यपि, यो उनीहरुको काम नगर्ने बहानाबाजी मात्रै भएको उहाँको भनाई छ ।

पालिकाले अब काम नगर्ने ठेकेदार कम्पनीलाई कानूनी कारवाही गर्ने जनाएको छ । ठेक्का सम्झौताका शर्त तथा सार्वजनिक खरीद ऐन २०६३ तथा नियमावली २०६४ संशोधनसहित कानूनी कारवाही हुने घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो । ‘काम चाँडो गर्नुस् भनेर कति पटक भन्नु ? भन्दा भन्दा हैरान भईयो,’ नगरप्रमुख चौधरीले भन्नुभयो, ‘अब त आफैलाई लाज लाग्ने स्थिती आईसकेको छ । कारवाही गर्ने बाहेक केही विकल्प छैन ।’

घोराहीको मुख्य चोक क्षेत्रदेखि गाउँका बाटा, नालाहरुको काम अहिले अलपत्र अवस्थामा छन् । असारको बर्खे झरीका सडक कालोपत्रे गर्ने अवस्था पनि नरहेको नगरप्रमुख चौधरीले बताउनुभयो । ‘केही स्थानमा आक्कलझुक्कल काम गरे जस्तो गरेका छन् त्यो पनि यो पाराले सम्भव छैन, नराम्ररी ठग्ने काम गरिरहेका छन्, कसरी हुने हो,’ नगरप्रमुख चौधरीले भन्नुभयो, ‘बोलायो काम हुन्छ, अब गरिहाल्छौँ भन्छन् अनि भोलि पल्ट कता हराउँछन् अत्तोपत्तो हुँदैन ।’

सडक कालो पत्रेको जिम्मा लिएको निर्माण कम्प्नीले लामो समयदेखि घोराही उपमहानगरपालिकाको कार्यालय अगाडितर्फको बाटो समेत अलपत्र अवस्थामा राखेको छ । घोराही उपमहानगरका अनुसार दुई वटा निर्माण कम्पनीले पालिकाको २–२ वटा ठेक्का लिएका छन् भने अरुले १–१ वटा ठेक्का सम्झौता गरी २०७९ असार ३२ गतेसम्म काम सक्ने गरी जिम्मेवारी लिएका छन् ।

घोराहीले पालिकाबाटै विनियोजन गरेको बजेटबाट काम गर्ने गरी गरेको सम्झौता अनुसार, जिल्ला प्रशासन कार्यालयदेखि शहिद गेट हुँदै नेपाल बैंकसम्म नालासहित सडक पिच गर्ने जिम्मा लिएको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले १ करोड १५ लाख ३४ हजार ९ सय २४ रुपैयाँमा २०७७ माघ ८ गतेबाट यही असारमसान्तमा सम्पन्न गर्ने लिखित सम्झौता गरेको छ ।

सोही कन्स्ट्रक्सनले सौरी थारु गाउँ बाटो पिच निरन्तरता तथा वडा नम्बर १० को पुरानो वडा कार्यालय हुँदै नारायणपुर थारु गाउँ हुँदै बनगाउँ जोड्ने बाटो निरन्तरता, मानबहादुर मिलदेखि शंकर गौतमको घरसम्मको अधुरो सडक पिच र दक्षिण पानी टंकी चौकसम्म सडक पिच निरन्तरताका लागि ७१ लाख ३२ हजार ४ सय २० रुपैयाँमा २०७८ बैशाख ५ गतेबाट काम थालनी गरी यही असार मसान्तमा काम सम्पन्न गर्ने सम्झौता गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर २ मा १५ शैयाको हस्पिटल भवन निर्माण गर्न २०७८ असार २८ गते श्री राजेन्द्र निर्माण सेवाले सम्झौता गरेपनि यसको कुनै पनि काम हुन सकेको छैन । संघ सरकारको १० करोड ६६ लाख ४ हजार ९ सय १ रुपैयाँमा भवन बनाउन गत मंसीरमा भवन निर्माणका लागि सम्बन्धित विभागमा फाईल पठाएकोमा हालसम्म यसको कुनै सुनुवाई भएको छैन ।

यस्तै, घोराही चोकदेखि गुलरिया पार्कसम्म सडक पिच गर्न श्री पुष्पाञ्जलि÷पिएस जेभीलाई २०७८ फागुन ४ गते २ करोड ३१ लाख ५५ हजार ३ सय ६० रुपैयाँमा ठेक्का दिँदै यही असार मसान्तमा काम सम्पन्न गर्ने सम्झौता भएको छ । खिरटियादेखि ६ नम्बर वडा कार्यालयसम्म सडक पिच गर्न श्री बराहक्षेत्र हरितारा कन्स्ट्रक्सन जेभीलाई २०७८ माघ ७ गते ८० लाख ३३ हजार ३ सय १२ रुपैयाँमा ठेक्का सम्झौता गर्दै यही असार मसान्तसम्मको म्याद दिइएको थियो ।

घोराही १७ लख्वारे कुलोदेखि धर्नासम्म सडक बिस्तार तथा थारु कल्याणकारिणी भवनदेखि गैरागाउँ चोकसम्म पिच गर्न श्री सोहन आभा जेभीसँग २०७८ माघ ७ गते ७८ लाख ७४ हजार ७ सय ८८ रुपैयाँमा यही असारमसान्तसम्म काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।
वडा नम्बर ९ को खैराकोठरी सडक पिच गर्न श्री रोयल बिल्डर्स प्रालिसँग २०७८ माघ ७ गते १ करोड २ लाख १३ हजार ४३ रुपैयाँमा यही असारमसान्तसम्ममा काम सक्ने गरी सम्झौता भएको छ ।

यस्तै, वडा नम्बर १० को नयाँ भवन तथा स्वास्थ्य संस्था भवन निर्माणका लागि श्री रोयल बिल्डर्स प्रालिसँगै २०७८ माघ ७ गते नै ६४ लाख ४४ हजार १ सय ९४ रुपैयाँमा यही असारमसान्तसम्ममा काम सक्ने गरी सम्झौता भएपनि हालसम्म कुनै काम भएको छैन । कामको जिम्मा लिएको ठेकेदार कम्पनी हालसम्म सम्पर्कमा समेत नआएको पालिकाले जनाएको छ ।

यस्तै, कनरियादेखि दलजीतपुरसम्म, भैसाही चोकदेखि गैरागाउँ हुँदै सर्रा जोड्ने सडक र कटुवा खोला शंखेपीपलदेखि वडा नम्बर १८ को वडा कार्यालय हुँदै अम्बिकेश्वरी मन्दिर जाने सडक पिच निर्माण आयोजनाका लागि आरडी÷हाम्रो जेभीसँग २०७९ बैशाख ६ गते ३ करोड ४३ लाख ७५ हजार ९ सय २४ रुपैयाँमा असारमसान्तसम्ममा काम सक्ने गरी सम्झौता भएकोमा अहिलेसम्म काम सकिएको छैन ।

जसका कारण नगरबासीले अनावश्यक सास्ती भोग्न बाध्य भएका छन् । उपमहानगरले कामको जिम्मेवारी दिए अनुसार काम नगरेकाले म्याद थप गर्ने मनसायमा छैन । तर काम अलपत्र पर्ने अवस्था आउँदा यसको असर थप गम्भीर पर्ने आँकलन गरिएकाले कानूनी उपचार खोज्ने मनस्थितीमा पालिका पुगेको छ ।

सडक निर्माणका लागि नाला अलपत्र बनाउनेदेखि सडकभरी गिट्टी फिजाउँदा आवागमनमा समेत असर पुगेको स्थानीयको भनाई छ । काममा भईरहेको ढिलाइका बारेमा जानकारी लिन खोज्दा अधिकांश निर्माण व्यवसायीको मोबाईल अफ रहेको छ भने केहीको सम्पर्क नै हुन सकेन ।

Blog Post Ad Blog Post Ad