Ad Area

अरनिको मावि र मुसिकोट क्याम्पसको टिम क्वाटर फाईनलमा


दाङ,११ साउन । दाङको तुलसीपुरमा जारी अन्तर कलेजस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०७९ मा अरनिको मावि नुवागाँउ रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाईनलमा प्रवेश गरेको छन् ।

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिताको बुधवार सम्पन्न प्रिक्वाटर फाईनल खेलमा राप्ती बबई क्याम्पस तुलसीपुरलाई २५–१६,२५–२१ अर्थात २–० को सोझो सेटमा पराजित गर्दै अरनिको मावि नुवागाँउ रोल्पाले क्वाटर फाईनल यात्रा तय गरेको हो ।

त्यस्तै दोस्रो प्रिक्वाटर फाईनल खेलमा आरती टेक्निकल कलेज सल्यानलाई २५–१५, २५–१५ अर्थात २–० को सोझो सेटमा पराजित गर्दै मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिमले क्वाटर फाईनल यात्रा सुरक्षित गरेको हो । यसैबिच प्रतियोगिता अन्तरगत बिहिवार बिहान क्वाटर फाईनल प्रवेशका लागि हुन खेलमा शिदेश्वरी मावि रुपन्देही र महेन्द्र रत्न मावि पिपलनेटा सल्यान भिड्नेछन् ।

त्यस्तै दोस्रो प्रिक्वारमा न्यु होराईजन मावि रुपन्देही र गोरखा मावि तुलसीपुर (रातो) बिच खेल हुने आयोजक राप्ती किङ प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिएका छन् । नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ,बाके,रुपन्देही,रुकुम पश्चिम,सल्यान र रोल्पा जिल्लामा स्थापित विद्यालय तथा कलेजका २० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ छ । त्यसैगरी उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार १ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिएका छन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत बिधातर्फ खेलाडीलाई पुरस्कृत गरिनेछ । जस अनुसार सर्वोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्वर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad