Ad Area

घोराहीको सावर्जनिक सुनवाई : सेवा नागरिकमैत्री नभएको गुनासो


दाङ, १५ साउन । नगरवासीहरुले नागरिकलाई सहज सेवा प्रदान गर्न आग्रह गरेका छन् । घोराही उपमहानगरपालिकाले आयोजना तथा थारु पत्रकार संघको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका सेवाग्राहीले पालिकाबाट प्रदान गरिने सेवा अझै पनि नागरिकमैत्री बन्न नसकेको भन्दै सुधार गरेर जान सुझाव दिएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. ३ का डिल्लीबहादुर चौधरीले वडा नं. ३ मा प्रसुति सेवा सुरु हुन नसकेको बताए । भवन निर्माण भएको लामो समय भए पनि नागरिकले सेवा पाउन नसकेको उनको भनाइ छ । उक्त स्थानमा छिट्टो प्रसुति सेवा सुरु गर्न समेत आग्रह गरे ।

घोराही–१५ मा बेचन वलीले नगरपालिकाले धेरै थोरै काम गर्नका लागि समान बजेट दिँदा काम गर्न उपभोक्ताहरुलाई समस्या हुने गरेको बताए । ‘५ सय मिटर पिच गर्नका लागि पनि ५ लाख १५ सय मिटर पिच गर्न पनि ५ लाख बजेट कसरी काम गर्ने’, उनले भने– ‘यस प्रकारको कार्य परिवर्तन गर्न जरुरी छ ।’

सामाजिक सुरक्षा भत्ता लिनका लागि जेष्ठ नागरिकले दुःख पाउने गरेको भन्दै उनले त्यसको सहजीकरण गर्न समेत आग्रह गरे । घोराही–७ बेसाहीका चन्द्रप्रसाद चौधरीले नदीजन्य वस्तु ठेक्का लगाउँदा सिँचाइको लागि समस्या भएको बताए । ‘पैसाको लागि खोला बेच्दा कृषकले समस्या भोग्नुपरेको छ’, उनले भने– ‘खोला गहिरिँदा कुलाबाट पानी लैजान नसक्ने अवस्था छ । कृषकहरुले खेती लगाउनसमेत पाएका छैनन् ।’

भैसाहीका रामबहादुर केसीले सिस्ने खोलामा ढुंगा, गिट्टी उत्खनन् गर्न दिँदा कुलो तल खस्न लागेको बताए । खस्न लागेको कुलो निर्माणमा उपमहानगरपालिकाले सहययोग गर्नुपर्ने उनको भनाइ छ । आफूहरुको क्षेत्रमा विद्युतको पोल गाडेको लामो समय भए पनि तार नतानिएको बताए । घोराही–१३ का दयाजी रोकाले उपभोक्ता समितिले योजनाको काम गर्दा धेरै समस्या भोग्नुपरेको भन्दै यसलाई सहज बनाउनुपर्ने बताए ।

योजनाको डिजाइन गर्दा जिल्ला दररेटको आधारमा स्टीमेट गरिनुपर्ने उनको सुझाव छ । जिल्लाको दररेट अनुसार योजना स्टीमेट गर्दा समस्या भोनुपरेको उनले बताए । काम गर्दा कर्मचारीहरुले समेत दुःख दिने गरेको उनले बताए । नगरका सबै वडाहरुमा सार्वजनिक सुनाइ नहुने गरेको बताए । सबै वडामा सार्वजनिक सुनुवाई गर्ने व्यवस्था गर्न समेत आग्रह गरे ।

Blog Post Ad

घोराही–४ का खुसल घिमिरेले बैशाख महिनामा नै योजना सम्पन्न हुने गरेर काम अगाडि बढाउनुपर्ने बताए । वर्षातको समयमा विकास निर्माणका काम गर्दा गुणस्तरीय नहुने समेत उनले बताए । बजेट निर्माण गर्दा सरोकारवालासँंग छलफल गरे निर्माण गरिनुपर्ने बताए । उनले घोराही–४ को भकारेमा निर्माण हुने भनिएको नगर अस्पताल निर्माणका कार्य कहाँ पुग्यो ? भनेर प्रश्न समेत गरे ।

घोराही–१० का गणेश लम्सालले दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए । ‘कुन क्षेत्रमा के विकास निर्माण गर्ने भनेर योजना बनाएर अगाडि बढ्न आवश्यक छ’, उनले भने । टोल विकास संस्थाहरुलाई व्यवस्थित गर्न समेत आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले नगरका सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य लगायतका विषयमा प्रश्न राखेका थिए ।

प्रश्नको जवाफ दिँदै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नगरपालिकाले कृषकहरुलाई सिँचाइको समस्या पर्ने खोलाहरुमा नदीजन्य वस्तुको ठेक्का नलगाउने बताए । ‘आम्दानीभन्दा क्षति बढी हुनेमा नगरपालिकाले ठेक्का लगाउँदैन’, नगर प्रमुख चौधरीले भने । नगरवासीको भावनाभन्दा उपमहानगर बाहिर नजाने उनको भनाइ थियो । सीमित बजेटले धेरै काम गर्नुपर्दा समस्या हुने गरेको बताए । ‘माग धेरै तथा बजेट थोरै हुँदा यस प्रकारको समस्या भएको छ’, उनले भने ।

उपप्रमुख हुमा डिसीले बजेटको सदुपयोग गर्न सबै लाग्नुपर्ने बताइन् । योजना बनाउँदा प्राविधिकहरुले विशेष ध्यान दिन आवश्यक रहेको उनले बताइन् । कार्यक्रममा निमित प्रमुख प्रशासकीय अधिकृत विनोद गौतमलगायत विषयगत शाखाका प्रमुखहरुले प्रश्नको उत्तर दिएका थिए । कार्यक्रमको सहजीकरण नवीन चौधरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad