Ad Area

यौन व्यवसायमा लगाएको अभियोगमा ३ जना पक्राउ


घोराही, ७ साउन । घोराहीमा होटल व्यवसायीकै संलग्नतामा यौन व्यवसाय हुने गरेको पाइएको छ । केही व्यक्तिले युवतीलाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय दाङले यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा होटल संचालकसहित तीन जनालाई पक्राउ गरेपछि घटना बाहिरिएको हो ।

घोराही १४ बसपार्कमा रहेको दाजुभाइ होटलमा यौन धन्दा हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा उक्त कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

२० वर्षीया युवतीलाई उक्त होटलमा ग्राहकसँग रकम लिएर यौन क्रियाकलाप गराउने गरेको पक्राउ परेका अभियुक्तहरुले स्वीकार गरेका छन् । पीडित युवतीले प्रहरी समक्ष जाहेरी दिएपछि यो घटना बाहिर आएको हो ।

ती युवतीलाई बाध्य पारी यौन क्रियाकलापमा संलग्न गराएको अभियोगमा जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर बस्ने वर्ष ५० का इन्द्रबहादुर केसी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ घर भई घोराही बसपार्कमा दाजुभाइ होटल सञ्चालन गर्दै आएका वर्ष ३६ का झमन विक र घोराही उपमहानगरपालिका १० नारायणणपुर बस्ने वर्ष ४२ की सिता विकलाई पक्राउ गरेको छ । उनीहरुलाई बुधबार बिहान करीव १० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

‘आफूले पनि शारीरिक सम्पर्क गर्ने र होटलमा लैजाने अनि अरु ग्राहक खोजेर आर्थिक लाभ उठाउने गरेको पाइएको छ’ प्रहरी नायव उपरीक्षक रिजालले भन्नुभयो, ‘ग्राहकसँग मोटो रकम लिएर केही रकम युवतीलाई दिने र धेरै आफै राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ, हामी यस बारे वृहत अनुसन्धान गरिरहेका छौँ ।’

पक्राउ परेका ईन्द्रबहादुरले सामान्य चिनजानको आधारमा शुरुमा आफैले ती युवतीसँग शारीरिक सम्पर्क गर्ने गरेको र पछि होटलमा लगेर ग्राहकसँग अवैध कार्यमा लगाउने गरेको पाइएको छ ।

Blog Post Ad

‘पीडितले जाहेरी दिएपछि उनीहरूलाई नियन्त्रणमा लिएका छौं, अदालतबाट म्याद थपेर थप अनुसन्धान पनि गर्दैछौं’ उहाँले भन्नुभयो, ‘अनुसन्धान जारी छ, यो अत्यन्तै गम्भीर अपराध हो ।’ मानव बेचविखन तथा ओसार पसार मुद्दामा दोषी ठहर भए १५ देखि २० वर्षसम्म कैद र १ देखि २ लाख रुपैयाँ सम्म जरिवानाको कानूनी व्यवस्था रहेको प्रहरीको भनाई छ ।

Blog Post Ad Blog Post Ad