Ad Area

नागरिकता विधेयकले देश ‘फिजिकरण’ हुने जनमोर्चाको दावी


घोराही, ८ साउन । राष्ट्रिय जनमोर्चा दाङले संघीय संसदबाट हालै पारित भएको नागरिकता विधेयकको विरुद्धमा विरोध सभा गरेको छ । मधेशमा बस्ने भारतीयहरुलाई नागरिकता बाँडेर देश बिखण्डन गर्ने गलत काम भईरहेको भन्दै जनमोर्चाले राष्ट्रघाती नागरिकता विधेयक फिर्ताको माग गरेको छ ।

आईतबार घोराहीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले नागरिकता विधेयक नेपाली जनता र स्वाधीनताको पक्षमा नभएको बताउनुभयो । नेपाली नागरिकले नागरिकता पाउनु हुदैन भन्ने मान्यता आफुहरुको नभएको स्पष्ट पार्दै जन्मसिद्धको आधारमा नागरिकता लिएर अब फेरी वंशजको आधारमा नागरिकता लिने अनि देशलाई विखण्डनको दिशामा लैजाने काम हुन थालेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले मधेशमा भारतीयहरुको राज्य बनाउने खेल भईरहेको तर्क गर्दै बाहिर हेर्दा नेपाल यहीँ भएपनि मुलुकको सबै बागडोर भारतको हातमा सुम्पने काम हुन थालेको बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघ दाङका जिल्ला सचिव मनिराम खनालले यसअघि जन्मसिद्धको आधारमा ४७ लाखले नागरिकता पाएको स्मरण गराउँदै अब थप ७ लाखलाई नागरिकता दिएर आधा करोड भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता दिएर नेपाली नागरिक बनाउने षड्यन्त्र भईरहेको तर्क गर्नुभयो ।

२०६२–०६३ को आन्दोलन ताका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले र मधेशवादी दलको प्रपञ्चमा रचिएको षडयन्त्रले देश अहिलेको अवस्थामा आएको हुँदा अब नेपाली नागरिक जाग्नु पर्ने बेला आएको उहाँको भनाई थियो ।

जनमोर्चाका प्रदेश सल्लाहकार सुरेश थापाले नागरिकता विधेयकले देश फिजिकरण हुने दावी गर्नुभयो । जनताको समस्या एकातिर हुँदा हुँदै नेताहरुका काम गर्ने शैली देश सकाउनेतिर हुन निकै दुखद रहेको उहाँको भनाई थियो । अब देशका नाममा नेपाल रहेपनि सबै नियन्त्रण भारतको हातमा सुम्पने काम हुन लागेको भन्दै गलत कामको भण्डाफोरमा लाग्न राष्ट्रवादी नेपालीहरुको आग्रह गर्नुभयो । विरोध सभाको सहजीकरण जिल्ला सदस्य सुशील पोख्रेलले गर्नुभएको थियो ।