Ad Area

दाङमा साढे ६ हजार मतदाता थपिए


घोराही, ६ साउन । दाङमा पछिल्लो एक महिनामा मात्रै करीव साढे ६ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार असारमा मात्रै जिल्लाभरबाट ६ हजार ४ सय ८९ जना नयाँ मतदाता थपिएका हुन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्न असार १ गतेबाट परिपत्र गरेसँगै जिल्लास्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र दुई वटा ईलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलनको काम भईरहेको छ ।

निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार असार १ गतेबाट शुरु भएको पछिल्लो मतदाता नामावली संकलन अन्तर्गत जिल्ला निर्वाचन कार्यालयबाट १ हजार ६ सय २९, जिल्ला प्रशासनबाट १ हजार १ सय ७२ तथा ईलाका प्रशासन कार्यालयबाट ३ हजार ६ सय ८८ जनाको नामावली संकलन भएको छ ।

यस्तै, बाहिरी जिल्लाका व्यक्तिहरुले पनि जिल्लामा मतदाता नामावली संकलन गराउनुभएको छ । निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरका अनुसार, १ सय ८३ जनाले मतदाता नामावलीमा नाम समावेश गरेका छन् । दाङमा बैशाख ३० गतेको निर्वाचनमा ४ लाख ९ हजार ९ सय मतदाताले निर्वाचनमा भाग लिएका थिए । नेपाली नागरिकता बनेपछि मतदाता नामावलीमा नाम समावेश गर्न सकिने प्रावधान भएपछि अहिले अधिकांशले मतदाता नामावलीमा आफ्नो नाम समावेश गरिरहेका छन् ।

मतदाता नामावलीमा नाम समावेश गर्न नागरिकता, अन्यत्रबाट आएको भए बसाईसराईको प्रमाण पत्र, महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र आवश्यक पर्ने सूचनता अधिकारी कुवँरले बताउनुभयो । प्रदेश र संघीय निर्वाचन मिति घोषणा नहोऊञ्जेलसम्म मतदाता नामावली संकलन जारी रहनेछ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad