Ad Area

२० वर्षमा २९८७४ युनिट रगत खपत


दाङ, १३ साउन । २० वर्षको अवधिमा जिल्लामा ३० हजार ३ सय ६० युनिट रगत संकलन भएको छ भने २९ हजार ८ सय ७४ युनिट रगत वितरण भएको छ ।

रक्त सञ्चार केन्द्र घोराहीका अनुसार २०५९ सालदेखि २०७९ असार मसान्तसम्ममा त्यो मात्रामा रगत संकलन भएको हो । जिल्ला पहिलोपटक सदरमुकाम घोराहीबाट व्यवस्थितरुपमा रगत संकलन तथा वितरणको काम सुरुवात भएको थियो ।

आजभोलि जिल्लाको घोराही, तुलसीपुर र लमहीबाट रगत संकलनको काम हुने गरेकोछ । पहिलेभन्दा रक्तदाताहरुको संख्या बृद्धि भए पनि अझै पनि सहज रुपमा रगत प्राप्त गर्न सक्ने वातावरण भने भएको छैन । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका नागरिकलाई निःशुल्क रगतको व्यवस्था गरेको छ । उपमहानगरपालिको चालु आर्थिक वर्षको वार्षिक नीति कार्यक्रममा निःशुल्क रगतको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

त्यो अनुसार रक्त सञ्चार केन्द्र घोराहीसँग सम्झौताको काम शुरु भएको छ । घोराही र तुलसीपुरमा पहिलेबाट नै संकलन गरिँदै आएको पनि लमही अघिल्लो वर्षदेखि सुरु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा ५ हजार २ युनिट रगत संकलन भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलिप न्यौपानेले बताए । ५ हजार ५२ युनिट रगत वितरण गरिएको थियो । घोराहीमा २ हजार ६ सय ७० युनिट संकलन भएको थियो भने २ हजार ७ सय ७५ युनिट वितरण भएको थियो ।

तुलसीपुरमा १ हजार ३ सय ४५ युनिट संकलन भएकोमा १ हजार २ सय १३ वितरण गरिएको थियो भने लमहीमा ९ सय ७ युनिट संकलन गरिएको र १ हजार ६४ युनिट वितरण गरिएको थियो । सबैभन्दा बढी बि पोजेटिभ रगत संकलन भएको उनको भनाइ छ । आर्थिक वर्ष २०७७÷०७ मा जिल्लामा २ हजार ५ सय ४६ युनिट संकलन गरिएको थियो भने २ हजार ५ सय ६१ युनिट वितरण गरिएको इञ्चार्ज न्यौपानेले बताए ।

आर्थिक वर्ष २०७६÷०७७ मा २ हजार २ सय ५१ युनिट रगत संकलन भएको थियो भने २ हजार ३ सय १ वितरण गरिएको थियो । अहिले रक्तदाताहरु संघसंस्थाहरुमार्फत खोजी गरिने गरेको छ । संघसंस्थामार्फत अगाडि बढ्दा धेरैलाई समेटिने भएकाले संघसंस्था प्राथमिकता दिने गरेको इञ्चार्ज न्यौपानेले बताए । पहिलेभन्दा रक्तदाताहरुको संख्या बृद्धि भए पनि अझै पनि सहजरुपमा रगत प्राप्त गर्न सक्ने अवस्था भने भएको छैन ।

Blog Post Ad

रक्त सञ्चार सेवा दिवसमा सम्मान

यसैविच ५६औँ रक्त सञ्चार सेवा दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको छ । घोराहीमा आयोजना गरिएको कार्यक्रममा रक्तदान गर्ने संघसंस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले रक्तदान सबैभन्दा जीवनदान भएकाले यसको महत्व बुझाउन सक्नुपर्ने बताएका थिए । खेर जाने रगतले कसैलाई बचाउन सक्ने भएकाले यो ठूलो दान भएको उनीहरुको भनाइ थियो । रक्तदानका बारेमा बुझाउन सकेमा रगत दान गर्नेहरुको संख्या वृद्धि हुँदै जाने सहभागीहरुको भनाइ थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नागरिकको सहयोगले नागरिकलाई बचाउन सकिने बताए । रगतको महत्वका बारेमा नागरिकलाई बुझाउन आवश्यक रहेको उनको भनाइ छ ।

घोराही उपमहानगरपालिकाले सबै नागरिकलाई निःशुल्क रगत प्रदान गर्ने उनले बताए । बिरामीलाई सहजताको लागि रक्त सञ्चार केन्द्रसँग सम्झौता भइसकेको उनले बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका डम्बर कुँवर, नेकपा माओवादी केन्द्रका विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला सभापति नारायण आचार्यको अध्यक्षतामा भएको थियो । मिनराज शर्मा पण्डितको स्वागत मन्तव्यबाट सुरु भएको रक्त सञ्चार सेवा दिवस २० वर्षमा २९८७४ युनिट रगत खपत कार्यक्रमको सहजीकरण रेडक्रसका मन्त्री प्रकाश श्रीवन्दले गरेका थिए ।

 

Blog Post Ad Blog Post Ad