बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७पुग्यो !
दाङ ३, कार्तिक । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ ।
गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् । पाँचथरपछि बढी मानवीय क्षति हुने जिल्ला इलाम बनेको छ । इलाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् , ३ जना बेपत्ता छन् ।
यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । यस्तै पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ । यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २–२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक-एक जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५÷५, बैतडी र इलाममा २÷२, कालीकोट र डडेलधुरामा एक÷एक जना घाइते भएका छन् ।