Ad Area

दाङमा स्वास्थ्य बीमा कार्यक्रममा नागरिककाे पहुँच निकै कम


घोराही, १९ साउन। दाङमा स्वास्थ्य बिमा कार्यक्रममा नागरिककाे सहभागीता निकै कम देखिएको छ । जिल्लामा हालसम्म करीव २३ हजार व्यक्तिले मात्रै स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बिमा बोर्ड, दाङका अनुसार जिल्लामा २०७७ माघबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म २२ हजार ९ सय ६४ परिवार मात्रै स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् ।

सरकारले नागरिकको उपचार सहज बनाउन तथा आर्थिक भार कम गरी स्वास्थ्य उपचारमा नागरिकको पहुँच बढाउने लक्ष्यका साथ शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम जिल्लामा शुरु भएको डेढ वर्षको अवधिमा लक्ष्य अनुसार निकै कम व्यक्ति सहभागी भएका छन् । स्वास्थ्य बिमा बोर्ड दाङका कार्यालय प्रमुख गोपीलाल वलीका अनुसार, २०७७ माघ १० गतेबाट दाङमा शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा बजार क्षेत्रका केहीले बिमा कार्यक्रममा सहभागीता जनाए पनि अझै गाउँपालिका स्तरमा यसको पहुँच पुग्न सकेको छैन ।

रकम अभाव, ग्रामीण भेगमा सूचनाको पहुँल नपुग्नु तथा दर्ता सहयोगीको भूमिका प्रभावकारी नहुँदा स्वास्थ्य बिमा कार्यक्रममा नागरिकको चासो निकै कम रहेको उहाँको भनाई छ । हरेक पालिकाको वडा स्तरमा स्वास्थ्य बिमा दर्ता सहयोगी राखिए पनि उनीहरुले प्रभावकारी काम नगर्दा अपेक्षित रुपमा जिल्लामा करीव ३ प्रतिशतले मात्रै स्वास्थ्य बिमा गराएका छन् । जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार दाङमा ६ लाख ७६ हजार जनसंख्या रहेको छ ।

२०७७ माघ १० गतेदेखि २०७७ चैत्र ३० गतेसम्म ५ हजार ६३ परिवार, २०७८ बैशाख १ गतेदेखि असार ३० गतेसम्म १ हजार ८ सय ६८ परिवार, २०७८ साउन १ गतेदेखि असोज ३० गतेसम्म १ हजार ५ सय ४२ परिवार, कार्तिक १ गतेदेखि पुस ३० गतेसम्म १ हजार ४ सय २८ परिवार तथा २०७८ माघदेखि चैत्र ३० गतेसम्म ६ हजार ८९ परिवारले स्वास्थ्य बिमा गराउनुभएको तथ्यांक छ । यही अवधिमा जेष्ठ नागरिक, अपांगता भएका ६ हजार ६ सय ५६ जनाको पनि निशुल्क स्वास्थ्य बिमा गरिएको छ ।

अहिले पनि जिल्लाका सय वटै वडामा स्वास्थ्य बिमा कार्यक्रम पुर्याउन बिमा दर्ता सहयोगी खटाइएकोमा पालिकाका जनप्रतिनिधिहरुले पनि भूमिका सकारात्मक रुपमा नखेलेको पाइएको छ । पालिकाका प्रमुख स्वास्थ्य बिमा कार्यक्रमको संयोजकका रुपमा रहने व्यवस्था छ । दाङको घोराही, तुलसीपुर क्षेत्रमा केहीले स्वास्थ्य बिमा गराए पनि अन्य पालिकाका यसको पहुँच निकै कम रहेको स्वयम् स्वास्थ्य बिमा बोर्ड दाङका प्रमुख वलीले बताउनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका सदस्यहरुको निशुल्क उपचारका लागि विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग समन्वय गरि सेवा प्रदान गर्दै आएको छ । बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बिमा पावतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बिमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था छ ।

Blog Post Ad

स्वास्थ्य बिमा सुरक्षा कार्यक्रम अन्तर्गत बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार सेवा दिने व्यवस्था मिलाइएको छ । त्यस्तै, सरकारले तोकेको निशुल्क औषधी प्राप्त गर्दै आएका छन् । अहिलेसम्म देशका ६९ जिल्लामा सात आठ लाख घरपरिवारका ४० लाख जना बिमा कार्यक्रममा सहभागी भएका छन् ।

स्वास्थ्य बिमा गराएकाहरुले अहिले जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल र लमही अस्पतालबाट सेवा लिई रहेका छन् । अन्य ३ ठाउँमा पनि यो सुविधा दिने गरी सूचिकृत गरिएकोमा हालसम्म कोही पनि त्यहाँबाट सेवा नलिएको पाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हालसम्म ७ हजारभन्दा बढीले सेवा लिन सफल भएका छन् भने राप्ती प्रादेशिक अस्पतालबाट पाँच हजार बढीले सेवा लिएका छन् । उता, लमही अस्पतालबाट पनि सय जनताले यो सेवा लिएको पाइएको छ ।

स्वास्थ्य बिमा गराएका नागरिकले उपचार सेवा पाउन अहिले पनि विभिन्न खालमा समस्या भोग्न परिरहेको गुनासो गर्ने गरेका छन् । उनीहरुले कागजी प्रकृया झन्झटिलो भएको तथा आफुलाई परेको स्वास्थ्य समस्याको सहज उपचारका लागि सूचीकृत नभएको ठाउँमा पनि उपचार नपाउने अवस्था हुने हुँदा व्यवहारिक कठिनाई रहेको बिरामीहरुको अनुभव छ । उता, स्वास्थ्य सेवा प्रदान गर्दै आएको सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले पनि स्वास्थ्य बिमा बोर्डले अतिरिक्त कर्मचारी व्यवस्थापन नगरेकाले सिमित श्रोत साधनबाट सेवा दिनुपर्दा निकै समस्या भएको बताउने गरेका छन् ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरकी स्वास्थ्य बिमा वार्डकी सहजकर्ता रेखा बुढाले उपचार सेवा दिन कठिनाई नभएपनि बिरामीको कागजी प्रकृया मिलाउन व्यवहारिक कठिनाई हुने गरेको बताउनुभयो । उता, स्वास्थ्य बिमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा दिँदै आएको लमही अस्पतालका स्वास्थ्य बिमा वार्ड सहजकर्ता सन्तराम चौधरीले अहिलेसम्म उपचार सेवा लिएका बिरामीको बिमा रकम दावी गर्न निकै चुनौति रहेको बताउनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा लिँदै आएका बिरामीका बारेमा हेर्दै आउनुभएकी सहजकर्ता दुर्गा श्रेष्ठले पनि कागजी प्रकृया निकै लामो हुने तथा बिमा रकम दावी गर्दा समय लाग्ने हुँदा अस्पताललाई आर्थिक भार पर्ने गरेको बताउनुभयो तर बिरामीले आफुले गरेको स्वास्थ्य बिमावापतको उपचार सेवामा कुनै समस्या नभएको बताउनुभयो ।

स्वास्थ्य बिमा बोर्डका अनुसार, ५ जनासम्मको परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेर बिमा गरेमा वार्षिक १ लाखको, ६ जनाको परिवारको हकमा ४२ सय रुपैयाँ तिरेमा १ लाख २० हजार बराबरको स्वास्थ्य सेवा तथा सोही अनुपातमा परिवार संख्याको आधारमा २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचारसहित औषधीमा सहुलियत पाउने व्यवस्था मिलाइएको छ । तर, जेष्ठ नागरिक, अपांगता भएका, अति गरिव, एचआईभी एड्स संक्रमित, महिला स्वास्थ्य स्वयम्सेविकाहरुको हकमा भने यो सुविधा निशुल्क गरिएको बिमा बोर्डका दाङ प्रमुख वलीले बताउनुभयो ।

जिल्लाका सबै तहमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहले दर्ता सहयोगीको भूमिकालाई बढाउन जरुरी रहेको प्रमुख वली बताउनुहुन्छ । उहाँका अनुसार, प्रत्येक पालिकामा संयोजन समिति छ । त्यही संयोजन समितिले अब स्थानीय नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमका बारेमा सचेतीकरण बढाउन सकेमा यसको महत्व बढ्ने उहाँले बताउनुभयो ।

तर, अहिलेसम्म जिल्लाको अवस्था हेर्दा ज्ञान बाँड्ने र स्वास्थ्य बिमा कार्यक्रममा जोड्ने काम सार्थक बन्न सकेको छैन । सरकारले २०७२ चैत्र २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बाग्लुङसहित ३ जिल्लाबाट यो कार्यक्रम शुरु गरेको थियो ।

Blog Post Ad Blog Post Ad