कविता : बसाइँ सारिदेऊ’
पुरन शर्मा
दुःख धेरै छन् मेरा
पीडा थुप्रै छन् मसँग
धुलो, धुवा, कोलाहल
अट्टहास् / चित्कार
नचाहेपनि सुन्नुपर्ने/भोग्नुपर्ने
खै कस्ले सुन्यो र !
कस्ले सुन्ला ?
###
तिमी सुन्छौ भने सुन् !
म त्यै, सडक छेऊमा
उभ्याइएको शालिक ।
जस्लाई तिमी
सत्तामा नभए,वर्षमा सम्झन्छौं
###
म नमारिदै बरु खुशी थिए ।
बन्दुकका वीचमा पनि
भिषण युद्धमै खुशी थिए ।
आज/अहिले भन्दा
पीडाभित्रको, ठूलो पीडा
हिजो जस्को बिरोधमा मैले
आवाज उठाउदा गोली खाएँँ ।
उसैको आदेशमा मारिएँ ।
उही मान्छे/राक्षस्
मेरै फोटो/ब्यानरमा नाम लेखाइ
मैमाथि धुलो/हिलो छ्यापदै
हुइकिन्छन,चिल्ला गाडीमा ।
###
अँझ,बिरक्तको क्षण !
हाम्रा रगतले लत्पत्तिएको हातले
हाम्रै गलामा, माला पासो हाल्छ ।
उहीँ हत्यारा मण्डलले/पञ्च
मेरै अगाडी ‘कामरेड’ भन्दै
हत्याराको हातबाट
टीका/माला लगाउनुभन्दा
खुनी शरिरको अत्तर सुङ्नुभन्दा
रुन्चे अनुहारको अट्टहास् हेर्नुभन्दा
बसाइँ सर्न चाहन्छु म ।
###
किसानको खल्यानमा/मजदुरको आँगनमा
के सक्छौ सार्न मेरो बसाइँ ?
बजार/शहरबाट हटाउ मलाई
मारिएपछि त् ! कम्तिमा
शान्तिपूर्वक बस्न देऊ !
मेरो बसाइँ सारिदेऊ!!
२०७९÷४÷१२