Ad Area

न्यायपालिकाको गरिमा बचाई राख्न बारको भूमिका अतुलनीय-मुख्य न्यायाधीश दिक्षित


घोराही, ७ साउन । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दिक्षितले स्वतन्त्र न्यायपालिकाको गरिमा बचाई राख्न बारको भूमिका अतुलनीय रहने हुँदा आगामी दिनमा पनि निष्पक्ष न्यायको पक्षको वकालत गर्न आग्रह गर्नुभएको छ ।

अभिवक्ताहरुको छाता संगठन जिल्ला बार इकाई दाङको ४१ औँ साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि मूखय न्यायाधीश दिक्षितले पीडितले न्याय र पीडकले कानून बमोजिम सजाय पाउने मात्रै नभई अपराधमुक्त समाज निर्माणका लागि कानूनी सचेतना अभिवृद्धिमा पनि भूमिका बढाउन सचेत गराउनुभयो । न्याय सम्पादनका लागि बारले सहयोगी भूमिका खेलेकै कारण अदालतले सिमित न्यायाधीशका बावजूद पनि धेरै मुद्धा फछ्र्यौट गर्न सफल भएको बताउनुभयो ।

बारका अध्यक्ष शिवप्रसाद घिमिरेको अध्यक्षतामा भएको उदघाटन सत्रमा जिल्ला अदालत दाङका न्यायाधीश विशिष्ट अतिथि रितेन्द्र थापाले कानून न्यायालयका तर्फबाट कार्यान्वयनका लागि हरप्रयास भईरहेको बेला बारले अहम् भूमिका खेलेको भन्दै जिल्लामा पनि न्याय सम्पादनका दृष्टिकोणले धेरै सफलता मिलेको बताउनुभयो । मुद्धाको बढ्दो चापमा बारले धेरै विषयहरुमा सहजीकरण गरिदिँदा न्याय दिलाउन सम्भव भएको बताउनुभयो । बार र न्यायालयबीचको सम्बन्ध सुमधर भएमात्रै नागरिकले उचित न्याय पाउने हुँदा आगामी दिनमा पनि संविधान र कानून कार्यान्वयनमा भूमिका कायम राख्न आग्रह गर्नुभयो ।

जिल्ला बारको उदघाटन सत्रमा उच्च अदालत तुलसीपुरकी न्यायाधीश बबिता उप्रेती, वरिष्ठ अधिवक्ताहरु भानुभक्त धिताल, रेवतीरमण भट्टराईलगायतले बोल्नुभएको थियो । बारको बन्द सत्रले सचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ठाकुरप्रसाद गिरीको आर्थिक प्रतिवेदन पारित गरेको छ । जिल्ला बार इकाईका उपाध्यक्ष मणिराज आचार्यको स्वागत मन्तव्यबाट शुरुभएको उदघाटन सत्रको सहजीकरण सचिव संजयकुमार केसीले गर्नुभएको थियो ।

यसैबीच, जिल्ला बार ईकाईको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आगामी २१ गते निर्वाचन हुने भएको छ । ११ सदस्यीय नयाँ कार्यसमितिका लागि १ सय ३३ जना सदस्यले मतदान गर्ने हुनुभएको छ । जसका लागि वरिष्ट अधिवक्ता घनश्याम थापाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचक कमिटी गठन गरिएको छ । संस्थाको आगामी ३ वर्षे कार्यकालका लागि मतदानबाट नयाँ नेतृत्व चयन हुनेछ ।