Ad Area

तुलसीपुरमा अन्तर कलेजस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु


लक्ष्मण बस्नेत
दाङ, १० साउन । दाङको तुलसीपुरमा अन्तर कलेज स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०७९ सुरु भएको छ ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा मंगलवारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी गरेका हुन ।
प्रतियोगीताको उद्घाटन गर्दै केन्द्रीय सदस्य गिरीले खेलकुदको विकासका लागि स्थानीयस्तरबाटै पहल हुन आवश्यक रहेको बताएका थिए ।
मावन समाज र अनुशासनको मेरुदण्ड खेलकुद भएको भन्दै नेता गिरीले खेलक्षेत्रको विकासले स्थानीय खेलाडीको प्रतिभा पहिचानसँगै खेलकुदको विकासमा सहयोग पुग्ने बताएका हुन ।

प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुदको बिकासमा स्थानीय सरकार गम्भीर बन्न नसकेको बताएका थिए । उनले निजी क्षेत्रबाट खेलकुद क्षेत्रमा लगानी गर्न इच्छुक भइराहँदापनि स्थानीय निकायले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण फराकिलो बन्न नसकेको बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–६ का अध्यक्ष दुजमान भण्डारी, दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्य, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागीलगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । राप्ती किङ प्रशिक्षण केन्द्रका सल्लाहकार केदारराज श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबिच प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा संचालित प्रतियोगिताको पहिलो दिन अरनिको मावि रोल्पा, शिदेश्वरी मावि रुपन्देही र मुसिकोट बहुमुखी क्याम्पस कलङ्गाले बिजयी सुरुवात गरेका छ्न । त्यस्तै प्रतियोगिता अन्तरगत बुधबार बिहान ७ बजे न्यु होराईजन रुपन्देही र जनश्रम मावि खाद्रे भिड्नेछन् । दोश्रो खेल भिमसेन मावि र गोरखा मावि ब्लुबिच खेल हुनेछ । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवद्र्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पु¥याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ, बाँके, रुपन्देही, रुकुम पश्चिम, सल्यान र रोल्पा जिल्लाका कलेज तथा विद्यालयहरुको २० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ छ । त्यसैगरी उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार १ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिएका छन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत बिधातर्फ खेलाडीलाई पुरस्कृत गरिनेछ । जस अनुसार सर्वोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्वर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad