सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमै चालकको आँखा जाँच

लमही, ९ साउन । बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएपछि ट्राफिक प्रहरी कार्यालय, दाङले चालकको स्वास्थ्य परीक्षणको अभियान सुरु गरेको छ । आँखाको स्वास्थ्य ठीक भएमात्रै चालकले सवारी साधन सही रुपमा चलाउन सक्ने र दुर्घटना हुनबाट जोगिने हुँदा आईतबारबाट आँखाको स्वास्थ्य परिक्षण अभियान अघि बढाइएको बताइएको छ ।
दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले पहिलो चरणमा देउखुरीको लमहीमा चालकहरुको आँखा परीक्षण गरिरहेको छ । निशुल्क रुपमा आँखा जाँच गराउन पाउँदा चालकहरु निकै उत्साहित भएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ४ का चालक शिवकुमार चौधरी आईतबार लमही बसपार्कमा आँखा जाँच गराउन उभिनुभएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र लमही आँखा अस्पतालको संयुक्त आयोजनामा भएको आँखा जाँच शिविरमा उहाँ जस्तै थुप्रै चालक, सहचालकहरुले पनि आफ्नो आँखा जँचाउन आउनुभएको थियो ।
चालकको लापरवाहीका कारण हुने दुर्घटना रोक्न सडकमै सवारी रोकेर आँखा परीक्षण गर्न थालेपछि चालकहरुलाई पनि निकै सहज भएको छ । लमही आँखा अस्पतालसँगको सहकार्यमा आँखा तथा रक्तचाप समेत परिक्षण गर्दा आफुमा आँखा सम्बन्धी समस्या नरहेको थाहा पाएको लमही नगरपालिका वडा नम्बर ४ का चालक सोरीराम चौधरीको भनाई छ ।
सार्वजनिक सवारी चलाउनका लागि अनुमतिपत्र लिँदा बाहेकको उहाँले आँखा देखाउनुभएको थिएन । तर, सवारी चलाउँदा होस् वा अन्य कुनै काम गर्दा आँखा राम्रो देखिएन भने त्यसले भयानक दुर्घटना निम्त्याउन सक्छ भनेर चौधरीले आँखा जाँच गराउनु भएको बताउनुहुन्छ । आँखा जाँच गराउँदा सबै राम्रै रहेको रिपोर्ट आएपछि उहाँ ढुक्क हुनुभएको छ ।
बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएपछि ट्राफिक प्रहरी कार्यालयले यो अभियान निरन्तर हुनुपर्ने चालकहरुको भनाई छ । आँखाको अवस्था कस्तो छ ? कलर भिजन कस्तो ? रक्तचापको अवस्था कस्तो छ ? भन्ने जस्ता कुराका बारेमा स्थलगत रुपमा परिक्षण गर्न पाउँदा लमही ६ का चालक रेशमप्रसाद सुवेदी पनि निकै दंग हुनुभएको छ । आफुमा आँखा सम्बन्धी कुनै समस्या छ की भन्ने शंका हटेको उहाँको भनाई थियो ।
आफ्नो स्वास्थ्यतर्फ ध्यान नदिने गरेको र बिहानदेखि रातीसम्म सवारी चलाउँदा दुर्घटना हुने सम्भावना भएकाले अभियान शुुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झबिन्द्र परियारको भनाई छ ।
‘आँखाको स्वास्थ्य ठीक हुनुपर्छ, चालक आफु स्वस्थ भएमात्रै उसले सवारी साधन सही ढंगले चलाउन सक्छ र सवारी दुर्घटना हुनबाट जोगिन्छ भन्ने मान्यतामा हामी छौँ, यही अभियानमा जिल्ला ट्राफिक प्रहरी अघि बढेको छ,’ उहाँले भन्नुभयो ।
साउनको १० गतेसम्म लमहीमा आँखा जाँच अभियान चल्नेछ । बस, ट्याक्टर, टिप्पर, ट्रक, जीप लगायतका सवारी साधन चालकको आँखा परीक्षण भईरहेको ट्राफिक प्रहरीको भनाई छ । चालकको आँखा जाँच गरिएकामा केही चालकमा कलर भिजनको समस्या देखिएको छ । लमहीबाट शुरु भएको यो अभियान बिस्तारै जिल्लाभर गरिने भएको ट्राफिक प्रहरीको भनाई छ ।
सवारी चालकले आँखा जाँच नगराउँदा दुर्घटनाको उच्च जोखिम रहने भएकाले ट्राफिक प्रहरीले सवारी चालकको आँखा जाँच गराउन थालेको हो । नेपालमा दुई लाख २० हजार जनामा कुनै न कुनै प्रकारको अन्धोपना रहेको सरकारी तथ्यांक पाईन्छ ।