Ad Area

गठबन्धनसँगै पार्टीभित्रकै अन्तरघात हारको प्रमुख कारण


दाङ, २९ असार । स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै २ महिनापछि नेपाली कांग्रेसले चुनावी समीक्षा थालेको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले मंगलवार स्थानीय तहको चुनावको समीक्षा र अबको रणनीतिका बारेमा समीक्षा गरेको हो ।

समीक्षामा बोल्ने अधिकांश नेता तथा कार्यकर्ताले निर्वाचनमा नेताहरुले बोल्ने व्यवहार एउटा र अदृश्यरुपमा गर्ने व्यवहार फरक भएकाले चुनावमा पराजय भोग्नुपरेको बताएका थिए । निर्वाचनले सिकाएको पाठलाई मूल्यांकन गरेर आगामी प्रदेश र संघीय निर्वाचनको तयारीमा जुट्नुपर्ने समेत सुझाव दिएका छन् । उनीहरुले त्यसका लागि पार्टीको विधि, विधान र सिद्धान्तअनुसार नेतादेखि कार्यकर्ताहरु अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

स्थानीय तह निर्वाचन समीक्षा तथा आगामी निर्वाचनको तयारी विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लै लड्दा पनि जीत सुनिश्चित भएका ठाउँहरुमा पार्टीभित्रको अन्तर्घातका कारण हार्नुपरेको आगामी निर्वाचनमा उम्मेदवार चयन गर्दा ध्यान दिनुपर्ने बताएका थिए । उनीहरुले कांग्रेसको खोल ओढेर कांग्रेसलाई नै सिध्याउन लाग्ने नेतादेखि कार्यकर्तासम्म जो कोही व्यक्तिलाई नेतृत्वले कारबाही गर्ने हिम्मत नगर्दासम्म पार्टीका उम्मेदवारहरुले हार ब्यहोर्नुपर्ने बताए ।

बक्ताहरुले समग्रमा देशभर गठबन्धनले पार्टीलाई फाइदा गरेपनि जिल्लाको सवालमा घाटा गरेको अधिकांसको भनाई थियो । पार्टीका लागि एकपछि अर्काे चुनौती देखिदासमेत नेतृत्वले निर्वाचनमा पार्टी र भातृसंघसस्थाहरुलाई परिचालन गर्न नसकेको नेताहरुले गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा संविधानसभा सदस्य राजु खनालले विगतको स्थानीय तह निर्वाचनबाट पाठ सिकेर आउने निर्वाचनमा नेपाली कांग्रेस पार्टीलाई बिजयी गराउने गरी सबै लाग्नुपर्ने बताए । त्यसका लागि एकले अर्कालाई दोषारोपन गर्नुभन्दा कमजोरीलाई सुधार गरेर पार्टीलाई बलियो बनाउन सबैले ध्यान दिनुपर्ने बताए ।

स्थानीय तहजस्तै आउने प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन रहने भन्दै उपसभापति खनालले त्यही अनुसार सबैले सोच्नुपर्ने बताए । ‘अहिलेसम्मको परिस्थितिअनुसार आगामी निर्वाचनमा पनि गठबन्धन हुने लगभग देखिन्छ’, खनालले भने– ‘त्यसैले गठबन्धन गर्दा पनि कांग्रेसलाई कसरी फाइदा हुन्छ भनेर सोचेर अघि बढ्न आवश्यक छ ।’ उनले पार्टीलाई बलियो बनाउन पार्टीसँगै भातृ संघसंस्थाहरुलाई पनि सक्रिय बनाएर गाउँ–गाउँसम्म नेता तथा कार्यकर्ताहरु पुग्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेयले पार्टीलाई बलियो बनाउँदै निर्वाचन जिताउनका लागि पार्टीका नेता तथा कार्यकर्ताले इमानदारीताका साथ पार्टीको निर्णयको पालना गर्नुपर्ने बताए । कांग्रेस हुँ भनेर भन्ने तर निर्वाचनका क्रममा पार्टीको निर्णयविपरित गएर अरु पार्टीलाई जिताउने व्यक्तिका कारण कांग्रेसले पटक–पटक चुनाव हार्नुपरेको भन्दै त्यसबाट सिक्नुपर्ने बताए ।

Blog Post Ad

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति बीरकेश्वरी गौतमले कांग्रेसलाई बनाउन अब कार्यकर्ताहरुदेखि पार्टीका नेतृत्वहरु इमानदारिताका साथ सच्चिनुपर्ने आवश्यकता देखिएको बताए । कार्यकर्ताभन्दा पनि नेतृत्व इमान्दारी नबन्दा स्थानीय तह निर्वाचनदेखि अन्य विभिन्न समयमा पार्टीका उम्मेदवारहरुले हार्नुपरेको भन्दै त्यसबाट नेतृत्वले सिकेर आगामी दिनहरुमा कदम चाल्नुपर्ने बताए ।

त्यसैगरी कांग्रेसका पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्काले बोलीमा इमानदारीता देखाउने तर व्यवहारमा नेताहरु इमानदार नबन्दा पार्टीले प्रमुख ठाउँमै निर्वाचन हार्नुपरेको बताएका थिए । कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुन श्रेष्ठले स्थानीय तह निर्वाचनको समीक्षासँगै जनताले मत पराएका व्यक्तिलाई पार्टीले निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने बताए ।

पार्टीमा जनताको आस्था भए पनि व्यक्तिवादी अहमताका कारण कतिपय स्थानमा पार्टीले निर्वाचन हार्नुपरेको भन्दै उनले पार्टीलाई बलियो र सशक्त बनाउँदै आउने निर्वाचनमा जिताउनका लागि व्यक्तिबादी अहमता छोड्नुपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा बोल्ने कांग्रेसका पूर्व जिल्ला सहसभापति मोहनलाल वली, नेपाली कांग्रेस दाङका उपसभापतिद्वय कमानसिंह भारती, गिरिराज सुवेदी, जिल्ला सचिव अर्जुनकुमार योगी, महासमिति सदस्य भूपबहादुर डाँगी, महासमिति सदस्य गोपालराज शर्माले स्थानीय तह निर्वाचनमा गठबन्धनप्रति दलहरु इमान्दार बन्न नसक्दा पार्टीले हार्नुपरेको बताएका थिए । साथै उनीहरुले त्यसबाट पाठ सिकेर आगामी आउने निर्वाचनमा जनताले पत्याएको लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने गरी सोच्नुपर्ने बताएका थिए । अस्तित्वको जगमा असन्तुष्टि राख्नुपर्ने भए पनि केही व्यक्ति अस्तित्व नै मेट्नेगरी लाग्दा कांग्रेसले निर्वाचन हारेको बताए ।

नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेताहरू भरतबहादुर न्यौपाने, बमबहादुर डिसी, कांग्रेसका नेता नदन शर्मा, नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य सुशीला थापा, कांग्रेसका घोराही नगर सभापति तिलक रावत, कांग्रेसका जिल्ला सदस्य खेमराज बिश्वकर्मा, नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, नेपाली कांग्रेस क्षेत्र नं. १ का सदस्य गोपाल नेपाली, घोराही उपमहानगरपालिका १९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझी, नेपाली कांग्रेसका घोराही उपमहानगरपालिका–१७ का सभापति बुझौना चौधरी, नेपाली कांग्रेस घोराही–१८ का वडा सभापति केशरबहादुर रावत, नेपाली कांग्रेस तुलसीपुर १७ का लालबहादुर गिरी, गोविन्द मजगैयाँ, नारायण जीएम, बीरेन्द्र खड्का, दिलिपकुमार डिसीलगायतले बोलेका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं. १ (क) सभापति तथा क्षेत्र नं. २ का उपसभापति प्रकाश श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव हिमबहादुर डाँगीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad