Ad Area

घोराहीमा विद्यालय अनुगमन,स्कुलको अवस्था बुझदै उमहानगर


अमरराज आचार्य
दाङ, १९ साउन । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयको अवस्थाका बारेमा जानकारी लिन थालेको छ । शिक्षा महाशाखाले विद्यालय अनुगमन गरेर सामुदायिक विद्यालयहरुमा विद्यार्थी, शिक्षक, पूर्वाधार अवस्थाका बारेमा जानकारी लिन थालेको हो ।

विद्यालयहरुको अवस्थाका बारेमा जानकारी लिएपछि विद्यालय सुधारका लागि अगाडि बढ्ने र विद्यालयको शैक्षिक सुधारमा सहयोग पुग्ने उपमहानगरपालिकाले यो अभियान थालेको घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक तथा उपमहानगरका प्रवक्ता राममणि पाण्डेले बताए । उनका अनुसार विद्यालयमा पुगेर स्कुलको समग्र अवस्थाका बारेमा जानकारी लिने काम भएको छ ।

विद्यालयमा पुगेर विद्यालयमा विद्यार्थीको संख्या, शौचालयको अवस्था, कक्षा कोठाको अवस्था खानेपानीको अवस्था, शिक्षक दरबन्दी, अध्यापन गराउँदा शैक्षिक सामग्री प्रयोग गरेको–नगरिएको, छात्रवृत्ति वितरण भए नभएको, विद्यार्थीहरुलाई दिवा खाजा सरकारले तोकेको मापदण्डअनुसार खुवाएको–नखुवाएको, छात्राहरुलाई सेनिटर प्याडको व्यवस्था भएको–नभएको, समयमा विद्यालय सञ्चालन भए–नभएको लगायतका विषयको बारेमा जानकारी लिने काम भएको शिक्षा महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले बताए ।

उनका अनुसार जानकारी लिएपछि समस्यामा रहेका विद्यालयलाई सहयोग गरिने उनको भनाइ छ । ‘कुन विद्यालयमा के समस्या छ भनेर जानकारी लिइसकेपछि त्यसै अनुसार उपमहानगरपालिकाले सहयोग गर्नेछ’, उनले भने– ‘विद्यालयमा नै पुगेर अवस्थाको बारेमा जानकारी लिँदा यथार्थ जानकारी आउने छ ।’ आवश्यक पर्ने सहयोग गर्नसमेत सहज हुने उपमहानगरपालिकाले जनाएको छ ।

‘विद्यालयले माग गरेर मात्र नभई कार्यालय आफैले अनुगमन गरेर जानकारी लिन प्रभावकारी हुनेछ’, शाखा अधिकृत पौडेलले भने । कक्षा कोठा नपुगेको स्थानमा कक्षा कोठा बनाउन सहयोग गरिने, शौचालय समस्या भएकालाई शौचालय बनाउन सहयोग गरिने, खानेपानीको समस्या भएको विद्यालयमा खानेपानीको लागि सहयोग गरिने, विद्यार्थीहरु धेरै तर शिक्षक कम रहेको स्थानमा शिक्षक दरबन्दी थप गरिने भएको छ ।

अनुगमनको क्रममा देखिएका कमी–कमजोरीहरु सच्चाउन निर्देशन दिएको शाखा अधिकृत पौडेलले बताए । विद्यालयमा अध्यापन गराउँदा शैक्षिक सामग्रीहरु प्रयोग गर्न समेत अनुगमन टोलीले जनाएको छ । शैक्षिक सामग्रीको प्रयोग गरेर अध्यापन गराउँदा शिक्षण सिकाइसमेत प्रभावकारी हुने अनुगमन टोलीको भनाइ छ । त्यसैगरेर विद्यार्थीहरुलाई खुवाइने दिवा खाजाको प्रत्येक दिनको तालिका सबैले देखिने गरेर नराखेको भन्दै राख्न समेत निर्देशन दिएको अनुगमन समितिले जनाएको छ ।

Blog Post Ad

रजिष्टरमा छन्, कक्षामा छैनन् विद्यार्थी

विद्यालयहरुको अनुगमनको क्रममा विद्यार्थीहरुको हाजिरीमा भन्दा कक्षामा उपस्थिति कम रहेको पाइएको छ । रजिष्टरमा विद्यार्थी संख्या रहे पनि कक्षामा भने उपस्थिति कम रहेको देखिएको थियो । लामो समयसम्म कक्षामा अनुपस्थित नरहेका बिद्यार्थीको नाम समेत रजिष्टरमा रहेको पाइएको थियो । लामो समयसम्म विद्यालय नआउने विद्यार्थीहरुको नाम रजिष्टरबाट हटाउन समेत अनुगमन समितिले निर्देशन दिएको थियो ।

विद्यालयहरुले भने अहिले विद्यार्थीहरु बिरामी भएको कारण कम उपस्थित भएको जनाएका थिए । त्यसैगरेर नाम लेखाउने त्यसपछि भारतमा जाने गरेकाले पहिले धेरै देखिएको र अहिले कम भएको बताएका थिए । अभिभावकहरुसँगै बालबालिकाहरु पनि जाने भएकाले यस प्रकारको समस्या भएको उनीहरुको भनाइ छ ।

विद्यालय नआउने तर नाम मात्र राखिरहने र उनीहरुको नाममा समेत समेत दिवा खाजाको लागि रकम माग गरिँदा रकम दुरुपयोग हुने देखिएको छ । त्यसैगरेर विद्यालयमा विद्यार्थी संख्याभन्दा बढी पाठ्यपुस्तक समेत लगेर विद्यालयमा थुपारिएको भेटिएको थियो । पाठ्यपुस्तकका लागि दिइने रकमको समेत दुरुपयोग हुने देखिएको छ । बुधवार गरिएको अनुगमनमा घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत नारायणप्रसाद पौडेल, शाखा अधिकृत घनश्याम वली, प्रास सीता शर्माको सहभागिता थियो ।

Blog Post Ad Blog Post Ad