Ad Area

आगामी निर्वाचनको तयारी शुरु, सरोकारवालासँग छलफल


घोराही, ७ साउन । सरकारले संघीय र प्रदेशको निर्वाचन मिति नतोके पनि यसको आन्तरिक तयारी शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय जिल्लास्थित राजनीतिक दल, दाङका १० वटै पालिका प्रमुख एवं अध्यक्ष, सुरक्षा निकाय प्रमुखलगायतसँग निर्वाचन सुरक्षा तथा मतदान केन्द्रको बारेमा प्रारम्भिक छलफल गरेको छ ।

जिल्ला प्रशासनमा गरिएको छलफलमा मतदान केन्द्रका रुपमा यसअघि तय भएका ठाउँमध्ये केहीमा प्राविधिक समस्या देखिएकाले त्यसको विकल्प खोज्नुपर्ने, मतदाताको चाप धेरै भएका ठाउँमा केन्द्र थप्नुपर्ने लगायत विषयमा छलफल भएको छ । जिल्ला मतदान स्थल तथ मतदान केन्द्र सिफारिस समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन संचालन कार्यविधिका बारेमा राजनीतिक दलहरुलाई जानकारी गराउने, निर्वाचन प्रयोजनका लागि अपनाउनु पर्ने पूर्व तयारीका बारेमा खासगरी छलफल भएको हो ।

समिति अध्यक्ष रेग्मीले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि तोकिएका मतदान केन्द्र र मतदान स्थलको समिक्षा गर्दै मतदानका दिन भएको केही मतदान केन्द्रमा भएको असहजतालाई दृष्टिगत गर्दै ती मतदानको विकल्प खोज्नु पर्ने अवस्था रहेको राजनीतिक दलहरुबाट सुझाव आएको बताउनुभयो ।

‘हामीले अब हुने निर्वाचन सफल बनाउन के–के कुरामा ध्यान दिनुपर्ने अवस्था छ भनेर निर्वाचन आयोगको आग्रहमा जिल्लाका सरोकारवालाहरुसँग प्रारम्भिक छलफल गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, ‘समस्यारहित कसरी बनाउन सकिन्छ भन्ने बारेमा सबैको चासो भएको छ ।’ पालिकाका जनप्रतिनिधिहरुले पनि अब हुने निर्वाचनलाई थप व्यवस्थित बनाउन पालिका पनि गम्भीर रहेको बताउँदै मतदाता शिक्षा, निर्वाचनको महत्वका बारेमा गाउँगाउँमा सचेतना फैलाउने बताउनुभएको छ ।

यस्तै, जिल्लाका केही स्थानमा यसअघि तोकिएका मतदान केन्द्रहरु भौगोलिक रुपमा असहज भएका कारण मतपेटिका संकलनमा कठिनाई भएको स्मरण गर्दै ती स्थानको सही विकल्प खोज्न राजनीनिक दलहरुले आग्रह गर्नुभएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । ‘प्रारम्भिक सुझावका रुपमा निर्वाचन व्यवस्थित बनाउने गरी काम अघि बढाउन आग्रह गरिएको छ, आएका सुझावलाई हामीले सिफारिस गर्ने हो,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, ‘तर आएका सबै सुझाव कार्यान्वयन हुन्छ भन्ने हुदैन, मतदान केन्द्र थप्ने र अपायक ठाउँमा थप सुरक्षा सुधार गर्न सबैको जोडबल छ ।’

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले राजनीतिक दलहरुले निर्वाचनलाई निष्पक्ष, निर्भय र मतदातामैत्री बनाउने सवालमा रचनात्मक सुझाव दिनुभएको बताउनुभयो । ‘सबै जनाबाट निर्वाचनको काम सफल बनाउन सहयोगको प्रतिवद्धता आएको छ,’ जिल्ला निर्वाचन अधिकारी भण्डारीले भन्नुभयो, ‘समितिले गर्ने सिफारिसका आधारमा हामीले माथिल्लो निकायमा पहल गर्छौँ ।’

Blog Post Ad

बैशाख ३० गते भएको निर्वाचनमा दाङमा १ सय ५३ मतदान स्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएको थियो । उक्त निर्वाचनमा जिल्लाका केही दुर्गम स्थानबाट मतपेटिका मतगणना स्थलसम्म ल्याउन समस्या भएको थियो ।

बैठकमा जिल्लाका सबै राजनीतिक दल, पालिकाका जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले, रणसिंह दलका प्रमुख सेनानी, राष्ट्रिय अनुसन्धानका अधिकृतलगायतको उपस्थिती रहेको थियो ।

Blog Post Ad Blog Post Ad