ब्याज दर पुनर्विचार गर्न दाङका उद्योगी व्यवसायीको माग

घोराही, ६ साउन । बैंक व्याजदर वृद्धिले उद्योग तथा व्यावसायीहरु मारमा परेको भन्दै दाङका उद्योग वाणिज्य संघहरुले फिर्ता लिन माग गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार भएको जिल्ला भरका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकले पटक–पटक ब्याज वढाउँदा उद्योगी तथा व्यवसायीहरुलाई अप्ठेरो परेकाले ब्याज सम्वन्धी पुनर्विचार गर्न समेत माग गरेका छन् । बैठकले उद्योगी तथा व्यवसायीहरुलाई पुनर्कर्जाको व्यवस्था मिलाउन समेत माग गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिनुभयो । बैठकमा निजी क्षेत्रमा देखिएका समस्या, समस्या समाधानका लागि भईरहेका कार्यहरु, जिल्लाका विकास निर्माणमा निजी क्षेत्रले गर्दै आएका कार्यलगायत विषयमा छलफल गरिएको थियो ।
बैठकले निजी क्षेत्रको समस्या समाधानको लागि सहकार्य गरेर अगाडि बढनुपर्ने सहभागीहरुको भनाई थियो । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान उपाध्यक्ष हेमराज बन्जाडे, दाङ जिल्ला उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, संघका उद्योग उपाध्यक्ष अनिल आचार्य, संघका महासचिव महेन्द्र बुढाथोकी, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खडका, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण वुढाथोकी, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्री, शान्तिनगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, बिजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतमलगायतले भनाई राख्नुभएको थियो ।