Ad Area

मानव कल्याण समाजलाई दाङ उद्योग वाणिज्य संघको खाद्यान्न सहयोग


घोराही ३, कार्तिक । दाङ जिल्ला उद्योग वाणिज्य संघको वर्तमान कार्यसमिति पदाधिकारीको टोलीले घोराहीस्थित मानव कल्याण समाजलाई करीव ४० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ । व्यक्तिगत खर्च कटाएर पदाधिकारीको टोलीले दशैंको अवसरमा बुधबार सामाजिक उत्तरदायित्व अन्तरगत समाजलाई सो सहयोग गरेको हो ।

व्यक्तिगत रुपमा रकम जम्मा गरी २२ जनाको टोलीले चामल १५ बोरा, मिक्स दाल २ बोरा, चिनी १ बोरा , नुन १ बोरा, तेल २ पेटी, आलु १ बोरा, दाल मोठ १ बोरा लगायत दैनिक उपभोग्य बस्तु गरी ३९ हजार १ सय रुपैयाँको सहयोग गरेको हो । संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा पुगेको सो टोलीले समाजको सेवाघरकी सदस्य सुस्मिता श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा अध्यक्ष बुढाथोकीले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवामा पनि जोडिनुपर्छ भन्ने सबैको सामुहिक विचार आएपछि केही भएपनि सहयोग पुगोस् भनेर व्यक्तिगत रुपमा रकम जम्मा गरेर सेवाघरलाई आवश्यक खाद्यान्न सहयोग गरेको बताए ।

उनका अनुसार संघले संस्थागत रुपमा पनि विपद, जोखिममा परेकाहरुलाई सहयोग गर्दै आएको छ । संघका आवद्ध आफ्ना सदस्यहरुलाई पनि विपदका बेलामा सहयोग गर्दै आएको स्मरण गराउँदै उनले आम नागरिकको समस्याका आधारमा पनि संस्थागत रुपमा पनि विभिन्न खालका सहयोग हुने गरेको बताए ।

Blog Post Ad

सहयोग हस्तान्तरण कार्यक्रममा सेवाघरकी सहयोगी श्रेष्ठले सबै मनकारीहरुको सहयोगबाटै संस्था चलिरहेको बताईन् । कुनै पनि बाहिरी संघसंस्थाको आर्थिक सहयोग नरहेको जानकारी गराउँदै सबै नेपाली दाजुभाइको कृपा र सहयोगबाट संस्थामा रहेकाहरुको जीवन गुजारा हुँदै आएको बताईन् । उनका अनुसार त्यहाँ बस्नेहरुका लागि सबैभन्दा ठूलो समस्या भनेकै खाद्यान्न हो । उद्योग वाणिज्य संघको तर्फबाट भएको सहयोगले संस्थालाई निकै ठूलो राहत मिलेको उनको भनाई थियो ।

‘अब एक बोरा चामल र केही मात्रामा दाल थियो, सबै सकिन लागेको बेलामा यहाँहरुले यसरी खाद्यान्न सहयोग गरेर हामीलाई ठूलो गुन लगाउनु भएकोमा सहयोग गर्नुहुने सबैलाई सेवाघरका तर्फबाट धन्यवाद छ,’ सेवाघरकी सदस्य श्रेष्ठले भनिन्, ‘यहाँ बसीरहनु भएकाहरुको लालनपालनमा यस प्रकारको सहयोगले राहत मिलेको महशुस गरेका छौँ ।’

संघका अध्यक्ष टंकसिंह बुढाथोकीसहित निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, नरेश कार्की, रामप्रसाद पोख्रेल, महेन्द्र बुढाथोकी, नरेश कुमार श्रेष्ठ, सुशील पोख्रेल, राजभक्त राना, भरतप्रसाद रेग्मी, देवकला बस्नेत, माधव खनाल, ज्ञानबहादुर फौदार क्षेत्री, एकनारायण पौडेल, जगतप्रसाद आचार्य, जुद्ध बहादुर घर्ती, विकास वली, बिनोद पाण्डे, विष्णु प्रसाद गौतम, विष्णु प्रसाद रिजाल, लिलाराम खड्का, सन्तोष सोनी र मित्रदेव अधिकारीले व्यक्तिग रुपमा रकम उठाएर सहयोग गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्न गएको टोलीले सेवाघरमा बस्दै आएकाहरुलाई टीका जमरा लगाई दिएर दशैं मनाएको छ । विभिन्न कारणले परिवारबाट अलग हुन पुगेका, सडकमा जीवन बिताउँदै आएका, मानसिक सन्तुलन गुमाएकाहरु लगायतलाई उद्धार गरी सेवाघरमा ल्याईएकाहरुसँग दशैं मनाउन पाउँदा आफुहरुलाई पनि मनमा बेग्लै खुशी मिलेको संघका पदाधिकारीहरुको अनुभव थियो । टीका लगाई दिँदै संघका अध्यक्ष बुढाथोकीले सेवाघरमा निर्धक्कका साथ बस्न, अनुशासित बन्न, आफ्नो स्वास्थ्यमा ध्यान दिन आशिर्वाद दिँदा उनीहरुले धन्यवाद व्यक्त गरे ।

आम नेपालीहरुको साझा सहयोगले चलेको सेवाघरमा हाल ३७ जना बस्दै आएका छन् । स्याहारेसहित ४० सदस्य बस्दै आएको सो संस्थालाई मानवताको श्रोत केन्द्र बनाउने लक्ष्य राखिएको छ । कुनै पनि कारणले कोही पनि सडकमा जीवन बिताउन नपरोस्, घरपरिवारबाट टाढिएकाहरुलाई परिवारको माया दिन सकियोस्, विभिन्न कारणले मानसिक सन्तुलन गुमाएकाहरुलाई असल शिक्षासँगै माया दिएर आनीबानीमा परिवर्तन गर्न सकियोस् भन्ने उद्देश्य रहेको सेवाघरकी सदस्य श्रेष्ठले बताईन् ।

‘हामी मानव जातिको साझा संकल्पबाट असल कामलाई सफल बनाउन अघि बढेका हौँ, आजसम्म यो अभियानमा जोडिनुभएका सबै प्रति आभारी छौँ, आगामी दिनमा पनि आफुले जे सक्नु हुन्छ सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा हो, उनले भनिन्, ‘सबैको सकारात्मक सहयोगबाट दाङलाई मानवीय सुन्दरताको जिल्ला बनाउने मानव कल्याण समाजको अठोट छ ।’

Blog Post Ad Blog Post Ad