Ad Area

टरिगाउँ एयरपोर्टको बाउजर फिर्ता लैजाने तयारी गरेपछि विरोध


दाङ,१५ साउन । दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा ल्याइएको बाउजर फिर्ता लैजाने तयारी गरिएको छ । गत बैशाख ३० गतेको स्थानीय निकाएको निर्वाचन भन्दा केही समय पहिले बाउजर यहाँ लाइएको थियो ।

निर्वाचनको समयमा बाउजर ल्याएपनि फेरि अहिले फिर्ता लैजाने तयारी भइरहेको भन्दै त्यसको नागरिक स्तरबाट ब्यापक गुणासो भइरहेको छ ।तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित एयरपोर्टमा आउने विमानका लागि इन्धन भर्न (रिफिलिङ गर्न) सहजहोस भनेर बाउजर ल्याइएको थियो ।

तर, एकाएक ल्याइएको बाउजर फिर्ता गर्न थालिएपछि त्यसको ब्यापक विरोध भइरहेको छ । तुलसीपुरका प्रतिष्ठित ब्यापारी तथा टरिगाउँ एयरपोर्ट विस्तार र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका बिमल रिजालले ल्याइसकेको बाउजर फिर्ता लैजान कुनैपनि हालतमा दिन नहुने बताए ।

‘‘यो त हामी दंगाली र तुलसीपुरबासीको भावनामाथि खेलवाड भयो’, रिजालले भने, ‘ त्यसको हामी सबै नागरिक स्तरबाटै बिरोध हुन आवश्यक छ ।’ नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधिसमेत रहेका रिजालले आँफुले इन्धन डिपो प्रमुखदेखि दलका नेताहरु सबैलाई गुहारेको भएपनि आवश्यक परे सबै एयरपोर्ट जान तयार हुनुपर्ने बताए ।

तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव विनिल केसीले नागरिक दबाब तथा आन्दोलन आवश्यक रहेको बताए । ‘यस क्षेत्रको विकास चाहाने सबै क्षेत्रका ब्यक्तिहरु आजै एयरपोर्ट जाऔं र आइसकेको बाउजर लैजान पाइदैन भनेर स्पष्ट सन्देश दिऔं,’ केसीले भने ‘आइसकेको रिफिलिङ मेसिन फेरि फिर्ता लैजानु भनेको एयरपोर्टको भविश्य थप अनिश्चित हुनु हो ।’ त्यसको विरोधमा सबै उत्रन जरुरी रहेको र सबै क्षेत्रसंग विरोधका लागि कुरा भइरहेको उनले बताए ।

त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले बाउजर नलैजानका लागि आग्रह गरेको बताए । ‘ मलाई धेरै साथीहरुले फोन गरि बाउजर लैजान थालेको बारे चिन्ताहरु जाहेर गर्नु भएको छ,’ नेता गिरीले भने ‘ मैले सम्बन्धित ब्यक्तिहरुलाई फोन गरि बाउजर लैजान पाइदैन भनेको छु ।’

Blog Post Ad

गत स्थानीय तहको निर्वाचनको समयमा भोट तान्नलाई कम्युनिष्टहरुले बाउजर आएको हल्ला गरि आँखामा छारो हाल्न खोजेको हुँदा समस्या निम्तिएको उनले बताए । ‘सत्य के रहेछ आज स्पष्ट भयो नि,’ उनले भने ‘ यहाँको लागि यो बाउजर आएकै रहेन छ । तैपनि हामीले फोन गरि नलैजान आग्रह गरेका छौं।’

Blog Post Ad Blog Post Ad