Ad Area

बजारमा खुलेआम ‘जंगली च्याउ’ बिक्रि


घोराही, २९ असार । हिजोआज बजारमा खुलेआम जंगली च्याउ बिक्रि हुने गरेको छ । कृषकले क्रृत्रिम रुपमा व्यावसायिक उत्पादन गर्ने च्याउ करिव बाह्रै महिना पाईने भएपनि वर्षायाम सुरु भएसँगै जंगलमा आफै च्याउ उम्रिने जंगली च्याउ प्रति उपभोक्ताको आकर्षण अलि बढी देखिने गरेको छ ।

यद्यपि, जंगली च्याउ खाँदा उच्च जोखिम हुन्छ । अहिले पनि जंगली च्याउ खाएर दैनिक जसो बिरामी परेको तथा केहीको ज्यान समेत गएको जस्ता दुखान्त घटना हुने गरेको छ । दाङमा पनि अहिले जंगली च्याउ बिक्रिका लागि खुलेआम बजारमा राखिने गरिएको छ । देउले च्याउ खानलाई खासै जोखिम नभएपनि अरु प्रकारका च्याउ खाँदा बढी जोखिम मानिने गरेको छ । तर, जंगलमा पाईने सबै प्रकारका च्याउ बिक्रिका लागि राख्दा उपभोक्ताले खरीद गरेको च्याउ खाँदा जोखिम मोल्नु पर्ने अवस्था छ ।

बजारका चोक चोकमा जंगलबाट टिपेर ल्याइएका च्याउ खुलेआम बिक्रि गरिए पनि च्याउको अवस्था बारे कसैले चासो लिएको पाईँदैन । व्यावसायिक रुपमा सुरक्षित ढंगले उत्पादन गरेका च्याउ सस्तो मुल्यमा पाईने गरे पनि जंगली च्याउ निकै महंगो खरीद गरी खाने गरेको पाईको छ ।

देउले च्याउ मुठाकै एक सय पचास रुपैयाँसम्म बिक्रि हुने गरेको छ । यस्तै, अरु प्रकारका जंगली च्याउ पनि पाँच सय रुपैयाँ प्रति किलोका दरले व्यापारीहरुले बिक्रि गर्दै आएका छन् । बजारका चोक चोकमा बसेर जंगली च्याउ बिक्रि गरिरहँदा ती च्याउ खान लायक हुन् वा होईनन् भन्ने बारेमा सरोकार निकाय भने बेखबर छ ।

जंगली च्याउ खाएकै कारण कोही कसैलाई स्वास्थ्यमा समस्या आए को जिम्मेवार हुने भन्ने बारे पनि टुंगो छैन । घोराहीको मुख्य चोकमा बसेर जंगली च्याउ बिक्रि गर्दै आएकाहरुको आम्दानीको श्रोत भए पनि च्याउ खान लायक हो वा होईन भन्ने बारे नियमन हुनु पर्ने कतिपयको भनाई छ । तर, यस बारे कसैले चासो नलिएको उनीहरुको बताउँछन् ।

च्याउ एकप्रकारको ढुसीजन्य वनस्पती हो । यसको धागो जस्तो आकारको अवस्थालाई माइसेलियम भनिन्छ । यही धागो जस्तो ढुसीबाट च्याउ आकारको ठूलो फ्रुटिङ्ग बडी निस्कन्छ । च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरु प्रशस्त मात्रामा पाइन्छ ।

Blog Post Ad

जंगलमा उम्रने सबै च्याउहरु खान योग्य हुदैनन् । जंगलमा पाइने च्याउ विषाक्त पनि हुन्छन् । विषाक्त च्याउ पकाउँदा पनि त्यसमा भएकोे विष नष्ट हुदैँन । जंगलमा पाइने च्याउहरु खान विषाक्त छ वा छैन छुट्याउन पनि सकिदैन । त्यसैले विषाक्त च्याउ खाएर मानिसले अकालमा ज्यान गुमाएका खबरहरु समेत आई रहने हुँदा यसको जोखिम उच्च रहेको छ ।

विषाक्त च्याउबाट हुने जोखिमबाट बच्न च्याउको राम्रोसँग पहिचान गरेर मात्र खानुपर्ने भएपनि उपभोक्ताले क्रृत्रिम रुपमा व्यावसायिक उत्पादन गरिएको च्याउभन्दा स्वादिलो हुने भन्दै जंगली च्याउ खाँदा जोखम मोलिरहेका हुन्छन् ।

च्याउ खानै नहुने कुरा भने होइन । यो स्वादिलो र पोषक तत्वले भरिपूर्ण हुन्छ । च्याउमा प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि तत्व पाइन्छ । च्याउमा बोसो नगन्य मात्रामा पाइन्छ । यस्तै, च्याउमा प्रोटिन, भिटामिन ए, बी, सी तथा क्याल्सियम, फस्फोरस जस्ता खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छन् । त्यसैले च्याउलाई एक पौष्टिक स्वास्थ्यवर्धक परिकारको रुपमा लिने गरिन्छ ।

च्याउ एक प्रकारको वनस्पती हो । फूल नफुल्ने प्रजातिको भएकाले यो फन्जाई वर्गमा पर्छ । च्याउ एक प्रकारको ढुसी हो भन्दा पनि फरक पर्दैन । संसारमा तीन हजार ८ सय बढी प्रजातिको च्याउ पत्ता लागेका छन् । त्यसमध्ये एक हजार विषालु र दुई हजार खानयोग्य मानिन्छ ।

Blog Post Ad Blog Post Ad