सुनिता ट्रस्टद्वारा विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण

घोराही, २५ असार । सुनिता ट्रस्ट फाउन्डेसन, दाङले गरिव, विपन्न तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति वितरण गरेको छ । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धित सुनिता ट्रस्ट फाउन्डेसनले शुक्रबार घोराहीका विभिन्न विद्यालयमा अध्ययनरत दलित विपन्न तथा जेहेन्दार छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
फाउन्डेसनकि अध्यक्ष आशमानी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य एवं फाउन्डेसनका सल्लाहकार सोगतबीर चौधरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा माध्यमिक विद्यालय रझेना, रात्रि प्राथमिक विद्यालय पलाँसे, पद्मोदय माबि भरतपुर र गोग्ली विद्यालयमा अध्ययनरत ३१ जना छात्रछात्राहरुलाइ छात्रवृत्ति हस्तान्तरण गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि पाण्डेले स्वर्गीय सुनिता चौधरीको अधुरा सपना पूरा गर्न फाउन्डेसन जन्मिएको हुँदा यसबाट सामाजिक, शैक्षिक लगायत क्षेत्रमा रुपान्तरण आउने विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक रुपमा विपन्न परिवारका बालबालिका पढाईमा अब्बल तथा जेहेन्दार हुँदाहुँदै पनि पढ्नबाट वन्चित हुन नपरोस् भन्दै फाउन्डेसनले गरेको यश प्रकारको हौसलाले शिक्षामा पहुँच बढाउन ठुलो योगदान दिएको बताउनुभयो ।
अहिले पनि दूरदराजका विपन्न बालबालिका विभिन्न कारणले सहज रुपमा शिक्षा, स्वास्थ्यको पहुँचमा पुग्न संघर्षरत रहेको तीतो यथार्थलाई सम्बोधन गर्ने काम स्थानीय सरकारको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले शिक्षामा सुधार गर्न सामुदायिक विद्यालयको स्तरीकरणमा अब विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा रात्रि प्रावि पलाँसेका प्रधानाध्यापक चामबहादुर विक, मावि रझेनाका मदन खनाल, फाउन्डेसनका आजीवन सदस्य जिवसरा घर्ती, रजनी श्रेष्ठ, ग्रामीण महिला उत्थान केन्द्रका एचबी थापा, मुक्त कमैया सन्तोली चौधरीलगायतले बोल्नुभएको थियो । फाउन्डेसनले आगामि दिनमा शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक विकासका लागि थप योजना बनाएर अघि बढ्ने जनाएको छ । कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्रकि सूचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो ।
यसैबीच, संस्थाले मावि भोजपुरमा अध्ययनरत विद्यार्थीहरुलाई पनि छात्रवृत्ति प्रदान गरेको छ । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रबर्द्धन गरेकाे अात्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले तुलसिपुर १४, भाेजपुरकाे बालमितेरी माध्यमिक विद्यालयमा छात्रवृत्ति सहयाेग गरिएको छ । कार्यक्रममा ३० जना जेहेन्दार, विपन्न समुदायकाे छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएकाे हाे । एक कार्यक्रमको आयोजना गरी संस्थाका संस्थापक सल्लाहकार सोगतबीर चौधरीले विद्यालयका लक्षित बालबालिकाहरुलाई शैक्षिक सामग्रीसहितको छात्रवृत्ति प्रदान गर्नुभएको हो ।
फाउन्डेसनले यसअघि पनि मावि गोग्ली र सानी अम्बापुर प्राविमा अध्ययनरत ४३ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको थियो ।