Ad Area

लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर धान डुवानमा


लगातारको वर्षा र बाढीले लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुबेको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति भएको हो ।

प्रदेशभर कुल खेती भएको ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमध्ये ५५ हजार ५४ हेक्टर क्षेत्रफको धान भने किसानले भित्र्याएका छन् । ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान काट्न बाँकी छ ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै बर्दियामा १० हजार हेक्टर जमिनको धानमा क्षति पुगेको प्रदेश कृषि विकास निर्देशनालयकी बाली विकास अधिकृत सुनैना बराइलीले बताइन् । बर्दियामा २५ हजार २ सय हेक्टर जमिनको काट्न बाँकी छ ।

कपिलवस्तुमा काटेर खेतमै राखिएको ८ हजार ८ हेक्टर क्षेत्रफलको धानमा क्षति भएको छ । जिल्लामा २७ हजार ४ सय ५५ हेक्टर खेतमा धान काट्न बाँकी छ ।

दाङमा काटेर खेतमै राखिएको ३ हजार ४ सय हेक्टर जमिनको धानमा क्षति पुगेको छ । दाङमा ४ हजार ३ सय हेक्टर जमिनको धान काट्न बाँकी छ ।

बाँकेमा काटेर खेतमै रहेको ७ हजार ५ सय हेक्टर जमिनको धानमा वर्षाले क्षति पु¥याएको छ । त्यस्तै १० हजार हेक्टर जमिनको धान काट्न बाँकी छ भने १ हजार १ सय हेक्टर जमिनको धान भित्र्याइएको छ ।

रुपन्देहीमा काटेर खेतमा रहेको ३ हजार ४ सय ६८ हेक्टर जमिनको धानमा क्षति पुगेको छ । जिल्लामा २० हजार ७ सय ९३ हेक्टर खेतको धान काट्न बाँकी छ ।

प्यूठानमा काटेर खेतमै रहेको ३ हजार ७ हेक्टर जमिनको धानमा क्षति पुगेको छ भने ७ सय ८८ हेक्टर खेतको धान काट्न बाँकी छ ।
नवलपरासी पश्चिममा काटेर खेतमै रहेको ४ सय १० हेक्टर जमिनको धानमा वर्षाले क्षति गरेको छ भने ४ हजार १ सय हेक्टर खेतको धान काट्न बाँकी छ । रुकुम पूर्वमा काटेर राखेको ४ सय १२ हेक्टर खेतको धान डुबानमा परेको छ ।

गुल्मीमा काटेर खेतमै रहेको ८ हेक्टर खेतको धान बर्षाले भिजाएर क्षति पु¥याएको निर्देशनालयले जनाएको छ ।
पाल्पामा काटेर खेतमै रहेको २ सय ७० हेक्टर जमिनको धानमा क्षति पुगेको छ । पाल्पामा २ सय ६५ हेक्टर खेतको धान काट्न बाँकी छ । रोल्पामा २५ हेक्टर खेतको धान बालीमा क्षति पुगेको छ । त्यस्तै ३५ हेक्टर जमिनमा लगाइएको मकै र १३ हेक्टरमा गरिएको सिमी बालीमा पनि वर्षाले क्षति पु¥याएको छ ।

अर्घाखाँचीमा वर्षाले धान बालीमा खासै क्षति नपु¥याएको निर्देशनालयले जनाएको छ । बर्षाले धान डुबानमा परेको र भिजेको भएपनि कति क्षति भयो भन्ने यकिन भइनसकेको बाली विकास अधिकृत सुनैना बराइलीले बताइन् ।