Ad Area

बाढीपहिरो डुबान अपडेट- देशभर ८२ जनाको ज्यान गयो, अर्बौँको क्षति !


दाङ ४, कार्तिक । आईतबारबाट लगातार परेको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर देशभर ८२ जनाको ज्यान गएको पुष्टि भएको छ । गृह मन्त्रालयले ८२ जनाको ज्यान गएको पुष्टि गरेको हो ।

सबैभन्दा धेरै पाँचथरमा २७ जनाले ज्यान गुमाएका छन् । यस्तै, इलाममा १३, डोटीमा १२, धनकुटामा सात, हुम्लामा ६, सुनसरीमा ५, बैतडीमा चार, प्युठान, बझाङ र उदयपुरमा दुई-दुई जनाले ज्यान गुमाएका छन् । सोलुखुम्बु, मोरङ, डडेल्धुरा र कालीकोटमा एक-एक जनाले ज्यान गुमाएका खबर छ ।

बाढी पहिरोमा अझै २६ जना हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताईन् । उनका अनुसार सबैभन्दा धेरै बझाङमा २१ जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । यस्तै, बाढी पहिरोबाट ३० वटा घर पूर्ण रुपमा भत्किएका छन् । सरकारी संरचनामा भएका क्षतिबारे भने तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । बाढी, पहिरो र डुबानबाट १९ जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन् ।

पाँचथर, इलाम, डोटी, धनकुटा, हुम्ला, जुम्ला, सुनसरी, बैतडी, कालीकोट, कञ्चनपुर, बर्दिया, कैलाली, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत, बझाङ, मोरङ, डडेलधुरा प्रभावित भएका छन् । यस्तै, बाढी पहिरोका कारण ठाउँ–ठाउँमा पर्यटकहरु अलपत्र परेका छन् ।

उनीहरुको नेपाली सेनाले उद्धार गरिरहेको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । खबर आउनासाथ हेलिकप्टर उद्धारमा खटिने विपद् व्यवस्थापन महाशाखा प्रमुख पाण्डेले बताइएन् ।

लगातारको वर्षाले कृषि क्षेत्रमा पनि ठूलो असर गरेको छ । कृषकले घरमा भित्र्याउने तयारी गरेका धानमा क्षति गर्दा हजारौँ कृषक मारमा परेका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad